कला/साहित्य

एक महिला अभियन्ता

कविता

जब उनी

काठमाडौंबाट

पहिलो पटक

जुम्ला पुगिन्,

शहरको धुलो

जुत्तामा टाँसेर होइन,

संवेदनाको बोझ

हृदयमा बोकेर पुगिन्।

त्यहाँ

सडक थिएनन्,

पीडाका पदचिह्न थिए

उनले

आफ्नै आँखाअघि देखिन्

ठेला परेका हात,

पटपटी फुटेका पैताला,

चाउरिएका अनुहार,

हावाले चिथोरेका ओठ,

ख्याउटे शरीर,

जातको बोझले

थिचेर राखेका सपना

र,

फाटेको मैलो घुम्टो ओढेकी

एउटी किशोरी।

त्यो घुम्टो

लाजको होइन,

डरको थियो

समाजले दिन दिनै

ओढाइदिएको डर।

उनले सोधिनन् जात

सोधिनन् थर,

कुन घरकी भनेर

लेखिनन् डायरी पल्टाएर

उनी

सिधै बढिन् अगाडि,

अँगालो हालिन्,

पिठ्यूँ मुसारिन्,

भावुक हुँदै

प्रेम पोखिन्

तर

त्यो क्षण

किशोरीले

आँसु लुकाउन सकिनन्।

शताब्दीयौंको

अपमानको आँसु

खस्न थाल्यो डाँको छोडेर

‘ल हेर न,

यति राम्री नानी

किन रोएकी?’

किशोरीले रुँदै भनिन्,

‘हामीलाई

कोही छुँदैनन् यो गाउँमा,

छुँदा अपवित्र हुन्छन् अरे,

अछुत भन्छन्,

हामी पस्दैनौं मन्दिर,

पिउँदैनौं धाराको पानी,

बाटो हिँड्दा पनि

हिँड्नुपर्छ छेउ लागेर।

हामी त

जातका साना हौं

तर

तपाईंले छुनुभयो,

हाल्नुभयो अँगालो,

ठान्नुभयो मान्छे।

पहिलोपटक म

छोइएर मात्र होइन,

स्विकारिएर रोएकी हुँ।

थाम्नै सकिनँ मन,

त्यसैले

खसिहाल्यो झुक्याएर आँसु!

प्रकाशित: १९ पुस २०८२ १३:०६ शनिबार