गायक नारायणगोपालले धेरै प्रेमका गीत गाएका छन् तर गाउन त उनले वियोगका गीत पनि गाएका छन् । नारायणगोपालले संघर्ष र बलिदानका गीत गाएका छन् तर उनको गीतको पृष्ठभूमि त सदैव प्रेम नै रहिआएको छ।
प्रेम र जीवनका चुनौतीपूर्ण गीत गाएर ख्याति कमाएका नारायणगोपालको निधन ग्रेगेरियन क्यालेन्डर अनुसार डिसेम्बर ५ तारिखका दिन राति ९.२५ मा भएको एनटिभीले पुष्टि गरेको थियो । त्यो एउटा यस्तो दिन हो, त्यही डिसेम्बर पाँचमै सन् १७९१ मा विश्वप्रसिद्ध सङ्गीतकार वुल्फग्याँग अमादियस मोत्सार्टको पनि निधन भएको थियो।
मोत्सार्टको निधन भएको दिन उनकी पत्नी उनीसँगै थिइन्, जसरी नारायणगोपालको निधन भएको दिन उनकी पत्नी पेमाला गुरुवाचार्य पनि अस्पतालमा उनीसँगै थिइन्। मोत्सार्ट र नारायणगोपालको निधन भएको दिन डिसेम्बर पाँच र निधन भएका बेला पत्नी सँगै हुनु एक मिल्दोजुल्दो घटना मात्र नभई चिरकालसम्म याद रहने एक विम्ब पनि हो।
नारायणगोपालको निधन भएको बेला त्यही अस्पतालको त्यही तलामा उनकी पहिलो प्रेमिका पनि थिइन् । उनी आफ्ना रोगी पतिको सेवामा तल्लीन थिइन्। यो कुरा इतिहासको कुनै पानामा उल्लेख छैन तर एउटा संयोग हो।
वीर अस्पतालको आँगनमा नारायाणगोपालका निम्ति हजारौं मान्छे रोइरहँदा अस्पतालभित्र स्वयं पेमाला बेहोसावस्थामा थिइन् भन्ने सम्झेर नारायणगोपालकी पहिलो प्रेमिका बेबी भन्छिन्– ‘त्यो समय बडा क्रुसियल थियो। हामी एउटै फ्लोरमा थियौं। एकपटक त नर्सको गडबडीले गर्दा हाम्रो फाइल पनि साटियो।’
पहिलो प्रेमकथा
बेबी नारायणगोपालसित पहिलो प्रेममा बाँधिदा उनी भारतबाट भर्खर नृत्य पढेर आएकी थिइन् र नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालय कक्ष, वसन्तपुरमा उनको नृत्य प्रस्तुत गरिने कार्यक्रम थियो। त्यो कार्यक्रम हेर्न नारायणगोपाल आफ्ना एक गीतकार साथीसित आएका थिए।
बेबी भन्छिन्, ‘मेरो नृत्यबाट प्रभावित भएर नारायणजीले भोलिपल्ट मबारे एउटा कविता लेखेर ल्याउनुभयो र सुनाउनुभयो । त्यो कविता सायद उहाँले नै लेख्नुभएको थियो होला। कविता सुनेर म प्रभावित भएँ तर पछि थाहा भयो, उहाँ त गीत पनि भव्य गाउनुहुँदोरहेछ। एकदुई पटकको भेटपछि थाहा भयो, हामी त एउटै टोलवासी पो रहेछौं।’
बेबीले यो कथा सुनाइरहँदा नारायणगोपाल बितेको ३५ वर्ष कटिसकेको थियो र यो प्रेमकथाले पैंसट्ठी वर्ष काटिसकेको थियो।
बेबीको घर थाहा पाएपछि नारायणगोपाल उनको घरमा पुगेर बोलाउन थाले। आफू नआए पनि उनका अर्का साथी शेरचनजीलाई लिन पठाउँथे। विक्रमाब्द २०१४/१५ सालको काठमाडौंमा खुलेआम भेट्नु र बात गर्नु असामाजिक कार्य मानिन्थ्यो वा देखिन्थ्यो होला। त्यसैले यी दुई सहरको निकटवर्ती मन्दिर विजयेश्वरीमा भेट्थे।
बेबी सम्झन्छिन्, ‘एकदिन नारायणजीले शेरचनजीलाई खबर पठाएर मलाई बोलाउनुभयो । म दौडिँदै दौडिँदै मन्दिर पुगेँ। त्यो दिन उहाँले आफ्नो मनको प्रस्ताव राख्नुभयो– आज हामी बिहे गरौँ। मैले अचम्मै मानेँ अनि भनेँ– यसरी कहाँ हुन्छ? मेरो घरपरिवार छ, अग्रजहरू छन्, सिलसिलेवार कुरा हुनुपर्यो। अनि मात्र बिहे हुन्छ।
उहाँले पाइन्टको गोजीबाट सिन्दूर झिकेर लगाइदिन खोज्नुभयो। मैले मानिनँ। घरमा कुरा गर्न आउनुस् भनेँ तर घरमा कुरा गर्न आउनुभएन। त्यसपछि म आफ्नो मामाघर दार्जिलिङ गएँ। उहाँ कुरा गर्न मामाघरमै आउनुभयो। कुरा बिग्रियो । यसपछि हाम्रो प्रेम अगि बढेन।’
बेबीको यो कथा यत्तिमै टुङ्गिँदैन।
नारायणगोपाल दार्जिलिङ पुगे। दार्जिलिङमा बेबीले नारायणगोपालसित अर्की महिला देखिन्। त्यसपछि बेबी टाढा भइन् तर यही कथामा नारायणगोपालका भाइ मनोहरगोपाल गुरुवाचार्यको तर्क बेग्लै छ, ‘यसमा खेल खेल्ने अरू नै कोही छ। त्यो बेबी दिदीलाई पनि थाह छैन।’
बेबीसितको असफल प्रेमपछि नारायणगोपालको पेमाला लामासित प्रेम कहानी सुरु भयो।
दोस्रो प्रेमकथा दार्जिलिङको
यो प्रेमकथालाई असफल हुन नदिन उनका मितदाजु कर्म योञ्जन, उनका साथी गीतकार नगेन्द्र थापाको योगदान अमूल्य छ।
पेमाला लामा र नारायणगोपालको प्रेमकथा पत्रमित्रताबाट सुरु भएको हो। नारायाणगोपाल पेमालालाई प्रेमले पेमु भन्थे। पेमुले लेखेका केही पत्र पहिल्यै बेबीले पनि पढिसकेकी थिइन्। बेबीको भाषामा तपाईंलाई सच्चा माया गर्ने त पेमालाजी नै हो नारायणजी भनेपछि नारायणगोपालको पाइला उता मोडिएको हुन सक्ने बेबीको दाबी पनि छ।
पेमाला नारायणगोपाललाई असाध्य माया गर्थिन् । नारायणगोपालका एकेक गीत र पंक्ति उनलाई कण्ठस्थ थिए।
पंक्तिकारले एकपटक नारायणगोपाल सङ्गीत कोषमा आबद्ध भएर पेमाला गुरुवाचार्यसित नारायणगोपालका गीतसङ्ग्रह ‘कालजयी स्वरहरू’ संकलन गर्दा हरेक गीतकारबारे पेमाला आफ्नो अनुभव र अनुभूति सुनाउँथिन्। त्यस्तो घटना विरलै कलाकारको जीवनमा होला। पेमाला नारायणगोपालले गाएका प्रत्येक गीतका कथा मलाई सुनाउँथिन् र म आश्चर्यचकित हुन्थेँ, गीतसङ्गीतप्रति उनको प्रेम देखेर।
एक दिन पेमाला गुरुवाचार्यले आफू काम गर्ने ओरियन्टल इन्स्योरेन्समा बोलाएर कुराकानी गर्दा भनिन्, ‘भाइ, तपाईंको दाइले गाएको गीतमा मलाई सबैभन्दा बढी कुन मन पर्छ होला भन्नुस् त ।’ मैले भनेँ, ‘सबै नै होलान्।’
पेमालाले हाँस्दै भनिन्, ‘मलाई मातेर गाएको गीतभन्दा नमातेर गाएको गीत बढी मनपर्छ।’
त्यो भावभित्रको अन्तर्य मैले पछिसम्म पनि बुझिनँ तर मैले बुझ्ने चाह पनि राखिनँ।
पेमालाले नारायणगोपालको पुण्यतिथिमा सदैव एउटा गीत आफ्नो लागि भन्थिन्। त्यो गीत हो– ‘चिनारी हाम्रो धेरै पुरानो रहेझैं लाग्दछ’। यो नगेन्द्र थापाले रचेको गीत गोपाल योञ्जनको सङ्गीतमा उनले गाउँदा पहिलो पटक पेमालालाई भनेका रहेछन्– तपाईंका लागि एउटा गीत गाएको छु, सुन्नुहोला।
यो गीतलाई नै उनले आफ्नो निम्ति प्रेमीले गाएको गीत ठानिन्।
पेमाला गुरुवाचार्य विवाहपछि एकदम खुसी भएको क्षण हो, नारायणगोपालले जगदम्बाश्री पाउँदा । उनी भन्थिन्, ‘त्यो मेरा निम्ति र उहाँका निम्ति दुवैका लागि ठुलो खुसीको क्षण हो।’
नारायणगोपालको काठमाडौंमा भएको एकल साँझ ‘स्वर्णिम सन्ध्या’ उनी आफ्नो जीवनको यादगार घटना मान्छिन्। स्वर्णिम सन्ध्या भएको एघार वर्षपछि उनी रेडियो सगरमाथाको प्राङ्गणमा एकपटक बोल्दै थिइन्, ‘नारायणगोपालका गीतको रक्षा हुनुपर्यो। यहाँ नारायणगोपालको नाममा अनेक गीत बज्छन्। त्यो मलाई चित्त बुझ्दैन।’
बखुन्डोलको रेडियो सगरमाथाको आँगनमा सम्पन्न भएको त्यो अन्तिम कार्यक्रम थियो, जहाँ दुवै मितिनी भेला भएका थिए– पेमाला र रिन्चेन योन्जन। त्यो दिन रेडियो सगरमाथाले पहिलो पटक गीत बजेबापतको रोयल्टी वितरण कार्यक्रम राखेको थियो। पछि एफएमहरूबाट छिटपुट रूपमा रोयल्टी दिने क्रम त भयो तर निरन्तर भएन।
पेमाला आफ्ना पतिको मात्र होइन, सम्पूर्ण गायक–गायिका, गीतकार, सङ्गीतकारको रोयल्टीका निम्ति लडिरहिन्। त्यही काम र क्रमको निरन्तरताको लडाइँ अहिले पनि जारी छ।
नारायणगोपाल जसरी गीत छान्नमा माहिर थिए, त्यसरी नै उनले सही अर्थमा सशक्त पत्नी छानेका थिए, जसले उनका गीत, गला र सपनालाई सदैव सम्मानपूर्वक बचाइराखिन्। उनको यही प्रतिबद्धताले गर्दा नारायणगोपाल सङ्गीत कोषको आयोजनामा कुनै समय नारायणगोपाल गायन प्रतियोगिता भए, नारायणगोपालसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता भए। नारायणगोपालले गाएका नेपाल भाषा र नेपाली भाषाका गीतहरूको संरक्षण भयो। यसैकारणले उनकै अदम्य साहसले गर्दा जेनजीसम्मको नाम र गायन गुन्जिरहेको छ।
नारायणगोपालको ३५ औं पुण्यतिथिका सन्दर्भमा पेमाला नारायणगोपाल दुवैमा हार्दिक आदराञ्जली अर्पण गर्छु।
प्रकाशित: १३ मंसिर २०८२ १०:०३ शनिबार