कला/साहित्य

खुसी र उमङ्गको पर्व ‘दसैं’

सधैँ जस्तो यसपटक पनि ‘दसैं’ आयो। कामको सिलसिलामा घरबाहिर भएका परिवारहरू क्रमशः घरमा जमघट हुन थाल्नुभएको छ। काका काकी दाइदिदी र भाइबहिनीको जमघटले घरमा उमङ छाएको छ। हरेकका अनुहार खुसी देखिएका छन्। छोराछोरी कुरेर बस्नुभएकी हजुर आमाको फुर्ति युवाको जस्तो देखिन थालेको छ। ठूलो परिवारमा सँगै बस्ने, सँगै खाना खाने, सँगै खेल्ने र हाँसोठट्टा गरेर बस्दा दिन बितेको पत्तै हुने रहेन छ। यो रमाइलो, यो खुसी र जमघट हेर्दा दशैं अझै धेरै दिन भइदिए पनि हुने जस्तो लाग्दो रहेछ।

दशैं पन्ध्र दिन किन मनाइन्छ भन्ने मेरो जिज्ञासा हजुरआमाले मेटाइदिनुभएको थियो। यसपटक भाइ अनमेशचन्द्र र बहिनी आर्या ढकालले हजुआमासँग यही जिज्ञासा राखे। हजुरआमाले जिज्ञासा मेटाउन खोज्दै हुनुहुन्थ्यो म नै अघि सरेर भाइ र बहिनीको जिज्ञासा मेटाइदिएँ। हजुरआमाले भनेका कुराहरू मैले सम्झेर बसेकी थिएँ। सत्य र असत्यका उदाहरणहरू दिए। विभिन्न धार्मिक मान्यता सुनाएँ। आवश्यकता र महत्त्व बुझाउने कोशिश गरेँ।

हरेक धर्मका आआफ्नै चाडपर्व र मूल्य मान्यता भएको बताएँ। सनातनी धर्मका रूपमा रहेको हिन्दु परम्परामा थुप्रै चाडपर्व रहेको र दशैं सबैभन्दा ठूलो चाड भएको भाइबहिनीलाई सुनाएँ। जिज्ञासु भएर मेरा कुराहरू सुनिरहेका भाइबहिनी टाउको हल्लाउँदै पिङतिर दौडिए। मेरो मनमा भने दशैंबारे कुरा खेलिरहेका थिए।

हरेक पर्वका आआफ्नै मूल्य र मान्यता छन्। दशैं असत्यमाथि सत्यको विजय भएको प्रतीकका रूपमा मनाइन्छ। घटस्थापनादेखि पूर्णिमासम्मको १५ दिनलाई विजया दशमीका रूपमा लिइन्छ। धार्मिक मूल्यमान्यता अनुसार देवी दुर्गाले महिसासुर राक्षसलाई बध गरी सत्यले असत्यमाथि विजय गरेको सम्झनामा यो पर्व मनाइन्छ।

घटस्थापना, फुलपाती, महाअष्टमी, नवमी, विजया दशमी र कोजाग्र पूर्णिमासम्म मनाइने यो पर्वको सुरु कहिलेबाट भयो भन्ने ठ्याक्कै तिथि मिति कहिले भन्ने प्रमाण छ छैन। मलाई कसैले बताएको छैन।

कतै न कतै लेखिएको पनि हुन सक्छ। गहिरो अध्ययन गर्नेहरूलाई थाहा हुन पनि सक्छ तिथिमितिका कुरा। मलाइ भने अहिलेसम्म थाहा छैन कुनै दिन ठूलै धर्म गुरुसँग सोध्नुपर्ला।

दशैंमा टिकाजमरा लगाइन्छ। मान्यजनले दुबो जस्तो मौलाए, हिड्दा ठेस नलागोस्, केश नझरोस्, चन्द्रमा दाहिने होउन्, शत्रु नाश होस्, यश फैलियोस् जस्ता आर्शीवादहरू दिने गर्दछन्। घर छोडेर टाढाटाढा गएका परिवार इष्टमित्रसँग भेटघाट गर्ने भएकाले यो पर्वको सामाजिक महत्त्व रहँदै आएको छ।

स्रष्टा आयुष्मा ढकाल

गाउँघरहरू चिटिक्क पारिएको हुन्छ। बाटोघाटोको सरसफाइ गरिएको हुन्छ। भत्किएका पुलपुलेसाहरू मर्मत गरिएको हुन्छ। न त हिलो हुन्छ, न त धुलो। न त गर्मी हुन्छ, न त जाडो। मौसम पनि मनमोहक। आँगनमा फूल फुल्ने तयारी गरिरहेका हुन्छन्। जसले घरको शोभा बढाइरहेको हुन्छ।

दशैंमा घरघरमा जमारा उमारिएको हुन्छ। देवीथानहरूमा ढोल र नगाराहरू बजिरहेका हुन्छन्। बाटोघाटोमा घर फर्किने यात्रुहरू हँसिलो अनुहार लिएर हिँडिरहेका देखिन्छन्। उनीहरू हाँसेको देख्दा संसार हाँसिरहेको जस्तो देखिन्छ।

लाग्छ, संसार यसरी नै सधैं हाँसिदिए! हरेकमा देखिने यो उत्साह र उमङ्ग सधैं रहिरहे! मौसम पनि सधैं यस्तै रहिरहे! मान्छेले स्वर्गको कल्पना किन गर्थे होला है?

रिस, इर्ष्या, डाहा, लोभ, लालच, हत्या, हिंसा, अपराध र अपमानले त हो यो संसारलाई कुरूप बनाएको। आफन्तआफन्तमा वैमनस्य खडा गरिदिएको। यी नै विकृति र विसंगति हटाउन, आपसी द्वन्द्व मेटाउन र आत्मियता बढाउनकै लागि दशैं जस्ता चाडहरूको परिकल्पना गरिएको हो जस्तो पनि लाग्छ मलाई।

दशैं टीका–जमाराको पर्व मात्र होइन, परिवार एकत्र भएर खानपिन, हाँसोठट्टा, सम्झना र माया बाँड्ने पर्व पनि हो। यो पर्वले टाढाटाढा भएका आफन्तलाई पनि एउटै घरमा र एउटै मनमा बाँधेर राखेको हुन्छ। सबैले एक–अर्कासँग भेटेर मिलनको खुसी मनाइरहेका हुन्छन्। त्यसैले दशैंले धार्मिक महत्व मात्र होइन, परिवारको एकता र सामाजिक मेलमिलापको खुसी तथा सांस्कृतिक महत्व पनि बोकिरहेको हुन्छ ।  

दशैंमा बालिने धूपबत्तीको सुवास फरक जस्तो लाग्छ। टीकामा मिसिएको मान्यजनको आशीर्वाद दिव्य उपदेश जस्तो लाग्छ। नयाँ लुगा लगाउँदा देखिने बालबालिकाको उत्साहले नयाँ संसार भित्र्याए जस्तो लाग्छ। दशैं टिका र जमाराको पर्व मात्रै हो जस्तो लाग्दैन। एउटा धर्म जाति वा समुदायको धेराभित्र सीमित गर्ने पर्व पनि हो जस्तो लाग्दैन।

दशैंलाई समाज र मानवतासँग जोडेर हेर्न सकियो भने आत्मियसँग जोड्न सकियो भने यसको महत्त्व झन्र बढ्न सक्छ भन्ने लागेको छ। दशैंको नाममा फरक जाति समुदाय वा धर्मलाई अपमान गर्न हुँदैन। दशैंलाई सामाजिक पर्व बनाउन सकियो भने यस पर्वको महत्त्व झनै बढ्न सक्थ्यो भन्ने लागेको छ।

यो वर्षको दशैं विगतमा भन्दा फरक महसुस भइरहेको छ। सधैंझैं निधारमा रातो टीका, कानमा जमरा, परिवारसँग जमघट, खानपिन र रमाइलो गर्ने समय भएर पनि कतिको मन खुसी हुन सकेको छैन।

भर्खरै मात्रै भएको कहालीलाग्दो आन्दोलनले कतिको घरवास उजाडिएको छ। कोख रित्तिएको छ। सिउँदो पुछिएको छ। कैयौं परिवार शोकमा डुबेका छन्। घाइतेहरू अस्पतालको शैयामा छटपटाइरहेका छन्।

पीडा, शोक र अन्यायको भावनाले मनमा आक्रोश र त्रास हटिसकेको छैन। यसपटकको दशैंमा सबैले शान्तिको कामाना गर्नुपर्ने देखिएको छ। टीका लगाउने निधारमा परेको गोलीको छाप मेटाउनुपरेको छ। जमरा सिउरिने कानमा गुन्जिरहेका बन्दुकको आवाज हटाउने आर्शीवाद माग्नुपरेको छ।

दशैं सबैको हो। दशैंमा वर्गीय र लिङ्गीय विभेद हुनु हुँदैन तर देखिने गरेको छ। पुरुषका लागि दशैं भनेको रमाइलो गर्ने, साथीभाइसँग बसेर गफ गर्ने, जुवा, कौडा खेल्ने, नाचगान गर्ने पर्व हो जस्तो देखिन्छ भने महिलाहरूको लागि यी कुराहरू धेरै टाढा छन्। मौका मिले मात्रै हेर्न पर्वका रूपमा हाम्रा पर्वहरू विकसित हुनु हुँदैन। यस्तो हुनु आफैंमा राम्रो होइन।

जब पुरुषहरू हाँसखेल गर्दै रमाइरहेका हुन्छन्, महिलाहरू भने भान्सामा हुन्छन्। खाजा ठीक छ कि छैन? खाना पक्यो पाकेन? सबैलाई पुग्छ पुग्दैन? मिठो भयो भएन? भनेर लगातार भान्सामा खटिरहेका हुन्छन्। के यो जिम्मेवारी महिलाको मात्रै हो र? कहिल्यै महसुस गरेका छन् कि छैनन् होला यो विभेदलाई?

हामी एक भन्ने भावना कहिले पुग्ला कुनाकन्दराहरूमा? एउटै चाडले कसैलाई रमाइलो र विश्राम दिन्छ भने कसैलाई अझ बढी जिम्मेवारी र थकानदिनु राम्रो हो र? यो त अलि भएन कि? जसरी टीकाको रातो रंग सबैको निधारमा समान हुन्छ, त्यसरी नै चाडको खुशी पनि सबैको जीवनमा समान रूपले फैलिनु उपयुत्त हैन र?चाडपव विभाजनको होइन, समभावको रूपमा मनाउन सक्नुपर्दछ।

दशैं बोझिलो बन्नु हुँदैन। दशैंले दसा निम्ताउन थाल्यो भने दशैंको महत्त्व घट्दै जान्छ। दशैंमा देखिएका कमीकमजोरी हटाउँदै यो पर्वलाई सामाजिक सद्भावको पर्व वनाउन सके दशैंको महत्त्व अझै बढ्दै जाने छ।

दशैं पर्वले धर्म (अनुशासन), सत्य र सद्भावको बहार ल्याउँदै सबैको जीवनमा उज्यालो छर्न सकोस् विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना।

प्रकाशित: १५ आश्विन २०८२ १२:४४ बुधबार