कला/साहित्य

यस्तो छ जेन जी जीवनशैली

सूचना प्रविधिको उच्चतम विकासले सिर्जना गरेका सामाजिक सञ्जालभित्र जन्मेर सामाजिक सञ्जालभित्रै हुर्किरहेका जेन जी यतिखेर पूर्ण रूपमा सामाजिक सञ्जालबाहिरको संसारबाट टाढा छ।

जेन जी भनेको सन् १९९७ देखि सन् २०२० को अवधिमा जन्मिएका पुस्ता हुन्। यो पुस्ताले जेनेरेसन वाइलाई पछ्याउँदै अल्फा जेनेरेसनलाई समेत तान्दै लागिरहेको छ। यो पुस्ता डिजिटल नेटिभ हुन् जो जन्मजात विद्युतीय वातावरणमा हुन्छन् र यहीभित्र हुर्कन्छन् पनि।

जेन जी पुस्ता त स्मार्ट फोन तथा सामाजिक सञ्जालसँगै बढ्ने गर्छ। उनीहरू इन्टरनेटविनाको संसार सोच्नै सक्दैनन्। फेसबुक, रिल्स, टिकटक, स्न्यापच्याट, इन्स्टाग्राम, पोपो, इमो, ह्वाटसएप, लाइक, युट्युबलगायतका प्लेटफमहरू तिनीहरूका अभिव्यक्तिका माध्यम हुन्।

उनीहरू ती प्रविधिहरूसँग यति नजिक छन् कि एकैसाथ सबै प्लेटफर्मलाई प्रयोग गर्न सक्षम पनि छन्। उनीहरू सामाजिकरूपमा सचेत, विविधता, जलवायु परिवर्तन, लैंगिक समानता जातीय न्याय जस्ता मुद्दामा सचेत छन्। परम्परालाई उनीहरू त्यति मन पराउँदैनन्।

राजनीतिलाई उनीहरू वास्ता गर्दैनन्। अधिकले मन पराएका वस्तुहरू उनीहरूको रोजाइ हो। अझ सन् २०२० पछि जन्मिएका अल्फा जेनेरेसन डिभाइसहरूको प्रयोगलाई दैनिकीकै ग्रहण गर्छन्। उनीहरू हर चिज इन्टरनेटभित्रै पाउँछन् र भेट्टाउँछन् पनि। त्यसैको माध्यमबाट पूर्ण मनोरञ्जन लिने, संसारका ताजा विषयवस्तुको जानकारी लिने र त्यसैबाट सन्तुष्टी भई खुसीपूर्वक दैनिकी कटाउने जेन जी आफूलाई चाहेको जुनसुकै विषयका लागि इन्टरनेटमै आश्रित हुन्छन्।

यतिसम्म कि कहिलेकाहीँ आफैँले पकाएर खानुपर्‍यो वा कतै जानुपर्‍यो भने पनि डिभाइसभित्रै नछिरी सम्भव नै ठान्दैनन् र त्यसै गर्छन्। हुन पनि सूचना र प्रविधिले ल्याएको अधिक सुविधाअन्तर्गत नै यावत् चिजहरू इन्टरनेट सहजै भेटिन्छन्। उनीहरू खाना, शिक्षा, स्वास्थ्य, सूचना, मनोरञ्जन सबै डिभाइसकै सहारामा प्राप्त गर्छन्। उनीहरू परम्परागत मूल्य, मान्यतालाई वास्ता गर्दैनन्।

पुराना कुरालाई उनीहरू जसरी पनि तोड्न रुचाउँछन्। अरूले भनेको कुनै कुरा सुन्दैनन्। कारणवस सुने जस्तो गरिरहाले पनि ग्रहरण गर्दैनन्। उनीहरू समाजका हर कुरामा विनिर्माण चाहन्छन्। सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिकलगायतका अवधारणा भत्काएर नयाँरूपमा पुनः बनाउन चाहन्छन्। जुनसुकै कुरा पनि आफू अनुकूल ग्रहरण गरी अर्थ लगाउँछन्।

जेन जीहरू परम्परागत धर्म संस्कृति नीति नियम वा सामाजिक र सांस्कृतिक बन्धन तोड्न मन पराउँछन्। हुन त यस्तो परम्परा प्रविधिसँगै विकसित भएको उत्तर आधुनिकतावादका उपज हुन्। उत्तर आधुनिकतावादका प्रवर्तकका रूपमा रहेका जेन जी अरूले बनाएका कुनै नियम पालना गर्दैन्। तत्काल जे छ त्यसैमा अधिक रमाउँछन्।

नेपाली समाज र संस्कृतिभन्दा विदेशी संस्कृति पछ्याउँने जेन जी भविष्यको विषयलाई लिएर एकछिन पनि चिन्ता गर्दैनन्। फ्रान्सेली दार्शनिक ज्याक डेरिडाको विनिर्माणको दर्शनसँग नजिक जेन जी कसैको दबाब र नियन्त्रणमा बस्न रुचाउँदैनन्। उनीहरू जे गर्छन् आफ्नै सुरले गर्छन्। जेनेरेसन जीदेखि हुँदै अल्फा जेनेरेसनमा हुर्कँदै गरेकाहरूको आजभन्दा भोलिको दिनचर्या र संस्कृति अझ फेरिँदै जाने क्रममा छ।

लोकप्रिय संस्कृतिको पुस्ता

लोकप्रिय संस्कृति विचार अभ्यास र वस्तुहरूको सेट हो जो व्यापकरूपमा स्वीकार गरिन्छ र आमजनताले अधिक मन पराइरहेका हुन्छन्। लोकप्रिय संस्कृति त कुनै बेलाको फेसन सो जस्तै हो आज निकै चर्चित र सुपरहिट हुन्छ, भोलि सकिन्छ। यसको दिगो कुनै सोच छैन। लोकप्रिय संस्कृतिलाई आम संस्कृति पनि भनिन्छ। जो धेरै मन नपराइकन लोकप्रिय  हुनै सक्दैन। हाइब्रिड अवधारणामा दौडिरहेको लोकप्रिय संस्कृतिले जेन जीलाई वर्तमानमा मात्रै खुसी बनाइरहन सक्छ। लोकप्रिय संस्कृति खहरेमा आएको बाढी हो, भोलिका लागि उनीहरूलाई यो संस्कृतिले सोच्ने अवसर नै दिँदैन।

विनिर्माण

विनिर्माणवाद उत्तरआधुनिकताको उपज हो। यसलाई विघटनका रूपमा पनि बुझ्न सकिन्छ। साहित्यिक कृति वा पाठ समालोचनाको सिद्धान्तका रूपमा फ्रान्सेली भाषाशास्त्री समालोचक तथा दार्शनिक डेरिडाले सन् १९६६ मा विनिर्मिाणवाद नाम दिए। उनको यस सिद्धान्तलाई विभिन्न विद्वान्ले ग्रहण गरे। बहस गरे र युरोप र अमेरिका हुँदै विश्वव्यापी  बनाउँदै लगे। फ्रेडरिक नित्से र मार्टिन हाइडेगरबाट प्राप्त गरेको ज्ञानलाई उनले यस सिद्धान्तमा भरपुर प्रयोग गरे।

नित्सेको यस जगत्मा निर्विकल्प सत्य केही छैन तसर्थ कुनै पनि व्याख्या अन्तिम हुन सक्दैन भन्ने धारणाबाट डेरिडा निकै प्रभावित थिए। साहित्यको समालोचनामा आएको विनिर्माणको दर्शनचाहिँ उत्तरआधुनिक युगमा सबै क्षेत्रमा लागु हुन्छ। विनिर्माण भनेको पुनर्निर्माण हो। कुनै पनि संरचनालाई भत्काएर पुनः बनाउने र जस्तो रूपमा बनाए पनि त्यसलाई ग्रहरण गर्नेले बुझेकै रूपमा लिन सकिने कुरा डेरिडाले आफ्नो सिद्धान्तमा उल्लेख गरेका छन्।

ससाना शब्ददेखि बानी, व्यवहार र समाजका सबै क्षेत्रमा विनिर्माण हुने कुरा उनीहरू स्वीकार गर्छन्। त्यसैलाई जेन जी, जेड जेनेरेसन र अल्फा जेनेरेसनले पनि मज्जाले स्वीकार गरेर अपनाइरहेका छन्। त्यसो भनेर उनीहरू समाज विरोधी पनि होइनन्। समाजका यावत् पक्षको समर्थक पनि होइनन्। उनीहरूको आफ्नै संसार छ। त्यही संसारमा रमाउन उनीहरू हरपल रुचाउँछन्।

परम्परागत धारणालाई भत्काउँछन् र नयाँ निर्माण गर्न तल्लीन हुन्छन्। उनीहरू परम्परालाई वास्तै गर्दैनन् र लागेको गर्न रुचाउँछन्। उनका फलोअर्स भनेकै इन्टरनेटमा देखिएका संसार हुन्। उनीहरू हरचिजलाई आफ्नै हिसाबले बुझ्छन्। अरूले भनेको मात्रै सत्य हो भन्नेमा विश्वास गर्दैनन्।

जेन जी सञ्चार

जेन जी सञ्चारमा जहिले पनि अगाडि छ। इन्टरनेटभित्रै जन्मेका जेन जीहरू पलपलको सूचनासँग अपडेट भइरहन्छ। हातमा उनीहरूको सञ्चार सेट छ, स्मार्ट फोन छ। उनीहरूलाई परम्परावादी सञ्चारका साधनहरू मन पर्दैनन्। उनीहरू एक क्लिकमा संसार हेर्न पढ्न र सुन्न सक्छन्। त्यसैमा सञ्चार गर्न उनीहरू सक्षम छन्।

जेन जी राजनीति

जेन जीहरू राजनीतिमा त कत्ति पनि चासो नै राख्दैनन्। उनीहरू राजनीतिक दलका नेता पनि चिन्दैनन्। चिने पनि डिभाइसभित्रको संसारमा नेताबारे जे सामग्री आएको छ त्यसैअनुसार नेताबारे धारणा बनाउँछन्। उनीहरूकै भाषामा भन्ने हो भने ब्रान्डेड नेता उनीहरूको रोजाइमा पर्छन्। उनीहरू त सामाजिक सञ्जालहरूमा अत्यधिक आएका बालेन, रवि लामिछाने, ज्ञानेन्द्र शाहीजस्ता नेताहरू रुचाउँछन्। उनीहरूलाई राजनीतिमा नेताले पुर्‍याएको योगदानको बाल मतलब हुँदैन।

जेन जीहरू पुराना पुस्तासँगै पारिवारिक सम्बन्धमा रहने हुँदा उनीहरूको निर्वाचन लगायतमा भने निर्णयक रोल हुन्छ। उनीहरू सामाजिक सञ्जालभित्र अत्यधिक प्रचार भएका नेतालाई निर्वाचनहरूमा चुन्न चाहन्छन् र त्यहीअनुसारको अभियान चलाउँछन्। आफ्नाहरूलाई ‘कन्भिन्स’ गर्छन् र बालेन्द्र शाह जस्तालाई नेतृत्वमा पुर्‍याउन भूमिका खेल्छन्।

जेन जीको भविष्य

जेन जी लोकप्रिय संस्कृतिको सेटसँग अधिक खुसी भइरहेको हुन्छ। जो समाजले पाच्य नठाने पनि अपनाइरहेका हुन्छन्। उनीहरू न विगतलाई लिएर पछुताउँछन् न त भविष्यको विषयलाई लिएर चिन्तित हुन्छन्। उनीहरू वर्तमानमा जे छ त्यसलाई आफ्नै परिभाषामा ग्रहण गर्छन्। र, अधिक सन्तुष्टि लिन्छन्। उनीहरूको भविष्य पनि समाजिक सञ्जाललगायतका प्लेटफर्महरूले नै निर्धारण गर्छन्।

यौन, सिग्रेट, रक्सी आदिका विषयबारे सुन्न, पढ्न रुचाउने जेन जीहरू समयलाई पनि वास्ता गर्दैनन्। खानुपर्ने बेलामा सुतिदिन्छन्, सुत्नुपर्ने बेलामा खाइरहेका हुन्छन्। यो पुस्ता, यस्तो पुस्ता हो जो जीवन भनेको वर्तमान मात्रै हो भन्नेमा विश्वास गर्छन्। वर्तमानमा रोमान्टिक जीवन जिउँछन्। उनीहरूलाई भष्यिको कुनै चिन्ता नै हुँदैन। लोकप्रिय संस्कृतिका रूपमा आएका नयाँ प्रविधिले गाँजेको जेन जीदेखि अल्फासम्मको पुस्ताको दिमागमा एउटा सेट छ जो वर्तमानमै सीमित छ।

वर्तमानलाई जोड दिने संस्कृतिले ती पुस्ताको भविष्य गन्तव्यहीन बनाइदिएको छ। उनीहरू विवाह, सन्तान जन्माउने कुरालाई समेत वास्ता गर्दैनन्। एकचोटि पाएको जिन्दगी भरपुर रमाउन जान्नुपर्छ, सक्नुपर्छ भन्ने सोचमा हुर्केका जेन जीले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षलाई ध्यानै दिन्नन् जसले गर्दा उनीहरू लोकप्रिय चिजहरूमा भुल्छन्। लोकप्रिय संस्कृतिका रूपमा आएका चिजहरू बाढी हुन् आज छ, भोलि छैन। दिनानुदिन यो पुस्ताको संख्या बढ्दैछ।

सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा जेन जीलाई समेट्ने प्रयास गरिएको/नगरिएको स्पष्ट छैन। नीति र बजेटप्रति उनीहरूले पनि चासो दिएका छैनन्। सरकारको स्टार्टअप बिजनेस भन्ने कार्यक्रमले त्यो जेनेरेसनलाई आकर्षित गर्न सकेको छैन। तर जेन जी दुःख चाहँदैन। आरामले टन्नै कमाउने सपना देख्छन्। जसरी डिभाइसभित्रै रमाउँछन् त्यसैगरी डिभाइसबाटै उनीहरू आम्दानी र दैनिकी चलोस् भन्ने चाहन्छन्। त्यसका लागि अघिल्लो पुस्ताले प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्छ। सरकारले ल्याएको स्टार्टअप बिजनेसलाई अनलाइन व्यापारका रूपमा लगाउन सके केही सम्बोधन हुन सक्छ कि?

प्रकाशित: २३ जेष्ठ २०८२ ०८:५१ शुक्रबार

# Nagarik