कला

कविता : दूरी र जुँगा

एक समय वारि गाउँ पानी पर्दा  

रुझ्थ्यो पारि गाउँ

वारि गाउँ पहिरोले पुरिँदा

थिचिन्थ्यो पारि गाउँ

चराचुरुंगी बन्थ्यो  

संदेशवाहक।

अहिले फेरिएको छ

समय  

लुप्त भएका छन्

पीर सन्ताप  

बेचैनी व्यग्रता

प्रविधिको उज्ज्वल  

प्रकाशमा  

जोडिएको छ  

सिंगो विश्व  

भर्चुअल विश्वमा  

एकै ठाउँमा जोडिएर  

बनेका छन् घर

तर झन्झन् बढ्दै गइरहेछ  

मनको दूरी।

जुँगा

दया लाग्छ  

ती मृतकप्रति

जो हरेक रात उठ्छन्

जुरुक्क

खरानी भइसकेको  

घाटबाट

चियाउन थाल्छन्

शोकालयको भित्तामा

टाँगिएका आफ्ना तस्बिरहरू।

कतै एक अर्कोको भन्दा

छोटिँदै पातलिँदै त गएका छैनन्

आफ्ना जुँगाहरू !

प्रकाशित: १८ वैशाख २०७८ ०४:२६ शनिबार