कला

वीरगन्ज पाठशालामा कवि भुपिन र निमेश

यसपाली साउन बित्न लाग्दा पनि चाहिने जति पानी नपरेर बेहाल रहेको वीरगन्जमा मधेसको खडेरी अनि शीतलहर र आन्दोलनदेखी प्रमसम्मको प्रसंगमा कविताहरु वाचन गरिएका छन्।

शनिबार पाठशाला नेपाल संस्थाले आयोजन गरेको ‘पाठशालामा कवि’ भन्ने कार्यक्रमको केन्दबिन्दु भए चर्चित कविहरू भूपिन खड्का र निमेष निखिल। उनीहरुले साहित्यिक जमघटबीच आफ्ना कवितावाचन गरे। केही स्थानीय कविले पनि रचना वाचन गरे।

‘आउ प्रिय कविहरु

यसपल्ट कवितालाई

सुन्दरताको दासताबाट मुक्त पारौं

कलाको अनन्त बन्धनबाट मुक्त पारौं

र हेरौं

कबिताको बत्ति निभेपछी

अझ कति अंध्यारो देखिँदो रहेछ दुनियाँ

अझ कति खाली हुँदो रहेछ रिक्तता।’ कविताको बिद्रोही स्वभाव हराउदै गएको भन्ने भाव बाकेको भूपिनले वाचन गरेको ‘कुरूप कविता’ खुबै रुचाइयो।

कवि भुपिनले शीतलहरलाई बिम्ब बनाएर बर्णन गरिएको मधेसलाई ‘सर्दी’ कवितामा सुनाए। उनले ‘खडेरी’ शिर्षकमा पनि मधेसकै अवस्था वर्णन गरे। ‘चोरी एक तुलनात्मक अध्ययन’, ‘स्याउ बाजे’, र ‘ट्रक ड्राइभर’ शीर्षकका कविता पनि वीरगन्जका साहित्यानुरागीमाझ रुचाइयो।

कवि निमेषले ‘मेरो कविता’बाट आफ्नो वाचन सुरु गरेका । सुरुमा उनले वाचन गरेको ‘मेरो कविता’ले कार्यक्रमलाई औपचारिकताबाट काब्यतिर डोर्‍याउन सफल भएको थियो।

‘अवरोधमा उभिएका तगाराहरू छिचोलेर

उदास मनहरूमा झुल्कन्छ मेरो कविता

मझेरीदेखि माटोसम्मको यात्रामा

निराकार बुद्ध खोज्छ मेरो कविता।’

‘सम्बोधनमा मित्र रामविश्वास’ भन्ने कविताबाट उनले मधेस पहाडको सम्बन्धलाई आफ्नो दृष्टी दिए। ‘समय यस्तो होस’, ‘ऐना अगाडि’, ‘स्वीकारोक्ति’ र ‘निमेष निखिल एक शब्दचित्र’ शीर्षकका कविता सुनाए।

आयोजक संस्थामा अध्यक्ष बालगोपाल थापाको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय कविहरू अनिता शाह, दिलीप कार्की, सीता अधिकारी, ध्रुव ठकुरी र पुरुषोत्तम आचार्यले पनि कवितावाचन गरे। लेखक गणेश लाठ ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेश चौरसियाले बोलेका थिए।

प्रकाशित: २८ श्रावण २०७९ १४:३५ शनिबार

वीरगन्ज ‘पाठशालामा कवि’