बेलुका झिसमिसे साँझ हुनै लाग्दा पति घर आइपुगे। उनको मुहारमा बिहानको जस्तो पीडा थिएन।
पत्नी आश्चर्य भइन् र सोधिन्, "अरे! अस्पताल जानासाथ यत्रो दिनदेखि दुखेको टाउको सञ्चाे भयो कि क्या हो?"
"हो निता! अस्पताल भनेको अस्पताल नै हो। फुट्ला जस्तोगरी दुखेको मेरो टाउकोमा तिमीले स्नेहकासाथ भिक्स लगाइदियौ, मालिस गरिदियौ, सिटामोल खान दियौ तर दुखाइ बीसको उन्नाइस पनि भएको थिएन। अस्पताल गएर आउनासाथ म निको भएँ।" पतिले बताए।
"के भन्यो त डाक्टरले? जँचाएको पुर्जी देखाउनुस् त?"
"पुर्जीसुर्जी केही छैन।"
"अनि कुन औषधि खानुभो त?"
भावुक हुँदै पति बोले, "आमाको न्यानो स्पर्श नै मेरो लागि औषधि बन्यो निता। आइन्दा आमासँग भेट्न जानबाट मलाई वञ्चित नगर!"
प्रकाशित: ५ वैशाख २०८३ ०९:०८ शनिबार