अभिनेता तथा चर्चित कथावाचक साइग्रेस पोखरेल आफ्नो टिमसँग शनिबार राहत सामाग्री लिएर बुधबार आएको विनाशकारी बाढी प्रभावित क्षेत्र रसुवा पुगेका थिए। त्यहाँको अवस्था निकै नै भयावह रहेको उनको भनाइ छ।
उनी बाढी गएको दिनदेखि आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट प्रभावित क्षेत्रबाट हराएका मान्छेहरूका लागि प्रयोग गरिरहेका छन्। हराएका व्यक्तिको तस्बिर तथा नाम ठेगाना राखी सूचित गराउन मान्छेलाई उनले आग्रह गरिरहेका छन्। साथै अन्य मानिसलाई पनि बाढी प्रभावित व्यक्तिलाई राहत सहयोग गर्न आग्रह गरेका छन्।
यही विषयवस्तुलाई लिएर साइग्रेस पोखरेलसँग नागरिककर्मीको छोटो कुराकानीको सम्पादित अंश:
तपाईँले त्यहाँका बाढी पीडितको अवस्था कस्तो देख्नुभयो ?
बाढी पीडितको अवस्था त्यहाँ भयावह छ। जो बाढीबाट बाच्नुभएको छ, उहाँहरू त्रसित हुनहुन्छ। कतिपय अझै पनि टनेलभित्र फस्नु भएको छ। परिवारहरू शोकमा छन्। कतिपयले आफ्नो आफन्त भेटाउन सक्नु भएको छैन, आफन्तको बाटो हेरेर बस्नेहरू धेरै छन्। मान्छे खोज्ने तर्फ सेना लागेका छन्।
यस्तो विपद्मा कलाकारको भूमिका के हुनुपर्छ ?
एउटा कलाकारको रूपमा भन्दा पनि मैले असल नागरिकको रूपमा जे जति गर्न सक्छु सहयोग गर्ने प्रयास गरेको छु। मैले मेरो करिब साढे आठ लाख फलोवर्स भएका फेसबुक उद्धार कार्यका लागि प्रयोग गरिरहेको छु। हराएका व्यक्तिहरूको सूचना त्यहाँ राखिरहेको छु, बाढी भएको दिनदेखि।
त्यहाँको अवस्थाले तपाईँलाई कस्तो महसुस गरायो ?
त्यहाँको अवस्था देख्दा मन निकै दुःखी भएको छ। बाढीले तीन तल्ले घर सम्म माटो, लेदोले पुरेको छ। ससाना घरहरूको अवस्था त झन् के नै भन्नु, एकदमै त्यहाँको अवस्था दयनिय छ।
व्यक्तिगत रूपमा चाहिँ के सहयोग गर्नुभयो ?
मैले निरन्तर हराएका व्यक्ति खोजी कार्यमा सहयोग गरिरहेको छु। अर्को भने हामी कसैको आर्थिक सहयोग बिना आफैले खाद्य सामाग्रीहरू तथा बच्चाहरूको लागि लिटो इत्यादि खाद्य सामाग्री लिएर शनिबार रसुवा गएका थियौँ। त्यसमा हामीलाई अन्य व्यक्तिले पनि राहत सामाग्री थप दिनु भयो। त्यहाँ गएर हामी पीडित तथा सेनासँग भेट्यौ।
अन्य कलाकार तथा सेलिब्रेटीलाई पनि सहयोगका लागि तपाईँको केही आग्रह छ ?
अन्य कलाकारलाई मैले के भन्न चाहन्छु भन्दा तपाइहरू जुन स्थानमा हुनहुन्छ त्यसमार्फत सक्दो पीडितलाई सहयोग गर्नुस्। त्यहाँ पुग्नै पर्छ भन्ने पनि छैन, तपाइले एउटा सकारात्मक पोस्टले मानिसलाई प्रोत्साहन गर्न सक्नु हुन्छ। उक्त पोस्टले ठुलो असर पार्न सक्छ।
अहिले पीडितहरूलाई सबैभन्दा तत्काल के कुराको आवश्यकता देख्नुभयो ?
अहिले जो बाढीबाट उद्धार हुनु भएको छ, उहाँहरूको मनोबल उच्च राख्न हाल आवश्यक छ। काउन्सिलिङ, स्वाथ्य सेन्टर तथा बाढीमा फस्नु भएको व्यक्तिलाई सक्दो छिटो निकाल्नु पर्छ।
सरकारले गरिरहेको उद्धार तथा राहतबारे तपाईँको धारणा के छ?
सरकारले गरिरहेको उद्धारबारे म सकारात्मक छु। यसपालि सरकार एकदम चुस्त देखिनु भएको छ। उहाँहरूले सक्दो गरिरहनु भएको छ।
तपाईँको विचारमा अहिले राज्य र समाज दुवैले कहाँ कमजोरी गरिरहेका छन्?
यो बेला राजनीति गर्ने होइन। तर मलाई लाग्छ राज्य यस्तो अवस्थाको लागि पहिलै नै तयार रहनु पर्थ्यो। प्राकृतिक प्रकोपलाई ह्यान्डल गर्न तर यस्तो नभएको देखियो।
प्रकाशित: १४ भाद्र २०८३ १४:४७ आइतबार