चलचित्र ‘मन बिनाको धन’ को ट्रेलर बुधबार सार्वजनिक भएको छ। चलचित्रलाई लिएर चलचित्र निर्देशक टंक बुढाथोकीका दाइ टीका बुढाथोकीले यो नयाँ उद्देश्य बोकेको चलचित्र भएको बताए ।
बुधबार पत्रकार भेटघाटकाबीच चलचित्रको ट्रेलर सार्वजनिकका क्रममा बुढाथोकीले यो चलचित्रले समाज रुपान्तरणको नयाँ आयामलाई देखाउने बताए ।
ट्रेलरले फिल्मको नयाँ सन्देशलाई प्रवाह गरेको छ । मुख्य कलाकारको रूपमा अशोक दर्जी छन्। चलचित्रमा पनि अशोक एक कलाकारकै रुपमा चिनिएका छन् । यसमा सामान्य मानिस झैँ पढ्न गरेको सङ्घर्षलाई समावेश गरिएको छ ।
चलचित्र अशोक दर्जीको बायोपिक हो ? भन्ने प्रश्नमा निर्देशक टंक बुढाथोकीले पूर्ण बायोपिक भन्न नमिल्ने बताए । उनले भने, ‘यो कथा पूर्ण रूपमा अशोकको मात्र होइन यसमा मनोरञ्जन पनि चाहिन्छ त्यसै हिसाबले बनाइएको छ। साथै यो चलचित्र बनाउने योजना २०१९ देखि नै थियो तर केही कारणवश योजना रोकियो।’
चलचित्रको उद्देश्यलाई लिएर आफूले आठ वर्षदेखि काम गरेको र आफूलाई लागेका आरोप प्रत्यारोपलाई एक हिसाबले जवाफ दिन निर्माण गरिएको बताए । यो फिल्मले नेपालको विद्यालमा केही सकारात्मक परिवर्तण ल्याउने आशा बोकेको पनि उनले सुनाए ।
चलचित्रको निर्देशक, संगीत तथा पटकथा टंक बुढाथोकी कै छ। कलाकारमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बीना राउत, रक्षा श्रेष्ठलगायत छन् ।
ट्रेलर टंककै युटयुव च्यानलबाट सार्वजनिक भएको छ। चलचित्र भने कार्तिक २१ गते सार्वजनिक हुनेछ। यो फिल्म निर्माणमा आफूले दुई करोड खर्चिएको बुढाथोकीले बताएका छन् ।
प्रकाशित: १२ कार्तिक २०८२ १६:१३ बुधबार



