मैले उज्यालो भरेकी हुँ
तिम्रा अँध्यारा साँझहरूमा
मेरो हृदयको सानो सलेदो बालेर
अविरल बलिरहनु नै प्रेम हो भनेर।
तिम्रो जीवनको आँगन उज्यालो पार्न
म आफ्नै छातीभित्र दिनरात सल्किरहेँ
तिम्रो मुस्कानको खातिर
म थोपाथोपा पग्लिएर झरिरहेँ।
संसारले देख्यो मेरो प्रकाशको सौन्दर्य
संसारले गायो मेरो तेजको गाथा
तर कसैले देखेन त्यो जगको कथा
जहाँ म उज्यालो छरिरहेकै क्षण
मेरो आफ्नै फेदमा
घनीभूत भएर बसिरह्यो एउटा अटल अँध्यारो।
अजीव छ यो प्रेमको दर्शन पनि!
जसलाई बचाउन मैले आफूलाई होम गरिदिएँ
जसका लागि मेरो सम्पूर्ण अस्तित्व डढाए
तिमी नै बन्यौ त्यो अँध्यारो
जो मेरो सबभन्दा नजिक भएर पनि
मलाई नै निल्न खोजिरहन्छ।
म बाहिर किरण बनेर पोखिइरहेँ
भित्रभित्रै भने आफ्नै नजिकका आँखाहरूबाट
ओझेल पर्दै गएकी रहेछु
म त्यो दियो बने
जस्ले अरूको बाटो उज्यालो बनाइरह्यो
तर आफ्नै पिँधमा सधैँ अँध्यारो बोकेर बाँचिरह्यो
यदि डढ्नु नै प्रेमको अन्तिम सत्य हो भने
म अझै जल्न तयार छु
तर दुख्छ तब,
जब म उज्यालोको उत्कर्षमा हुन्छु
अनि मेरो आफ्नै फेदले मलाई भन्छ:
"तँ त जलिरहने एउटा दियो मात्र होस्।"
प्रकाशित: ११ आश्विन २०८३ ०८:२५ आइतबार