तिमीले सोचेभन्दा धेरै, ए साइँली! दिऊँला तिमीलाई माया
मात्र तिमी बसिदेऊ दिलको दायाँबायाँ
यतिबेला यो गीत युट्युव, टिकटकमा मात्र होइन, मानिसका ओठमा पनि झुन्डिइरहेको छ। गीतमा भएका यी हरफहरूलाई संगीतमा बाँधेर जीवन्त बनाउने काम संगीतकार बिबी अनुरागीले गरेका हुन्। उनले कागजमा कोरिएका शब्द र संगीतको तालमेल गरेर यी र यस्तै हरफहरूलाई जीवन्त बनाउने काम गर्छन्। उनका प्रायः गीतहरूले युट्युवमा दिनदिनै दर्शक बढिरहेका हुन्छन्। टिकटकमा आइरहेका भिडियोहरूले यसै भनिरहेका छन्। यी उनले संगीतलाई कतिसम्म जीवन्त बनाउँछन् भन्ने उदाहरण हुन्।
थुप्रै चलचित्र र म्युजिक भिडियोका गीतमा संगीत समायोजन गर्ने काम गरेका अनुरागीसँग कस्तो धुनले दर्शकलाई मन्त्रमुग्ध बनाउँछ भन्ने सूत्र नै भएको उनले संगीत भरेका गीत सुनेर नै अड्कल गर्न सकिन्छ। उनले संगीत भर्ने मात्र नभएर थुप्रै गीतहरू आफै कोरेका पनि छन्। बिछोडको ‘करौंतीले काट्नु मनै काट्यो...’ यो चलचित्र परदेशीमा रहेको गीत हो। यसमा संगीत समायोजन अनुरागीले गरेका थिए। उनको यो संगीतले धेरैको मन छोयो। यो संगीतले मानिसका पूराना कथाहरू बोलेको भान हुन्छ।
भर्खर ११ वर्ष टेक्दै थिए, उनी। गाउँमा बिजुली बत्ती थिएन, सडक पनि पुगेको थिएन। बागलुङ, भकुन्डेस्थित बिबी अनुरागीको घरमा गन्धर्वहरू सारङ्गी बोकेर आउँथे। सारङ्गीसँगै देशविदेशका गाथा सुनाउँथे।
यतिबेला संगीत जगत्मा अनुरागीको चर्चा चुलिँदो छ। उनीसँग काम नगरेका संगीत क्षेत्रका मान्छे सायदै होलान्। उनले प्रत्येक गीतसंगीतमा मौलिकतालाई ठाउँ दिन्छन्, त्यसैले पनि उनको खोजी धेरै हुने गर्छ।
लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय अनुरागीले १७ सय बढी गीतहरूमा संगीत भरेका छन्।
अनुरागीको बाल्यकाल र सांगीतिक यात्रा
भर्खर ११ वर्ष टेक्दै थिए, उनी। गाउँमा बिजुली बत्ती थिएन, सडक पनि पुगेको थिएन। बागलुङ, भकुन्डेस्थित बिबी अनुरागीको घरमा गन्धर्वहरू सारङ्गी बोकेर आउँथे। सारङ्गीसँगै देशविदेशका गाथा सुनाउँथे।
उतिबेला घटनालाई खबरका रूपमा गीत बनाएर गाउने चलन हुन्थ्यो। गीत गाउँदै गन्धर्वहरू गाउँभरि घुम्थे, साथमा झोला बोकेर अनुरागी पनि सँगै हिड्थे।
गन्धर्वको झोला बोक्न पाउँदा उनी खुसी हुन्थे। गन्धर्वले गाएको गीत सुनेपछि उनलाई पनि गाउन रहर लाग्थ्यो। र, आफै लय भरेर गाउने कोसिस गर्थे। तर उनी आफैलाई थाहा थिएन, बाल्यकालमा टुसाएको संगीतको पालुवाले एक दिन पूर्णकालीन संगीतकार बनाउँछ भन्ने।
त्यतिबेला गाउँमा संगीत सिक्ने कुनै माध्यम थिएन। दाउरा घाँस र मेलापात जाँदा उनी गीत गुनगुनाउँथे। टेलिभिजन देख्न पाइँदैनन्थ्यो। घरमा बुबाले किनेर ल्याएको रेडियो थियो। रेडियोमा नारायण गोपाल, तारा देवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधानलगायतका स्वरमा सुमधुर गीतहरू बज्थे। उनलाई पनि यस्तै रेडियोमा गीत गाउने रहर जाग्थ्यो।
गाउँमा पञ्जेबाजा, सारङ्गी, बाँसुरी बजाउन माहिर थिए उनी। स्कुलको वाद्यवादन कार्यक्रममा पनि भाग लिन्थे। हरेक कार्यक्रममा प्रथम भएरै घर जान्थे। स्कुलमा विजेता भएपछि सांगीतिक क्षेत्रमा लाग्न थप ऊर्जा मिलेको अनुभव उनी सुनाउँछन्।
उनलाई गीत संगीतप्रतिको मोह जाग्दै गयो। सारंगीको धुनले उनलाई मोहनी नै लगायो। उनलाई बाँसुरी बजाउन पहिलेदेखि नै मन पथ्र्यो। आफू सुत्ने कोठामा बाँसुरी राख्थे। आठ कक्षामा पढ्दापढ्दै सारङ्गी बनाएर आफैले धुन निकाल्न थालिसेको थिए उनले।
जिन्दगी ठिकठाकै चलिहरेको थियो। पढाइ र संगीतसँगै बढाइरहेका थिए। आवश्यक खर्च घरबाट पठाइदिएका हुन्थे बुबाले। यसैबीच ०५० साल मंसिर महिना उनका लागि कालो दिन बनेर आयो। बुबा अचानक बिरामी भएको खबर पाए, उनले। बुबाको उपचारका लागि पोखराको गण्डकी अस्पताल ल्याउनु पर्यो। यद्यपि बुबालाई बचाउन सकेनन्।
त्यसपछि उनको जीवनले अर्कै मोड लियो। ‘बुबाले ऋण धन गरेर मलाई पोखरा पढ्न पठाउनुभएको थियो। अब उहाँ नै नरहेपछि म निकै विचलित भएँ,’ उनी विगत सुनाउँछन्, ‘मलाई एकछिन त अब मेरो कोही छैनजस्तै महसुस भयो। ठूलो दाइ भारतीय आर्मी भएकाले थोरै आर्थिक राहत मिल्यो। तर, घर व्यवहारको जिम्मा मेरै काँधमा आइपर्यो।
उनलाई बुबा नहुनुको पीडा त छँदै थियो। तैपनि हरेस खाएनन्, हिम्मत कसे। जसोतसो पढाइ पूरा गरे। घरको कामसँगै भाइबहिनी हेर्ने जिम्मा पनि उनकै काँधमा थियो। तर संगीतबाट उनी भाग्न सकेका थिएनन्। संगीतप्रति झन् घनिभूत सम्बन्ध हुँदै गयो।
उनी २०५१ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र, पोखराबाट आफ्नै शब्द र स्वरमा गीत रेकर्ड गरे। गीतको बोल ‘दुःखी मुहार आँसुले धुँदै, छोडेँ गाउँघर उज्यालो नहुँदै’ थियो। निकै मार्मिक बन्यो गीत। गीतलाई सबैले मन पराए। गाउँभरि चर्चा चल्न थाल्यो। पहिलो गाँसमै मिठो स्वाद भेटे। उनलाई गीतले दिएको चर्चासँगै माया पनि पाए। झन् अर्कोे गीत निकाल्ने हौसला मिल्यो। त्यसपछि उनले ‘मेरो माया नकुल्च त्यसरी’ बोलको गीत रेकर्ड गरे। लोकपप शैलीको गीत थियो। गीतले सोचेभन्दा बढी चर्चा पायो। त्यसपछि संगीतमै रमाउने निधो गरे। त्यस गीतमा उनले आफ्नो नाम बिबी अनुरागी राखे।
२०५५ सालमा राजकुमार बगरको ‘उडेर जून छुन्छु भन्थेँ’ गीतमा संगीत भरे। गीतलाई गायक रामभक्त जोजिजूले रेडियो नेपालको राष्ट्रव्यापी प्रतियोगितामा गाएका थिए। गीत गायन र शब्दतर्फ प्रथम भयो। गीतको चर्चासँगै संगीतकारको खोजी हुन थाल्यो। त्यसपछि संगीतमा आत्माविश्वास बढ्न थाल्यो।
०५९ सालमा उनको काठमाडौंमा गायक नारायण रायमाझीसँग भेट भयो। काठमाडौं रिमा रेकर्डिङ स्टुडियोमा भेटेपछि नारायणले उनको संगीत मन पराए। उनलाई आफ्नो स्टुडियोमा ‘एरेन्ज’ गर्न काठमाडौं बोलाए।
नारायणले उनलाई राम्रो तलब व्यवस्था गरे। त्यसपछि उनी पूर्णकालीन संगीतमा लागे। रिमा रेकर्डिङ स्टुडियो बिबीका लागि जीवनमा ‘टर्निङ पोइन्ट’ बन्न पुग्यो।
०६२ सालमा नारायणले स्टुडियो आफ्नै घरमा सार्ने भए। बबरमहलमा रहेको नारायणको स्टुडियो बिबीलाई दिए। उनले स्टुडियोको नाम प्रिज्मा रेकर्डिङ स्टुडियो राखे, प्रिज्माले अहिलेसम्म हजारौं गीत रेकर्ड गरिसकेको छ। नारायणले बिबीलाई ठूलो गुन लगाए।
हालसम्म उनले लोकगीत, लोकपप र चलचित्रका करिब १७ सयभन्दा बढी गीतमा संगीत भरेका छन्। संगीत बुझेर, संगीतमै भिजेर आफ्नो जीवन नै संगीतमा समर्पित गरे, उनले।
आज लोक दुनियाँका अब्बल गायक तथा सर्जकमा दरिइसकेका बिबी आफ्नो यात्राको सुरुवाती जस परिवारलाई नै दिन्छन्। यसरी गाउँमै सिकेर बजाएका वाद्यवादनले काठमाडौं आएपछि उनलाई स्थापित गरे। संगीतले दुःख बिर्साउँछ। मानिसको मनलाई सुरमा बाँधेर राख्ने शक्ति संगीतमा हुन्छ। ‘संगीत मानवीय संवेदना र जीवनका हरेक परिस्थितिको सबैभन्दा प्रिय साथी पनि हो। संगीतबिनाको संसार उजाड र कुरूप हुन्छ’, बिबी भन्छन्।
अहिले गीतसंगीतमा व्यापक परिवर्तन आएको देख्छन् उनी। अहिले समय बदलिएको छ। पछिल्लो समय गीतसंगीतले स्रष्टा, सर्जक र कलाकारहरूलाई सोच्न बाध्य बनाएको उनी बताउँछन्। गीतलाई भाइरल बनाउने होडबाजीले नेपाली संगीतसंगीतको मर्म मर्दै गएको उनको बुझाइ छ। नेपाली संगीतले सदाबहार गीत नपाउनुको मुख्य कारक नै भाइरल मनोविज्ञान रहेको उनी दाबी गर्छन्।
कर्ममा बढी विश्वास गर्छन् उनी। आज संगीतले दिएको उचाइ कामबाट प्राप्त भएको ठान्छन्। ‘मान्छे स्वभावैले कुनै पनि कुराबाट सन्तुष्ट हँदैन। जीवनमा गर्नुपर्ने धेरै कामहरू अधुरा छन्। गन्तव्य अझै धेरै टाढा छ। गीतसंगीतमै रमाउन पाएको छु। आफूलाई भाग्यमानी सम्झेको छु,’ बिबीले कुराकानीको बिट मार्ने क्रममा भने।
प्रकाशित: ४ असार २०७९ ०१:४२ शनिबार