कला

सावधान  !

कविता

सहनुपर्ने पनि सहेका छौं

सहनैनपर्ने पनि सहेका छौं

सहनुको पनि एउटा हद हुन्छ

त्यो हदभन्दा पर पनि सहेका छौं

अन्याय, न्याय भएको छ– सहेकै छौं

असुरक्षा, सुरक्षा कहलिएको छ– सहेकै छौं

राजनीतिबाट जनता हराएको हरायै छ– सहेकै छौं

उपचारका लागि होइन  

दाह–संस्कारका लागि घरबास बेच्नुपरेको छ–  

सहेकै छौं

हाम्रो निधारको पसिना तह¥याएर

मुठीभर तिमीहरू खुट्टा धोइरहेछौ

सहेकै छौं,

हाम्रो आङमा

तिमीहरू अहंकारको परेड खेलिरहेछौ

सहेकै छौं,

हाम्रो गाँस खोसेर

तिमीहरू चाडबाड मनाइरहेछौ

सहेकै छौं,

हाम्रा हातखुट्टा बाँधेर तिमीहरू नग्नता नाचिरहेछौ

सहेकै छौं,

बलात्कारको चित्कारलाई बाजाले छ‍ोप्दा पनि सहेकै हौं

कालोलाई सेतो नभनेबापत झिरले घोप्दा पनि सहेकै हौं

सहनै नहुने पनि सहेकै हौं

कहनै नहुने पनि सहेकै हौं

भो ! पुग्यो !

सपना देख्ने लोभमा  

अब आफ्ना आँखाहरू फुटाउन सक्तैनौं

बाटो खोज्ने बहानामा

अब आफ्ना खुट्टाहरू चुँडाउन सक्तैनौं

सक्तैनौं तिमीले फर्फराउने झन्डाको सुरक्षार्थ  

आफ्नै शरीरमा बारुद खन्याउन सक्तैनौं

सह्यौं, धेरै सह्यौं

सहनुको अर्थ हो–

हामी हार्न तयार थिएनौ  

र, तिमीसँग प्रतिवाद गरिरहेका थियौं

सहनुको तात्पर्य हो–

हामी मर्न तयार थिएनौं

र, संघर्षलाई साँध लगाइरहेका थियौं

जति सम्झाए पनि तिमीले सुन्नै चाहेनौ

जति अथ्र्याए पनि तिमीले बुझ्नै चाहेनौ

वार कि पारको अवस्था हो यो

तिमीलाई चुलीमा ठाउँ दिएर

अब आफूलाई सुलीमा चढाउन सक्तैनौं

भन्नु पनि के भन्नु ?

अब त आफ्नो मुख सुकाएर

तिमीलाई थुक्नुको अ‍ौचित्य पनि देख्तैनौं

सावधान !

बेलैमा आफूलाई रोक

र, यहीँबाट सच्चिन सुरु गर !

हामीले अब सहने सबै सामथ्र्य गुमाइसकेका छौं

होइन र तिमी अझै पनि

अहंकारको बिकुल फुकिरहन्छौ भने

अन्तिमपटक सुन !

हामीले सहँदासम्म न हो बन्दुकले तिमीलाई पहरा दिने

सहनुको विरुद्ध अब हामी निर्वस्त्र सडकमा आइसकेका छौं !! 

प्रकाशित: १५ जेष्ठ २०७८ ०५:०२ शनिबार

कविता सावधान  !