कला/साहित्य

कुर्सी-हल्ला

लघुकथा

१) भँडास

“कर्णबहादुर, तँले मलाई किन बेवास्ता गरिस्?” उहाँको स्वरमा हिजोको आत्मीय हराएको थियो, आज एकाबिहानै आँखामा राग झल्किएको थियो।

म अलमल परेँ, “बेवास्ता? किन होला र, सर?”

“दानबहादुरलाई मायाको चिनो दिइस्, मलाई दिइनस्! म त तेरो नजिकको मान्छे, अझ तेरो नेतृत्वको संस्थाको आजीवन सदस्य, वरिष्ठ साहित्यकार पनि हुँ नि!” उहाँको स्वरमा गर्व, ईर्ष्या र पीडा एकसाथ मिसिएको थियो।

मैले सन्तुलित स्वरमा भनें, “हाम्रो संस्था कसैको लोभ मेटाउने थलो होइन, सर। हामी त सिर्जनाको सत्य र योगदानको मापन गर्छौं, उपाधिको तौलले होइन।”

उहाँको मुखको रङ्ग बदलियो। हिँड्दै गर्दा भन्नुभयो, “तिमीहरू जस्ता नयाँ पुस्ताले परम्परा बिर्सियौ, सम्मान गर्नै जान्दैनौ; संस्था चलाउँछु भन्दा भन्दै अगाडि बढ्न नसकी अकडिन्छ!”

म मौन रहेँ। बाहिरको हावा उहाँको मनझैं उद्वेलित थियो। सोचेँ- साहित्यमा उम्रिने डाह, मोह र अहङ्कार नै ती विष हुन्, जसले सिर्जनाको फूल झार्छ।

उहाँ एकछिन अडिनुभयो अनि तिक्त स्वरमा भन्नुभयो, “अब म तिम्रो संस्थाबाट अलग हुन्छु!”

मैले शान्त हाँसोसँग उत्तर दिएँ, “हजुरले संस्था होइन, आफ्नै आत्माबाट छुट्टिने घोषणा गर्नुभयो, सर! साहित्यले त हजुरलाई पहिले नै बिदा दिइसकेको रहेछ।”

हावाको झोक्का चल्यो! उहाँको भँडास हावासँगै हरायो तर मभित्रको मौनता अझ गहिरो भयो।

२) सम्मानको परिभाषा

“ए मास्टर! मेरो छोरालाई सिर्कानाले किन हानेको?” कमलबहादुरको कठोर स्वरले बिहानको निस्तब्धता चर्कायो।

मास्टरले शान्त दृष्टिले हेरेर थकित स्वरमा भने; “सिर्कानाले हानेको होइन हजुर, सुध्रिएला कि भनेर सम्झाएको हो।”

तर त्यो वाक्य भित्तामा ठोक्किएको जस्तो भयो, “तँ हजुरबुबा हो र सम्झाउन मेरो छोरालाई?”

कमलबहादुरको स्वरले शिष्टताको ढोका बन्द गर्‍यो।

कक्षाकोठाभित्र ‘अनुशासन, सत्य, श्रम’ लेखिएका अक्षरहरू हावासँगै थर्थर काँपिरहेका थिए। बाहिर धुलो उड्दै थियो, ठीक त्यही धुलो जस्तै उनको व्यवहारले सम्मानको अर्थ धमिलो बनाउँदै थियो।

हिजो तिनै कमलबहादुर सरकारी कार्यालयमा हाकिमको ढोका अघि १२ बजेसम्म झुकेर बसेका थिए, “हजुर... मेरो काम हेरेको?”

अर्दलीले ढोका बन्द गर्दा पनि उनी मौन थिए।

तर आज, स्कूलको ढोका अघि तिनै गर्जिए; “मेरो बच्चालाई छुनु नपर्ने!”

मास्टर मौन भए। अपमानले निथ्रुक्किएको अनुहारमा चकको धुलो अडिएर टल्कियो। कक्षा सकेर निस्किए। कक्षामा त्यो विद्यार्थी चुरोट सल्काउँदै मुस्कुरायो, “अब त मास्टर पनि डराउँछन् नि!”

यद्यपि त्यो मुस्कान, एउटा पुस्ताको हार थियो।

मास्टरको आँखाबाट झरेका दुई थोपा आँसु बोर्डमाथिको ‘अनुशासन’ शब्दमा टप्किए र बिस्तारै बिलाए। कमलबहादुर स्कुल बाहिर निस्कँदै गर्दा शिक्षक लक्षित गरेर बरबराए, “जहाँ डर हुँदैन, त्यहाँ अनुशासन हुँदैन।”

मास्टर भित्तातिर फर्किए र बाइकको सिसा पुछ्दै सुसेले, "र, जहाँ सम्मान हुँदैन, त्यहाँ अनुशासन पनि टिक्दैन।”

३) हरियो विश्वास

“के भो बृन्दा, तिमी त बिहानैदेखि उदास देखिन्छ्यौ?” आँगनको तुलसी मठ छेउबाट अनायासै आवाज आयो।

बृन्दाले नजर उठाइन्- उचित स्याहार नपाएर ओइलिएको तुलसीका पातहरू उनलाई आफ्नै मनको प्रतिरूप लागे। घरमा विवाहको तयारी, ढोलको ट्याँट्याँ, दीपबत्तीको उज्यालो तर उनको मन शून्य थियो।

“देवीम‌ैया मसँग बोल्न छोड्नुभयो,” उनले तुलसीलाई हेरिन्। तुलसीको पात हल्लियो र स्वर आयो, “म बोल्दिनँ भन्ने होइन, तिमीहरूले सुन्न छोड्यौ। विश्वास सुकेपछि हरियाली कहाँ टिक्छ र, बृन्दा?”

क्षणभर उनले मौनतामा आफैंलाई खोजिन्। हिजोको आफ्नो बिझाउने अहङ्कार र आजको भिजेको मनबीच द्वन्द्व चल्यो। बाहिर देखावटी हर्षोल्लास, भित्र आत्मग्लानि अझै कायम थियो।

बिहानको पहिलो किरण झ्याल हुँदै तुलसीको मठमा पस्यो। बृन्दाले लजाउँदै जल चढाइन्, ओठमा बिनाशब्द प्रार्थना गुञ्जियो, “आजदेखि म फुल होइन, सुगन्ध बन्नेछु।”

हावाले पातहरू हल्लायो, तुलसी मुस्कुरायो।

आँगनको निस्तब्धता हरायो, बृन्दाको आँखामा शान्त उज्यालो फैलियो।

बृन्दाको मुखबाट फुत्कियो, “अचम्म! म जल चढाउन आएकी थिएँ, विश्वास त मभित्रै फुल्यो।”

लघुकथाकार नन्दलाल आचार्य

४) उमेरको मन्त्र

“नानी, उमेर लम्ब्याउने कुनै मन्त्र हुन्छ?” बूढी आमा नुनिलो मुस्कानसहित छेउमा बसेकी छोरीतर्फ फर्किइन्।

छोरीले फोनतिर हेर्दै सहज स्वरमा भनिन्, “मन्त्र होइन आमा, डाक्टरको डाइट हो- बिहान नुनबिनाको दलिया, दिउँसो सलाद, राति उकुसमुकुस बिना गहिरो निद्रा।”

आमाले झ्यालबाट बगैंचातिर नजर घुमाउँदै भनिन्, “त्यो टमाटरले हरेक बिहान मलाई हँसाउँछ, ऊ त सूर्यसँगै रमाउँछ।”

छोरी हल्का हाँसी, “त्यो पनि त बानी नै हो नि, आमा।”

आमाले गहिरो सास फेर्दै न्यानो स्वरमा भनिन्, “हो, बानी नै हो तर बाँच्ने बानी। जीवन बाँच्न होइन, महसुस गर्न सिकेपछि मात्र उमेर लम्बिन्छ।”

छोरी केहीबेर चुप भई- आमाको चाउरिएको निधारमा न्यानो उज्यालो खोज्न थाली।

“डाइटभन्दा ठूलो मन्त्र त तिम्रो मुस्कान रहेछ, छोरी!" आमाले ठट्टामिश्रित गम्भीरतामा अन्तिम वाक्य थपिन्, "त्यही मुस्कानबाट म हरेक बिहान बाँच्ने उमेर बढाउने प्रेरणा लिन्छु।”

५) कुर्सी-हल्ला

‘मन्त्री बनाउने भनेर फोन आएको थियो,’ सुमनाले भनिन्, आँखामा झिनो पारेर। स्वरमा थोरै थकान अनुभूत गराएर थपिन्, ‘तर, पछि नम्बर नै हरायो। न फोन उठ्यो, न वाचा पूरा भयो।’

बिपिनले मोबाइल टेबलमा राख्दै भन्यो, “हावा त बदलिन्छ, तर धुलो त उही उड्छ नि!”

पूर्वको गाउँबाट शहर आएकी सुमनाले अझै आफ्नै क्षेत्रका मानिसको अस्वीकार भोगिरहेकी थिई।

कसैले भनेका थिए, “काठमाडौँमा बसेर गाउँको दु:ख बोल्न पाइँदैन।”

त्यस वाक्यले उसको मनमा सुईले घोचेजस्तो पीडा बनायो।

बिपिनले सोध्यो, “कसले मन्त्री बनाउने भनेको?”

सुमनाले हल्का हाँसोसहित भनिन्, “प्रधानमन्त्री निकटस्थले भनेको हो क्यारे!”

थप केही नबोली उनी उठिन्। सडकको बत्ती झिलिमिली थियो। यद्यपि उसको मन उज्यालो र अँध्यारोबीच तड्पिरहेको थियो।

एकछिन रोकिएर उनी बोलिन्, “मन्त्री होइन, म मन्त्र बन्न चाहन्छु, आवाज बन्न चाहन्छु।”

त्यसपछि उनी भीडमा हराइन् तर भीडको सोचमा अझै गुञ्जिरह्यो- कुर्सी ठूलो हो कि आवाज गहिरो?

६) अभिभावक

"हजुर, रातभर सुत्नुभएन कि कसो?" पुरानो टेबलमाथिको ल्यापटपले निस्तब्ध रात चिर्दै सोध्यो।

उहाँले हल्का मुस्कुराउँदै भन्नुभयो, "म सुतें भने लघुकथाहरू पनि निदाउँथे, बाबु !"

ल्यापटप झसङ्ग भयो, "हजुरले लघुकथालाई सन्तानझैँ हेरचाह गर्नुहुन्छ तर आफैंलाई कहिल्यै सम्झनु हुन्न। छ दशक वसन्त फुलाउँदा पनि मालीझैँ हजुरले लघुकथाको बगैंचा सिँच्दै आउनुभएको छ।"

बाहिरको सहर निद्रामा थियो तर उहाँको कोठा अक्षरको उज्यालोमा बाँचिरहेको थियो। बत्ती वरिपरि अक्षरका मौरी गुन्जिरहेका थिए। थकित फाइलहरू कुर्सीमा अडेस लागेर निदाउँदै थिए। धुलाको सिरानी लगाएर पुरस्कारहरू श्वास लिइरहेका थिए।

त्यसैबेला छेउको माउस चिच्यायो; "हजुरले सयौँ लेखक जन्माउनुभयो तर कहिल्यै आफूलाई लघुकथामा जन्माउनुभएन!"

उहाँ हाँस्नुभयो, "मरेपछि मेरो नाम तिमीहरूको मेमोरीमा अडियोस्, त्यो नै काफी हो।"

त्यतिबेला ढोकाबाट एक झोक्का हावा पस्यो। ओभरलोड पेनड्राइभका फाइलहरू आफैं खुल्दै गए-

सयौँ लेखकका नाम, असङ्ख्य कृतिका फोटा,

हजारौँ लघुकथाका जीवित अक्षरहरू झिलमिलाए।

ल्यापटप केहीबेर मौन रह्यो, अनि बिस्तारै भन्यो, "हजुर, अब आफूलाई पनि लघुकथामा पात्र बनाइदिनुस् न!"

उहाँको अनुहार उज्यालोले भरियो, "म पात्र होइन, पृष्ठभूमि हुँ, जहाँ शब्दहरू सास फेर्छन्, कथाहरू बाँच्न सिक्छन्, र लघुकथा अमर हुन्छ।"

स्क्रिनको उज्यालो थप फैलियो। ल्यापटपले भावुक स्वरमा भन्यो, "त्यसैले त हजुर लघुकथाको आत्मा मात्र होइन, भविष्य पनि हुनुहुन्छ- ‘लघुकथा अभिभावक’!"

प्रकाशित: २९ कार्तिक २०८२ १३:१७ शनिबार