कला/साहित्य

उसलाई मेरो अधुरो मायाको पीडा नसुनाइदिनू है!

गजल

१) गजल

नबोले पनि तिम्रो आवाज सुनिन्छ यहाँ।

नदेखे पनि हरदम छाया टल्किन्छ यहाँ।

सम्झनाका नदीहरू बगिरहन्छन् निरन्तर

हर एक श्वासमा तिम्रो नाम घुलिन्छ यहाँ।

घाम र जुनले यहाँ उज्यालो मात्रै दिए,

तर तिम्रो यादले तन र मन तातिन्छ यहाँ।

बोल्न चाहेर पनि शब्द हराउँछन कहिले,

किनभने माया मौनतामै फुलिन्छ यहाँ।

२) गजल

तिमीप्रति माया यति गहिरो बसेछ थाहा नै भएन।

दिलको धड्कनले तिम्रो नाम लेखेछ थाहा नै भएन।

प्रेमको डोरीले बन्धिएको छु म तिम्रो चाहनामा,

खै कसरी यो मन तिम्रो बनेछ थाहा नै भएन।

हरपल तिमीबिना सुनसान लाग्छ जिन्दगी,

आफ्नै खुशी खै कता हराएछ थाहा नै भएन।

आँखा बन्द गर्दा पनि तिमी आउछौं सपनामा,

यति मिठो तिम्रो असर परेछ थाहा नै भएन।

३) गजल

उसलाई मेरो अधुरो मायाको पीडा नसुनाइदिनू है,

मनभित्र रोएर टुटेको सारा कुरा नसुनाइदिनू है।

आशा हराएर भासिएको जीवनको अन्धकार,

उज्यालो खोजिरहेकी उनलाई छाया न सुनाइदिनू है।

सपना चकनाचुर भएको दिलको कथा के काम,

मर्मभित्र छटपटी बटुलिएको गाथा न सुनाइदिनू है ।

उसले अझै मुस्कानमा जीवन सजाउन पाओस्,

मेरो विछोडले च्यातिएको पाता न सुनाइदिनू है।

म ढलेर अन्तिम धड्कन गन्दै जाँदा पनि,

प्रेमले बाँचिरहेछु भन्ने सत्य कथा न सुनाइदिनू है।

गजलकार प्रकाशकुमार ढकाल

४) गजल

प्रकृतिको अनुपम, विविधतामा एकता तिमी,

जवान मनहरूको मिलन, स्वर्गीय ममता तिमी।

सयौं प्राणी एउटै मैदानमा, स्वतन्त्रता भरिएको,

न त डर, न त त्रासमुक्तिको सभ्यता  तिमी।

हरियो घाँस, सुनौलो घाम, हावाको कोमल स्पर्श,

आकाश र धरतीको मधुर आलिङ्गनता  तिमी।

सिंहको गर्जन, हरिणको दौड, पंक्षीको गीत,

जीवनको सम्पूर्ण राग र लयको मधुरता तिमी।

खै किन मलाई  तिमीलाई हेर्दा मुटु शान्त हुन्छ,

थाकेको आत्माको स्वप्निल संसारको नम्रता तिमी।

५) गजल

तिमीलाई छोडी टाढा जानु, मनले मान्दैन,

सपनाको मन्दिर भत्काउन, मनले मान्दैन।

मायाको पौडी खेलेको छु, असीम सागरमा,

किनार भेटिए पनि, फर्किन मनले मान्दैन।

नियतिको लेखा अचम्म छ, बुझ्न कठिन छ,

तर तिमीबिना यो जीवन, बाँच्न मनले मान्दैन।

भगवान् र भाग्यभन्दा बढी, तिमीमा भरोसा छ,

अर्काे कसैको नाम लिई, भुलाउन मनले मान्दैन।

छोडेर जानु भाग्य भए पनि, रोक्छ यो हृदय,

तिमीबिना मेरो, अधुरो कहानी बन्न मनले मान्दैन।

प्रकाशित: १३ मंसिर २०८२ १३:१८ शनिबार