रामप्रसादको शरीर आँगनमा थियो। यमराजले उनको आत्मालाई आफ्नै मलामी र किरियाकर्मको तमासा हेर्न २४ घण्टाको विशेष छुट दिएका थिए।
जेठो छोरा भुइँमा पछारिएर रोएको नाटक गर्दै फेसबुकमा 'लाइभ' गरिरहेको थियो। कान्छो छोरा लास उठाउन आउने तन्नेरीहरूका लागि खाना खर्चको हिसाब निकाल्दै थियो। बुहारी दराजको साँचो र बैंकको चेकबुक खोज्न व्यस्त थिइन्। मलामीहरू तेह्राैं दिनको भोजमा पाक्ने भोजनको चर्चा गर्दै चिया सुरुप्प पारिरहेका थिए।
यो सबै स्वार्थी तमासा देखेपछि रामप्रसादको आत्मा विरक्तियो। उनले यमराजतर्फ हेर्दै भने, "प्रभु, मलाई अहिल्यै लैजानुस्। बाँचुञ्जेल उपचारका लागि १० हजार नदिनेहरू आज मेरो मरणलाई उत्सव बनाउँदै छन्। मलाई यो ढोंगी संसारमा एक पल पनि बस्नु छैन।"
यमराजले रहस्यमय हाँसो हाँस्दै भने, "पर्ख रामप्रसाद! तिम्रो बिदाको अझै १० मिनेट बाँकी छ। अन्तिम दृश्य पनि हेरेर जाऊ।"
त्यत्तिकैमा गाउँका डाक्टर आँगनमा आइपुगे। छोराहरूले कुनामा डाक्टर लगेर सोधे, "डाक्टर साब, काम त बडो गाह्रो थियो। रिपोर्ट कस्तो आयो?"
डाक्टरले खल्तीबाट एउटा कागज निकाल्दै सुटुक्क भने, "तिमीहरूले भने जस्तै रिपोर्ट बनाइदिएको छु। मृत्युको कारण 'हर्ट अट्याक' नै लेखिएको छ। तिमीहरू ढुक्क भए हुन्छ। कसैले शंका गर्दैन।"
कान्छो छोराले राहतको सास फेर्दै भन्यो, "थ्याङ्क्यु डाक्टर साब! मृत्युलाइ ऐनाजस्तै सफा पारिदिएकोमा। अब बुबाको नाममा रहेको बजारको त्यो ५ करोडको जग्गा र बैंक ब्यालेन्स हाम्रो भयो।
रामप्रसादको आत्मा झसङ्गिएर चिच्यायो। उनलाई भर्खरै थाहा भयो - हिजो राति उनलाई मुटु दुखेको होइन रहेछ, बरु उनकै दुई छोराले दूधमा विष मिसाएर खुवाएका रहेछन्।
प्रकाशित: २८ असार २०८३ १२:२० आइतबार



