कला/साहित्य

प्रेम र आत्मसम्मानको मीठो सङ्गम: ‘मुसाफिर क्याफे’

साहित्य र दृश्य माध्यमको सम्बन्ध सधैँ विशिष्ट र परिपूरक रहँदै आएको छ। लोकप्रिय लेखक दिव्य प्रकाश दुबेद्वारा लिखित चर्चित उपन्यास ‘मुसाफिर क्याफे’ लाई निर्देशक रुचिर अरुणले ओटीटी पर्दामा उतारेका छन्। सिरिज हेर्दा लाग्छ, उल्लेखित भनाइको उत्कृष्ट उदाहरण यही हो।‍

हाल सामाजिक सञ्जाल र दर्शकमाझ चौतर्फी चर्चा बटुलिरहेको यस वेब सिरिजले आधुनिक प्रेम, आत्मसम्मान, व्यक्तिगत महत्त्वाकांक्षा र समयको परिबन्धभित्र हराएका अधुरा सपनाहरूको यथार्थ ऐना प्रस्तुत गरेको छ। सामान्य कथावस्तुमा आधारित भएर पनि दर्शकको मनमा अमिट छाप छोड्न सफल यस सिरिजले परम्परागत प्रेमकथाभन्दा फरक, परिपक्व र विचारणीय स्वाद पस्केको छ।

कथाको सुरुवात वर्तमान समयकी पात्र प्रीतिबाट हुन्छ। उनी एक सुन्दर र शान्त क्याफेतिर लम्किँदै छिन्। त्यो त्यहि क्याफे हो, जसको नाम आठ वर्षअघि उनकै क्याफे पार्टनरको पूर्वप्रेमिकाले दिएकी थिइन्।

सपना एउटाको, नाम अर्काको र त्यसलाई साकार पारिरहेको अझै अर्को तेस्रो व्यक्ति। यही जटिल अवधारणावरिपरि सिरिजको मुख्य कथा घुमेको छ। यहाँबाट कथा आठ वर्षअघिको अतीततर्फ मोडिन्छ।

मध्यप्रदेशको भोपाल सहरमा दुई फरक विचारधारा, जीवनशैली र महत्त्वाकांक्षा भएका पात्रहरूको भेट हुन्छ- चन्दर र सुधा। चन्दर अमेरिकाबाट फर्केका एक इन्जिनियर हुन्। सहरको दौडधुप र कोलाहलभन्दा टाढा शान्त पहाडी भेगमा आफ्नै सानो क्याफे खोलेर पारिवारिक जीवन, विवाह र बालबच्चाको सपनामा रमाउनु उसको जीवनको मुख्य ध्येय हो।

अर्कोतर्फ, सुधा पेसाले वकिल हुन्। उनी अत्यन्तै चञ्चल, स्वतन्त्र र ठूला सपना देख्ने स्वभावकी छिन्। भारतकै सबैभन्दा व्यस्त र जीवन्त सहर मुम्बई पुगेर आफ्नो करिअरको उकालो चढ्नु उनको एक मात्र उद्देश्य हो।

सुरुमा पारिवारिक विवाहको प्रस्ताव अस्वीकार गरेका यी दुई पात्र समयको अनौठो चक्रसँगै एउटै घरमा सँगै बस्न पुग्छन्। ‘विवाह मेरो लागि बनेकै होइन’ भन्ने अवधारणा बोकेकी सुधा बिस्तारै चन्दरको सादगी र साँचो मायाको पहेलीमा अल्झिन पुग्छिन् र उनीसँग प्रेममा पर्छिन्।

तर, एकातिर वर्तमानमा रमाउने चञ्चल सुधा र अर्कोतिर भविष्यको सुरक्षानिम्ति व्यावहारिक योजना बुन्ने चन्दरबिचको वैचारिक द्वन्द्व नै उनीहरूको सम्बन्धको धर्मसङ्कट बन्न पुग्छ।

सुरुवाती दिनहरूमा अपरिपक्व देखिने सुधाले सम्बन्धको अन्त्यतिर चन्दरसँग छुट्टिने निर्णय गर्दा देखाएको कठोरता र आत्मसम्मानको निर्णयले दर्शकलाई स्तब्ध र भावुक बनाउँछ।

बिछोडको गहिरो चोटपछि चन्दरको जीवनमा कोरोना महामारीको कठिन समयमा प्रीतिको आगमन हुन्छ। प्रीति आफ्ना व्यक्तिगत सपनाहरूलाई थाँती राखेर चन्दरको अधुरो सपनालाई पूरा गर्न आफ्नो सर्वस्व सुम्पिन्छिन्।

चन्दरको अतीत र सुधाप्रतिको उसको अगाध माया थाहा हुँदाहुँदै पनि प्रीतिले चन्दरलाई नि:स्वार्थ प्रेम गरिरहन्छिन्। अर्कोतिर, चन्दर वर्तमानमा प्रीतिसँग मिलेर पहाडमा क्याफे चलाइरहे पनि उसको मनको कुनै कुनामा सुधाको सम्झना अझै ताजै छ।

जब आठ वर्षको लामो अन्तरालपछि अचानक सुधा पुनः चन्दरको क्याफेमा आइपुग्छिन्, अतीतको माया र वर्तमानको समर्पणबिच जेलिएको चन्दरले कसलाई रोज्ला र आठ वर्षपछि सुधा किन फर्किइन् भन्ने रहस्य बुझ्न सिरिज नै हेर्नुपर्ने हुन्छ।

साहित्यिक उपन्यासका स्थापित पात्रहरूलाई पर्दामा उतारेर पाठकको कल्पनाशीलतासँग न्याय गर्नु कुनै पनि कलाकारका लागि चुनौतीपूर्ण कार्य हो। तर, यस सिरिजका मुख्य तीनै जना कलाकारहरूले आफ्नो परिपक्व अभिनयद्वारा ती पात्रहरूलाई जीवन्त बनाएका छन्।

विक्रान्त मेसी भारतीय अभिनय जगतका यस्ता सिद्धहस्त कलाकार हुन्, उनले आफ्ना आँखा र साना-साना भावभङ्गीबाटै कथाको आधा भार सम्हाल्छन्। अतीतको सम्झना र वर्तमानको दायित्वबिच पिल्सिएको, शान्त तर भित्रभित्रै अशान्त चन्दरको भूमिकामा उनले उत्कृष्ट काम गरेका छन्।

त्यस्तै, सुरुवाती चरणको चञ्चल, उन्मुक्त र आधुनिक युवतीदेखि लिएर सम्बन्धको उत्तरार्धमा परिपक्व र कठोर निर्णय लिन सक्ने नारीका रूपमा वेदीका पिंटोको रूपान्तरण प्रशंसनीय छ।

उनले सुधाको चरित्रमा रहेको दोधार र आत्मसम्मानको भावनालाई निकै चलाखीपूर्वक प्रस्तुत गरेकी छिन्। महिमा मकवानाले प्रीतिको भूमिकामा उत्तिकै प्रभावकारी अभिनय गरेकी छिन्।

एकातर्फी मायाको पीडा, नि:स्वार्थ साथ र धैर्यतालाई उनले आफ्ना अनुहारका अभिव्यक्तिहरूमा सुन्दर ढङ्गले ढालेकी छिन्।

निर्देशक रुचिर अरुणले एउटा सामान्य र सादा लाग्ने प्रेमकथालाई दृश्यभाषामार्फत निकै कलात्मक रूपमा पस्किएका छन्। सिरिजको सबैभन्दा सबल पक्ष यसको सिनेम्याटोग्राफी र दृश्य संयोजन हो।

मसुरीका दृश्यहरू, पहाडी भेगको शान्त वातावरण र क्याफेको न्यानो माहौलले दर्शकलाई कथासँगै त्यहीँ पुगेको अनुभूति गराउँछ। सिरिजमा प्रयोग गरिएका संवादहरू निकै घतलाग्दा, दार्शनिक र काव्यिक छन्, उनले दिव्य प्रकाश दुबेको मूल लेखनको मर्मलाई नमारी जीवन्त राखेका छन्। साथै, पृष्ठभूमि सङ्गीत र गीतहरूले कथाको भावनात्मक उतारचढावलाई थप उचाइ दिएका छन्।

प्राविधिक रूपमा केही दुर्वल पक्षहरू पनि नभएका होइनन्। सिरिजका मध्यभागका केही शृङ्खलाहरूमा कथालाई अनावश्यक रूपमा लम्ब्याइएको महसुस हुन्छ। आधुनिक वेब सिरिजहरूमा कथाको समय बढाउन गरिने यस्ता सानातिना कमजोरीले केही ठाउँमा गितलाई धिमा बनाएको छ। तथापि, कथाको समग्र मर्मका अगाडि यो कमजोरी ओझेलमा पर्छ।

‘मुसाफिर क्याफे’ दुई व्यक्तिबिचको ‘टाइमिङ’ र जीवनका प्राथमिकताहरूको कथा हो। माया हुनु मात्रै सम्बन्ध टिकाइराख्न पर्याप्त हुँदैन, त्यसका लागि दुई व्यक्तिको जीवनप्रतिको दृष्टिकोण र समय पनि मिल्नुपर्छ भन्ने सन्देश यसले दिन्छ।

यदि तपाईंलाई मानवीय सम्बन्ध, बिछोडको मीठो पीडा, परिपक्व अभिनय र शान्त वातावरणमा आधारित नाटक जनराका सिरिजहरू मन पर्छन् भने विक्रान्त मेसी, वेदीका पिंटो र महिमा मकवाना अभिनित यो सिरिज तपाईंका लागि एउटा उत्कृष्ट र हेर्नैपर्ने सिर्जना बनेको छ।

प्रकाशित: २४ श्रावण २०८३ १६:२७ आइतबार