कला/साहित्य

बा

कविता

​आकाश ढाकिएको छ,

झरी पर्दै छ!

घरको छतमा उक्लेर

एक अञ्जुली जल आकाशतिर चढाएँ,

हजुरले पाउनुभयो त होला नि "बा"?

मुख हेर्छु भनेको बादल र पानीले छेकिहाल्यो!

उस्तै छ कि कस्तो हुनुभो?

दुब्लाउनुभो कि मोटाउनुभो?

झरीपछि, बादल संग्लिन्छ, फेरि छत चढ्छु

त्यतिन्जेल रुझेरै भए पनि आकाशमै बस्दिनु है "बा"

मलाई हजुरको मुख हेर्नु छ।

​सम्झना उस्तै छ, उत्तिकै छ "बा"

​भावपूर्ण श्रद्धासुमन।

(यो कविता बरालले कुशे औँसी- बुवाको मुख हेर्ने दिन लेखेका हुन्।)

प्रकाशित: ६ भाद्र २०८३ ११:१५ शनिबार