कला/साहित्य

कुटनीति

लघुकथा

"मैयाँ ए मैयाँ! अझै उठेकी छैनस् कि के हो? झट्ट चिया बनाएर ले!" विहान नित्यकर्म सकेर छोरीलाई अह्राउँदै सुन्तली कोठामा पसिन्।

बुहारी भित्र्याएदेखि सुन्तली बहारीलाई भन्दा छोरीलाई बढी कामधाम लाउन थालेकी थिइन्। बलरामलाई पत्नीको यो व्यवहार कुन्नि किन हो ठीक लागेको थिएन। यो विषयलाई लिएर बाबुआमा र छोरीकाे बेलाबेला विवाद समेत हुने गर्दथ्यो।

"हैन, त्यो छोरीलाई मात्र कति दाब्छौ हँ? बुहारीले गर्दै होलिन् त!" बलरामले पत्नीलाई शान्त पार्ने प्रयास गरे।

यतिकैमा शीतलले चिया ल्याइन्।

"हैन त्यो अझै उठिन र? तिमीले पो ल्यायौ त बुहारी!" सुन्तलीले बाहिर नियाल्दै भनिन्।

"भै गो त! बुहारीले ल्याइहालिन् खाउ न!" बलरामले चिया लिंदै भने।

"त्यसले चै गर्न हुन्न घरको कामधन्दा? सधैं भाउजूको बाटो हेरेर हुन्छ?" उनी छोरीतर्फ फेरि खनिइन्।

"नरिसाउनुस् न आमा! नानी उठेर भर्खर बाथरुम पस्नुभा'छ भन्दै शीतल भान्छातिर लागिन्।

"हैन! तिमीलाई छोरीको माया लाग्दैन सुन्तली? बुहारी भित्र्याएदेखि त छोरीलाई देखी सहन छाड्यौ त किन हो?" बलरामले छोरीको पक्षपोषण गर्दै सोधे।

"आमालाई छोरीको माया हुन्न र भन्या?" सुन्तलीले भृकुटी उचाल्दै प्रतिप्रश्न सोझ्याइन्।

"किन त छोरीलाई नै सधैं पेल्छौ?" बलराम उनको जवाफले छक्क परे।

पतिको नाकैमा चोर औला पुर्‍याउँदै सुन्तलीले प्रस्ट्याइन्,"यसैलाई भन्छन् छोरी कुटेर बुहारी कज्याउनु!"

प्रकाशित: १३ फाल्गुन २०८२ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App