कला/साहित्य

च्याउ खेतीमा जुटेका अभिनेता रिमाल

चलचित्र ‘लव डायरी’ का अभिनेता विश्वजित रिमाल अहिले च्याउ व्यवसायमा सक्रिय भएका छन्। जन्मथलो नुवाकोट भए पनि उनी हाल चन्द्रागिरिमा बसोबास गर्दै आएका छन्।

२०७६ मा विश्वव्यापी कोरोना महामारीका कारण चलचित्र उद्योग र अन्य उद्योगधन्दा प्रभावित भएका बेला रिमालले समयको सदुपयोग गर्दै मशरुम उद्योगमा लगानी गर्ने निर्णय गरे। उनी आधुनिक हाइटेक प्रविधिबाट बागमती र गण्डकी प्रदेशमा च्याउ उद्योग सञ्चालन गर्दै आएका छन्।

गोदावरी, ललितपुरमा ‘मा दुर्गा मशरुम इण्डस्ट्रीज’ र गण्डकी प्रदेश, तनहुँमा ‘रिमाल मशरुम इण्डस्ट्री’ नामक उद्योगहरू सञ्चालन गर्दै आएका रिमालले छोटो समयमै उद्योगलाई ठूलो सफलतासँग अघि बढाएका छन्। उनका उद्योगहरूले स्थानीय स्तरमा रोजगार सिर्जना गरिरहेका छन्। रिमालले आफू लाखबाट सुरु गरेको उद्योग अहिले करोडौँ रुपैयाँको कम्पनीमा परिणत भएको जानकारी दिएका छन्।

No description available.

उनी अहिले दुई प्रकारका च्याउ उत्पादनमा संलग्न छन्—गोब्रे च्याउ र कन्य च्याउ। साथै तेस्रो प्रकारको च्याउको अध्ययन र उत्पादनको लागि नेपाल सरकार र चीन सरकारको सहकार्यमाभक्तपुरमा नयाँ संस्था स्थापना हुँदैछ, जसमा रिमाल अध्यक्षको रूपमा काम गर्नेछन्।

गत पुष ११ गते मन्त्री परिषद्को बैठकले हरेक वर्ष पुष १५ गते ‘च्याउ दिवस’ मनाउने निर्णय गरेको छ। यस अवसरमा च्याउ उत्पादक संघ नेपालले भृकुटिमण्डपमा च्याउ मेला तथा परिकार महोत्सव आयोजना गर्दैछ, जसमा रिमालले आफ्नो कम्पनीको उत्पादन प्रदर्शन गर्नेछन्।

उद्योगमा सक्रिय रहँदा पनि रिमालले अभिनयको अभ्यास जारी राखेका छन्। उनी अभिनय र नृत्य कक्षा निरन्तर लिँदै आएका छन् र अर्को वर्षसम्म चलचित्रमा फर्किने योजना बनाएका छन्।

प्रकाशित: १४ पुस २०८२ १८:०० सोमबार