कला/साहित्य

‘मास्टर्नी’ को द्विअर्थी गीत हटाएपछि दुर्गेशको जिकिर- गीत सुन्ने मान्छेमा भर पर्छ

चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीत ‘म्याथ सिक्ने भए’ विवादमा परेपछि युट्युबबाट हटाएका गायक तथा मोडल दुर्गेश थापाले कसैको दबाबमा नभई आफ्नै स्वेच्छाले गीत प्राइभेट गरेको बताएका छन्।

गीतमा प्रयुक्त द्विअर्थी शब्द र अमर्यादित प्रस्तुतिका कारण चौतर्फी आलोचना भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले गीतको अर्थ कस्तो लाग्छ भन्ने कुरा सुन्ने मान्छेको दृष्टिकोणमा भर पर्ने जिकिर गरे। आफूलाई कसैले औपचारिक पत्र काटेर गीत हटाउन निर्देशन नदिएको दाबी गर्दै उनले सुनाए, ‘दर्शकको अनुरोधलाई सम्मान गर्दै मैले आफैँ गीत प्राइभेट गरेको हुँ। बजारमा यस्ता कयौँ गीत आउँछन्, मैले त बरु विवादलाई ठूलो रूप लिन नदिन यस्तो निर्णय गरेको हुँ।’

सार्वजनिक भएको छोटो समयमै सामाजिक सञ्जालमा चर्चा पाएको उक्त गीतको सुरुवाती अंश ‘म्याथ सिक्ने भए’ उच्चारण गर्दा अत्यन्त अश्लील गाली जस्तो सुनिने भन्दै श्रोताहरू आक्रोशित बनेका थिए।

दर्शकहरूले यसलाई भूलवश भएको कमजोरी नभई भाइरल हुने र सस्तो प्रचार पाउने नियतले जानाजान गरिएको शब्द-खेलको रूपमा लिएका थिए।

यद्यपि, गायक थापाले आलोचना गर्नेहरूले गीतलाई ध्यान दिएर नसुनेको दाबी गरेका छन्। उल्टै श्रोताहरूमाथि प्रश्न उठाउँदै उनले भने, ‘म्याथ सिक्ने’ शब्दलाई पनि तपाईंले राम्रोसँग सुनेको भए राम्रो सुनिन्थ्यो। कुनै पनि कुरा सुन्दा श्रोताले विचार पुर्‍याउनुपर्छ।’

उनको यहि गैरजिम्मेवार अभिव्यक्तिका कारण सामाजिक सञ्जाल प्रयाेकर्ताले ‘श्रोताले भाषा सिक्नुपर्ने कि कलाकारले शब्द चयन ?’ भनी प्रश्न तेर्स्याएका छन्।

यसअघि उक्त गीतको भाव र शब्द संयोजनले समग्र शिक्षण पेसा तथा महिला शिक्षकको मर्यादामा गम्भीर आँच पुर्‍याएको भन्दै शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासंघले आपत्ति जनाएको थियो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेली र महासचिव तुला बहादुर थापाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गीत तत्काल बन्द गर्न चेतावनी दिएका थिए।

‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको छ,’ महासंघको विज्ञप्तिमा उल्लेख थियो।

महासंघले चलचित्र ‘मास्टर्नी’ को निर्माण पक्ष तथा सम्बन्धित कलाकारहरूलाई समेत यस्ता हर्कत नदोहोर्‍याउन सचेत गराएको थियो।

दुर्गेश थापा र गायिका बबिना किरातीको स्वर रहेको उक्त गीतमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आर्यन सिग्देल, आयुष्मान देशराज जोशी र स्वयं दुर्गेश थापाको अभिनय थियो।

विवादित शब्दका कारण भाइरल बनेर आकर्षक भ्युज पाए पनि चर्को जनदबाब र विरोधपछि अन्ततः निर्माण पक्ष युट्युबबाट गीत हटाउन बाध्य भएको हो।

प्रकाशित: २ भाद्र २०८३ १९:०७ मंगलबार