मानव जीवनमा यात्रा केवल स्थल परिवर्तन मात्र नभई अनुभूति र अनुभवको नयाँ जागरण पनि हो। विदेश यात्राले मानिसलाई केवल भूभाग मात्र देखाउँदैन, यसले उसको सोच, दृष्टिकोण र संस्कृतिको बुझाइलाई गहिरो बनाउँछ। संसारका भौगोलिक सिमाना पार गर्दै हिँड्दा हामी अनायासै युग युगान्तर पार गरेका सभ्यता, विश्वास, कला, कविता र सामूहिक स्मृतिहरूसँग साक्षात्कार गर्छौं। केही यात्रा यस्तो पनि हुन्छ, जुन केवल आँखाले देखिने दृश्यको कथन मात्र होइन, बरु मनले अनुभूत गर्ने इतिहासको स्पर्श हो। यसैले यात्रा सधैं ज्ञानको स्रोत हुन्छ, अझ फरक संस्कृति बोकेको धरातलमा उभिँदा त्यस्ता यात्राहरू चेतनालाई नै परिमार्जन गर्ने मोड बनिदिन्छन्।
हाम्रो समाजमा मृतकप्रतिको श्रद्धा धार्मिक विधि र कर्तव्यमा केन्द्रित हुन्छ। केही समुदायमा अन्त्येष्टि कार्यमा शव जमिनमुनि गाड्ने गरिए तापनि समाधिस्थललाई भव्य स्मारकका रूपमा निर्माण गर्ने परम्परा प्रायः देखिँदैन। त्यसैले विदेशमा विभिन्न यात्राहरूमा भव्य र ऐतिहासिक समाधिस्थलको अवलोकन गर्दा मैले एकदमै फरक सांस्कृतिक अनुभव गर्न पाएँ। यसले समाधि केवल अन्तिम विश्रामस्थल मात्र होइन, त्यो सभ्यताको स्मृति एवं कला र चेतनालाई शताब्दीदेखि सम्हालेर राख्ने प्रतिक हो भन्ने कुरा गहिरोसँग महसुस गरेँ।
समाधि–अमरत्त्वको प्रतिरूप
‘समाधि’ केवल मृत्युको प्रतीक होइन र धेरै समाज, सभ्यता र धर्ममा यो स्मृति, सम्मान, कला र अमरत्वको प्रतिरूप हो। संसारका विभिन्न संस्कृतिमा बनेका समाधिहरूका शिल्प, संरचना, आकार, नाम र उद्देश्य फरक फरक भए पनि ती सबैका मूलमा एउटै भावना पाइन्छ, त्यो हो - महत्त्वपूर्ण व्यक्तिहरूलाई समयभन्दा धेरै लामो अवधि स्मरण गर्ने परम्परा।
यस्ता ऐतिहासिक समाधिस्थलहरूको चर्चा गर्दा हाम्रो सन्दर्भमा स्वाभाविक रूपमा छिमेकी मुलुक भारतको आग्रास्थित ताजमहलको नाम अग्र स्थानमा आउँछ। यो विश्वविख्यात स्मारक केवल एक समाधि मात्र नभई प्रेम, समर्पण र मानवीय भावनाको अमर अभिव्यक्ति हो। विभिन्न समयमा ताजमहलमा गरिएका भ्रमणले हरेक पटक मलाई नयाँ अनुभूति दिएको छ। साथै मेरा लागि समाधि संस्कृतिको पहिलो पाठ सिकाउने यो ऐतिहासिक स्थल पनि हो। त्यसपछि समरकन्द (उजवेकिस्तान) र सिराज, फारस (इरान) जस्ता स्थानको यात्राले समाधि स्मारकहरूको महत्त्वलाई अझ विस्तृत र अर्थपर्ण रूपमा बुझ्न मद्दत गर्यो।
समरकन्दः हजार वर्षे सभ्यताको धड्कन
उजवेकिस्तानको राजधानी तासकन्दमा आयोजित भन्सारसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन सन् २००० मा त्यहाँ जाँदा एकदिन समरकन्दको भ्रमणको कार्यक्रम थियो। विशेष विमानद्वारा तासकन्दबाट त्यहाँ लगिएको र भव्य स्वागत स्मरणमा ताजा छन्।
समरकन्द सहर केवल मध्यएसियाको एउटा भौगोलिक स्थान मात्र होइन, यो त मानव सभ्यताको लामो यात्रामा जलेको दीप जस्तै हो, जसले युगौंदेखि ज्ञान, व्यापार, कला, धर्म र साम्राज्यहरूको मार्गलाई उज्यालो पार्दै आएको छ। सिल्करोडको मुटु मानिने समरकन्द सहरबाट बग्ने सांस्कृतिक प्रवाहले कुनै समय चीनदेखि भूमध्यसागरसम्मका समाजलाई प्रभावित पारेको हुँदा यसलाई पूर्व र पश्चिम जोड्ने सभ्यताको संगम भनिएको छ।
सन् २००० को अक्टोबरको अन्तिम साता समरकन्दमा पुग्दा शरद् ऋतुको स्वर्णिम अवस्था थियो, न बढी गर्मी न बढी जाडो। मौसमको त्यो अनुकूलताले यात्रा बिलकुलै खुला र आत्मीय बनेको थियो। ठुल्ठुला सडकहरू भए पनि भिडभाड कम भएको शान्त वातावरणमा त्यहाँका ऐतिहासिक समाधिहरूमा जाँदा तुलनात्मक रूपमा मानिसहरूको घुइँचो देखिन्थ्यो। लामबद्ध मानिसहरूको धैर्य र कौतूहल हेर्दा यी समाधिहरू केवल मृत्यु होइन, सभ्यताको आभास बोलिरहेका र एक प्रकारको ध्यान, धार्मिकता र दार्शनिक शक्ति महसुस हुन्थ्यो।
समरकन्द, एउटा सहरभित्र हजार वर्षे इतिहास श्वास प्रश्वास गरिरहेको अनुभूति दिने अनुपम भूमि जहाँका समाधिस्थलहरूले केवल इतिहासका पात्र होइनन्, सभ्यताको कथा बोल्छन्। यो सहर आफैंमा इतिहासको जीवित पुस्तकजस्तो लाग्छ। यहाँका समाधिस्थलहरू केवल वास्तुकलाका चमत्कार मात्र होइनन्, तिनीहरू युगका कथा, धर्मका आयाम र सभ्यताका मूल्यहरूको संरक्षित स्वरूप हुन्।
शाह–ए–जिन्दा टक्र्वाइज र निलो टायलले सजाइएको समाधि समूह सहरकै सबैभन्दा कलात्मक र आध्यात्मिक स्थानमध्ये एक हो। यहाँ विद्वान्, सुफी गुरु तथा राज्यका प्रतिष्ठित व्यक्तिहरूको स्मृति सुरक्षित छ। यसबाट एक सभ्यताले आफ्नो आध्यात्मिकता, कला र इतिहासलाई कसरी सजीव संरचनामा उतार्छ भन्ने बुझ्न सकिन्छ।
यो समाधि समूह दृष्टिमा मात्रै भव्य नभई इस्लामिक कलाको उत्कृष्टता प्रस्तुत गर्ने कृतिहरूको संग्रह हो। यहाँ विश्राम लिएका व्यक्तिहरू धार्मिक विद्वान्, राज्यका महŒवपूर्ण व्यक्ति वा सुफी परम्पराका प्रतिनिधि हुन्।
गुर–ए–मिरअमिर तैमुरजस्ता प्रभावशाली शासकको समाधि सान–सौकतशक्ति र साम्राज्य निर्माणको कथा बोकेको विशिष्ट संरचना हो। शान्त गुम्बजभित्र उभिँदा युद्धनायक तैमुरको जीवन अन्त्य भएर पनि इतिहासमा अमर बनेको बोध हुन्छ। यो स्थानमा उभिँदा इतिहास केवल दस्ताबेजमा होइन, यस्ता स्मारकमा पनि जीवित रहन्छ भन्ने कुरा महसुस भयो।
यस्तै अनुभूति सन् २००९ को मार्च महिनामा इरानको राजधानी तेहरानमा आयोजित पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलमा भाग लिन जाँदा गर्न पाइयो। उक्त कार्यक्रमको अंगका रूपमा तेहरानबाहिर फारस राज्यको सिराजमा भ्रमणको कार्यक्रम थियो।
सिराजका समाधिहरू - कविता, दर्शन र सभ्यताको अमर निवास
सिराज फारसी, कविता, प्रेम, दर्शन र सौन्दर्यको सहरका रूपमा चिनिन्छ। व्यस्त बजार तथा प्राचीन अवशेषहरूका साथै दुई महान् फारसी साहित्यिक विभूतिहरू हाफिज र सादीको समाधि रहेको कारणले पनि यो सहर विशेष रूपमा चर्चित छ। यस सहरका यी दुई प्रमुख समाधिहरू विदेशी आगन्तुक, साहित्यप्रेमी र इतिहास अन्वेषकका लागि ‘आध्यात्मिक तथा साहित्यक तीर्थ’जस्तै मानिन्छ।
फारसी कविताका शिखर व्यक्तित्वमध्ये एक हाफिज गजल, प्रेम, आध्यात्मिकता र मानवीय संवेदनाका अमर कवि हुन्। हाफिजिएह भनिने उनको समाधिस्थललाई राज्य, जनता र साहित्यका लागि ‘अमर स्मरण स्थल’मानिन्छ। खुला आकाशमुनि चम्किएको आकर्षक गुम्वज, शान्त उद्यान, गुलाफको बगैंचा र घुम्ने पैदल मार्गलगायतले समाधिको सौन्दर्य र वातावरण आकर्षक देखिन्छ। क्यालिग्राफीमा उतारिएका उनका अमर श्लोकहरूले आगन्तुकहरूको ध्यान आकर्षण गरेको देखिन्थ्यो।
सादी सिराजको अर्को शिखर व्यक्तित्व हुन्, जसलाई दर्शन, आचरण, मानवता, शिक्षा र यात्राको गहिरो अर्थ सिकाउने कवि तथा दार्शनिकका रूपमा चिनिन्छ। उनको समाधिस्थल ‘सादीएह’ शान्त, ध्यानमय र आध्यात्मिक वातावरणले भरिएको थियो। सादीएह कुनै पर्यटन स्थल मात्र होइन, यो मानवताको विश्वविद्यालयजस्तै लाग्छ।
हाफिज र सादी दुवैलाई इरानले केवल कवि होइन, आफ्नो राष्ट्रिय महत्त्वका प्रतिनिधि मान्छन्। त्यसैले उनीहरूका समाधि सांस्कृतिक धरोहर र राष्ट्रिय गौरवका प्रतीक बनेका छन्। यस्ता बौद्धिक विभूतिको स्मरण गराइएको स्थानमा उभिँदा इतिहासको कोमल तर गहिरो गुञ्जन सुन्न सकिन्छ।सिराजको भ्रमण केवल प्राविधिक कार्यक्रम थिएन, परन्तु यो समय यात्रा थियो - प्राचीन साम्राज्यका अवशेषदेखि कविताका आध्यात्मिक जगत्सम्म। प्रत्येक स्थानले आफ्नो महत्त्व बोकेको थियो र त्यहाँ प्राप्त आतिथ्य र सांस्कृतिक गर्वले यो यात्रा अझै स्मरणीय बनायो।
विभिन्न मुलुक भ्रमण गर्दा मैले अनुभूत गरेको मुख्य कुरा के हो भने समाधिहरू स्मृति र सभ्यताका संरचना हुन्। ती संरचनाले व्यक्तिको जीवन यात्रालाई भौतिक मूर्तिमा रूपान्तरण गर्छन्, जसले भावी पुस्तालाई आफ्नो इतिहास, साहित्य र दर्शन सम्झाइरहन्छ। इतिहास जोगाउनका लागि, प्रतिभा सम्मान गर्नका लागि र आफ्नो मूल्य मान्यतालई संरचनामा उतार्नका लागि राष्ट्रहरूले अपनाएको यो सांस्कृतिक अभ्यास गहिरो रूपमा प्रभावशाली छ।
यस सन्दर्भमा एकातिर समरकन्द इस्लामिक कला, तैमुरी वैभव, मध्य–एसियाली आस्था, अर्कातिर सिराज कविता, दर्शन, साहित्य र पर्सियन साम्राज्यको शाश्वत गौरव। यी दुई भूगोललाई जोड्ने धागो -समय, स्मृति र मानव सभ्यताको निरन्तरता हो।
यी यात्राहरूबाट प्राप्त दृष्टिकोण विचार गर्ने हो भने ताजमहलले समाधिको पहिलो अर्थ सिकायो, समरकन्दले इतिहासको गहिराइ देखायो अनि सिराजले कविता र दर्शनको अमरता बुझायो। मानिसहरू मर्छन् तर उनीहरूका विचार, कृति र योगदान समयभन्दा पर बाँच्छन्। समाधिहरू त्यस अमरताको मौन तर सशक्त साक्षी हुन् भन्ने कुरा यी यात्राबाट गहिराइमा बुझ्ने अवसर मिल्यो।
प्रकाशित: ५ पुस २०८२ ०८:२४ शनिबार