कला/साहित्य

क्याफेको केटो

कविता

​कफीको बाफसँगै उडिरहेछन् केही अधुरा धुनहरू

एउटा कुनामा म, र मेरो हातमा

न्यानो 'क्यापुचिनो' को मगमग बास्ना।

चिनीको मात्रा कम भएर हो वा मनको तिर्खाले

यो प्याला आजअलि बढी नै तीतो भइरहेछ।

मृदु सङ्गीतको सुस्त लहरबीच

अचानक जुध्छन् हाम्रा आँखाहरू

ऊ अगाडिको टेबलमा एउटा किताब पल्टाउँदै

म - एकोहोरो कफीको फिँज चलाउँदै।

​मौन संवाद चलिरह्यो यसरी

जसरी चलिरहन्छ घडीको सुई

​हामीबीच न शब्दको लेनदेन भयो

न परिचयको कुनै औपचारिक पर्खाल।

खाली मौन संवाद

जहाँ नजरले नजरलाई प्रश्न सोधिरह्यो

र मुस्कानले उत्तर साटिरह्यो।

एउटा बिम्ब जस्तै थियो ऊ

कफीको कपमा कोरिएको 'ल्याट्टे आर्ट' जस्तै

जसलाई हेर्न मन लाग्छ तर पिउन डर लाग्छ

कतै त्यो सुन्दरता बिग्रिहाल्ने हो कि भनेर।

​क्याफेको त्यो कोलाहलमा पनि

हामी एउटा सुनसान टापुमा छौँ जस्तो

जहाँ कफीका घुटकीहरूले समय नापिरहेछन्।

आज

बाहिर वर्षा सुरु भयो कि क्या हो?

अथवा मेरो मनभित्र उसको सम्झनाको बाछिटा छिर्‍याे ?

ऊ त्यही 'क्याफेको केटो' हो

जो हरेक साँझ कफीको तीतोपनामा

मेरै नजरको मिठास खोजिरहन्छ सायद

एकैछिनको हेराहेर र फेरि एउटा लामो रिक्तता

यी कविताका हरफहरू उसकै यादमा मुस्कुराइरहेछन्।

प्रकाशित: २० वैशाख २०८३ ०८:४७ आइतबार