निर्देशक दीपक आचार्य (काकु) को डेब्यु निर्देशन रहेको चलचित्र ‘परान’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ।
गत कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्र बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै वर्षकै सर्वाधिक कमाउने चलचित्र बन्न सफल भएको हो।
प्रदर्शनको सुरुवाती दुई दिन बक्स अफिसमा सामान्य व्यापार गरेको ‘परान’ ले तेस्रो दिनदेखि ‘वर्ड अफ माउथ’ (मौखिक प्रचार) का कारण आक्रामक व्यापार गर्न सफल भयो।
चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार मङ्सिर २७ गतेसम्म चलचित्रले १७ करोड ३९ लाख ४९ हजार रुपैयाँको ग्रस कलेक्सन गरिसकेको छ।
स्टार कलाकार र तामझामपूर्ण प्रचारभन्दा बलियो कथावस्तु र मौलिक प्रस्तुतिले दर्शक तान्न सकिन्छ भन्ने तथ्यलाई ‘परान’ ले पुनः प्रमाणित गरिदिएको छ।
चलचित्र सफल हुनुको मुख्य कारण दर्शकको भावनात्मक लगाब र बलियो पटकथा हो। निर्देशक आचार्यले यस सफलताको सम्पूर्ण श्रेय दर्शकलाई दिएका छन्।
‘दर्शकले चलचित्र हेरेर मन पराइदिनुभयो र सकारात्मक प्रतिक्रिया दिनुभयो, यो सफलता उहाँहरूकै कारण सम्भव भएको हो।’ उनले नागरिक न्युजसँग भने।
नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, केकी अधिकारी, अञ्जना बराइली, पूजा चन्द, प्रविण खतिवडा, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको चलचित्रले ५१ औँ दिनको अवसरमा शनिबार सामाजिक कार्य समेत गरेको छ।
निर्माण पक्षले काठमाडौंको ‘पवित्र सेवा समाज’ अनाथश्रममा पुगी ३० देखि ३५ जना आश्रितलाई न्यानो कपडा वितरण गरेको निर्देशक आचार्यले जानकारी दिए। बाँकी उत्सव आगामी साता मनाइने बताइएको छ।
पहिलो प्रयासमै ऐतिहासिक सफलता पाएका आचार्यले आगामी दिनमा पनि समाज र माटो सुहाउँदो कथामा चलचित्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित: ५ पुस २०८२ १७:३५ शनिबार