सालिन्दा प्रेषित हुन्छ मान्छे
जन्मोत्सवका पुलिन्दामा गुटमुटिएर
लछारिन्छ मान्छे
कर्मशील कुइनेटामा लुटुपुटिएर
सहन विवश छ मान्छे
सङ्घर्षका आरोह अवरोहहरू
घोलिन्छ शुष्कशुष्क बतासमा
तातिन्छ रापिलो/प्रचण्ड घाममा
पग्लिन्छ कठोर हिमशिलामा
भयभीत हुन्छ मान्छे
विध्वंशीत सामुद्रिक आँधीबेहरीको सुनामीमा
व्यवधान भोगाइको प्रयोगशाला
जीवन स्वतन्त्र अनुष्ठान
जन्मोत्सव
अतृप्त हौसला,
बेखबर छ मान्छे
भविष्यका किटानी शृङ्खलामा
उत्साहित हुन्छ
मान्छे हमेशा
भुलभुलैयाको गोलचक्रमा
सोचमग्न हुन्छ
अन्यौलका घागी र गल्छेँडाहरूमा
जीवन भन्नु नै धैर्यको अनुमोदन
जन्मोत्सव सङ्कल्प टाँसिएको लिउन
जीवन अनुराग
संयमताको सन्देश र अनुशीलन,
माल्यार्पणमा
उदात्त हुन्छ मान्छे
जन्मोत्सवका शिलान्यासदेखि
भुक्तान हुन्छ मान्छे निरन्तर
आयु लक्ष्मणरेखाको दौरानमा
घटाउँदै जान्छ मान्छे
जीवन प्राप्तिको हर-हिसाब
फटाउँदै जान्छ
जीवनलीलाको स्वर्णिम अवधि
जन्मोत्सव
स्वार्धाहीन ज्येष्ठता
सोपान योग्यता श्रेष्ठता,
जन्मोत्सव
स्मरणीय तरङ्ग
विश्लेषणात्मक उमङ्ग
जन्मोत्सव
अनुकरणीय संस्कार
बक्यौता र अनुरागरूपी पुरस्कार।
प्रकाशित: १० आश्विन २०८३ ०६:५५ शनिबार