कला

बच्चा हुर्काउने भएपछि विवाह

तस्बिर : फेसबुकबाट

मुम्बई–अभिनेत्री आलिया भट्ट सम्भवत बलिउडकै सबैभन्दा कम उमेरकी स्टार हुन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा २३ लाख फलोअर्स बनाएकी उनले यही मौकामा गत आइतबारबाट ‘आस्क मि एनिथिङ’ नामक प्रश्नोत्तर सेसन सुरु गरेकी छन् ।

उनको यो सेसनमा फ्यानले आलियालाई उनको निजी जीवनदेखि व्यवसायिक कामका बारे विविध प्रश्न सोध्न सक्छन् । उनले प्रत्येक प्रश्नको उत्तर नदिए पनि केही छानिएका प्रश्नको उत्तर भने दिएकी छन् ।अधिकांश फ्यानले उनको मनपर्ने खानेकुरा, पुस्तकका बारेमा प्रश्न सोधिरहँदा केहीले चाहिँ आलियालाई विवाहपछिको योजनाका बारे प्रश्न गरेका छन् । एक फ्यानले ‘के विवाह पछि तपाई अभिनयलाई छोडिदिनुहुन्छ ? आशा छ त्यसो गर्नुहुन्न होला’ भनी प्रश्न सोधेका छन् । उनले विवाहपछि पनि अभिनयलाई निरन्तरता दिने जवाफ दिएकी छन् । ‘आफ्नो स्टाटसलाई परिवर्तन गर्नुको अलावा विवाहपछि अन्य कुरा छोड्न अति जरुरी पनि हुँदैन । म जबसम्म सक्षम रहन्छु, त्यो समयसम्म अभिनय निरन्तर चलिरहनेछ ’ उनले भनेकी छन्।

आलिया यतिबेला आफ्ना अघोषित प्रेमी रणवीर कपुरसँग फिल्म ‘ब्रह्मास्त्र’मा काम गरिरहेकी छन् । फिल्ममा मौनी राय र अमिताभ बच्चनको पनि अभिनय छ । यो फिल्मबाहेक उनी करण जैेहरको फिल्म ‘कलंक’ मा पनि देखिँदैछिन् जुन फिल्ममा वरुण धवन, सोनाक्षी सिन्हा, आदित्य रोय कपुर, माधुरी दीक्षित र संजय दत्तको पनि अभिनय छ ।
पछिल्लो दिनमा आलिया–रणवीरबीचको अफेयरको चर्चाले बलिउड गरमाएको छ । उनीहरु आजकल सार्वजनिक कार्यक्रममा सँगै देखिन्छन् । केही समय अघि मात्र आलियाले आफ्नो विवाहको बारेमा बोलेकी थिइन् । ‘मानिसहरु म ३० वर्षको उमेरपछि मात्र विवाह गर्छु भन्ने सोचिरहेका होलान् । तर यो उमेर भन्दा अघि नै विवाह गरेर सबैलाई आश्चर्यमा पनि पार्न सक्छु ।’ उनले भनेकी छन्।

उनले आफूले बच्चा हुर्काउन सक्ने भएपछि मात्र विवाह गर्ने जनाउ दिएकी छन् । ‘म जहिल्यै पनि बच्चाको लागि विवाह गर्छु भन्ने सोचिरहेको हुन्छु । मलाई बच्चा चाहियो र त्यो बच्चालाई सम्हाल्न सक्छु भन्ने लागेपछि म विवाह गर्नेछु । मैले विवाहको कुनै मिति तोकेको छैन । मिति नतोक्दा पनि केही फरक पर्दैन ’ आलियाले भनेकी छन् ।
 

प्रकाशित: २४ श्रावण २०७५ ०३:१४ बिहीबार

#बच्चा हुर्काउने विवाह#