कला/साहित्य

सुटुक्कै पाथीभरा पुगे अभिनेता जीवन लुइँटेल

‘शिरिषको फूल’नाटकको शीर्ष भूमिकामा अभिनय गर्न अमेरिकाबाट नेपाल आएका नायक जीवन लुइँटेल सुटुक्क ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका छन् ।  

ताप्लेजुङ र पाथीभराम मन्दिरको पहिलो यात्रा सुनाएका लुइँटेलले अबको समय नेपाली चलचित्र क्षेत्रमै केन्द्रित हुने संकेत गरे ।

‘बढी समय चलचित्र र बाँकी समय नेपाल–अमेरिका दुबै क्षेत्रमा केन्द्रित हुने छ’ उनले नागरिकसँग भने ।  

नेपाली चलचित्रमा पनि आफूलाई कमब्याक गराउने तयारी गरेका उनी दर्शकले आफूलाई नाटकमा रुचाउने विश्वास लिन्छन् । कुनै समय नेपाली चलचित्र क्षेत्रमा चर्चित रहेका जीवन अमेरिका हानिएपछि अभिनयबाट केही टाढा जस्तो देखिन्थे । तर, अब उनले आफूलाई कमब्याक गराउँदै नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा अगाडि बढ्ने योजना बनाएका छन् ।  

भन्छन्, ‘अमेरिका बसे पनि नेपाली माटो, नेपाली चलचित्र र नेपाली रंगक्षेत्र मेरो जीवनभन्दा कहिल्यै टाढा भएन।’ उनी नाटक र नेपाली चलचित्र दुबैको भूमिकाबाट विगतकै चलचित्र करियरमा जोडिने योजनामा छन् ।  

साहित्यमा समेत लगाव भएका उनले अमेरिकामा रहँदा नेपाल र नेपालीपनको झल्कोदिनेगरी साहित्य सृजना र वाचन गरेका छन् । साहित्यमा उनको मनपर्दो विधा कविता हो । सम्वत् ५६–५७ सालमा महेन्द्र मोरङ क्याम्पस बिराटनगर अध्ययन गर्ने क्रममा क्याम्पस तहमा भएका कविता प्रतियोगितामा उनी लुइँटेल प्रतिस्पर्धी मात्र बन्दैन थिए । साहित्यमा चर्चामा रहने नाममध्येका एक खड्गराज राई (उमेश राई) ‘अकिञ्चन’सँग उनको कडै प्रतिस्पर्ध हुन्थ्यो ।

‘कहिले उहाँ प्रथम म द्वितीय, कहिले म प्रथम उहाँ द्वितीय’ ताप्लेजुङ आएका बखत उनले क्याम्पसका साहित्यिक प्रतिस्पर्धी राईलाई सम्झिए । राई नेपाल सरकारका उपसचिव हुन् ।  

राईले केही समय तत्कालिन जिल्ला विकास समितिको योजना तथा अनुगमन अधिकृत भएर जिम्मेवारी सम्हालेका थिए । ताप्लेजुङको सुन्दरता र पाथीभराको विश्वासले मोहित बनाएको बताउने नायक लुइँटेलले ताप्लेजुङको सुन्दरतालाई नेपाली चलचित्र क्षेत्रले समेत समेट्न सक्नुपर्ने सुझाव समेत दिएका छन् । ‘यसमा मेरो पनि प्रयत्न रहने छ’ लुइँटेलले भने । 

प्रकाशित: २ कार्तिक २०८२ १७:४३ आइतबार