कला/साहित्य

नेपालीपनले म यसरी भक्कानिन्छु!

कला, साहित्य र संस्कृतिले कुनै पनि जाति वा भाषीको परिचयलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। नेपाली जाति विविधतामा एकता भएको जाति हो। हाम्रो आफ्नै भाषा छ। हाम्रो आफ्नै संस्कृति छ। हाम्रो आफ्नै जातीय पहिरन छ। हामीसँग आफ्नै संस्कृतिका अनेक आयाम छन्। यिनको प्रवर्द्धन र सम्वर्द्धन गर्न संसारभर छरिएर बसेका नेपालीहरू आआफ्नो ठाउँबाट निरन्तर लागिपरेका छन्। नेपाली गीतसंगीत र नृत्यमा मौलिकताको खोजी अहिले नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट भैरहेको छ।

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नाम दिएर थालिएको यो कार्यक्रमले लगभग साठी देशका युवा प्रतिभालाई एक ठाउँमा जोड्ने काम गरेको छ। संसारभरिबाट छनोट भएका १२० जना गायन क्षेत्रका प्रतिभा र त्यति नै सङ्ख्यामा नृत्य मार्फत आफूलाई कला क्षेत्रमा समर्पित युवा प्रतिभाले एकै मञ्चमा उभिएर एक आपसमा नेपाली सांस्कृतिक राष्ट्रियताको परिचय दिइरहेका छन्।

जो जहाँबाट आएका भए पनि उनको आवाजले नेपाली संस्कृतिको सुगन्ध छरिरहेका छन्। नेपाली मौलिकता झल्काइरहेका छन्।

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स इन्ट्रा फाउन्डेसनले आयोजना गरिरहेको छ। इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी हुन्। भुटानको सर्वाङ जिल्लाको सुरे ब्लक अन्तर्गत पर्ने गोङ भन्ने गाउँमा सन् १९८१ मा जन्मिएका यिनी आठ वर्षको उमेरमा शरणार्थीका रूपमा नेपाल प्रवेश गरे। उनको युवा अवस्था शिविरमा नै बित्यो। करिव २८ वर्षको उमेरमा शरणार्थी पुनर्बासको क्रममा अमेरिका आइपुगेका यिनले इन्ट्रा फाउन्डेसन गठन गरेर सामाजिक क्षेत्रमा समाजसेवाको अभियानमा लागे।

उनी यतिमै रोकिएनन्। संसारभरि छरिएर रहेका नेपालीहरूलाई एकै मञ्चमा उभ्याएर नेपाली मौलिकताको खोजीमा लागिरहे। त्यसै सोचको उपज हो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स।

भाषाको संरक्षण र प्रतिभाको खोजी राज्यको दायित्वभित्र पर्ने कुरा हुन्। यो काम नेपाल सरकारले गर्नुपर्थ्यो या सरकार मातहतको नाट्यसंगीत एकेडेमीले गर्नुपर्थ्यो तर राज्य उदासीन भयो। जसका लागि तयार भए डिल्ली अधिकारी। नेपालले व्यवस्थितसँग बस्न समेत नदिएको, आफ्नो नागरिक होइन भनेर होचोअर्घेलो गरेको र भुटानी नेपाली शरणार्थी जो पुनर्बासको क्रममा अमेरिका पुग्यो। उसले यहाँ समाज सेवा गर्ने उद्देश्य राखेर इन्ट्रा फाउण्डेसन नामक संस्था स्थापना गर्‍याे। त्यही संस्थाका माध्यमले समाज सेवाका साथै भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देयसहित नृत्य कक्षा सञ्चालन गरी नेपालीका नानीहरूलाई नृत्यको प्रशिक्षण दिने अभियान सुरु गर्‍याे। 

अहिले अमेरिकामा १३०० भन्दा धेरै नानीहरू नृत्यको प्रशिक्षण नि: शुल्क लिइरहेका छन्। यसरी नेपाली भाषा र संस्कृतिको विश्वव्यापी प्रचारको अभियानलाई इन्ट्रा फाउण्डेसनले गति दिइरहेको छ। यो सम्मानयोग्य काम हो। यसकाे प्रशंसा गर्नै पर्छ।

मेरो भ्वाइस युनिभर्स  प्रतियोगिताको प्रसारण हेर्दा र कतिपय सहभागीका कुरा सुन्दा मन भक्कानिन्छ, आँखा रसाउँछ। भुटानका रामकुमार राई हुन् वा भुटानकै रविना विश्व, बेलायतमै जन्मिएकी युक्ती बिमली  हुन वा हङकङका टोपराज तामाङ हुन्। दार्जिलिङकी दक्षता गुरुङ हुन् वा अस्ट्रेलियाका कविन्द्र महर्जन, बर्माबाट गीत गाउन मञ्चमा उक्लदा काँधमा नेपालको झण्डा बेरेर गीत गाउन आएकी सहभागी हुन्, सबैमा भाषा र गीतसंगीतप्रतिको आत्मीय प्रष्ट झल्कन्थ्यो। 

अझ कार्यक्रममा सहभागी दर्शक स्तब्ध भए जब युगाण्डाबाट सहभागी हुन आएकी प्रतिस्पर्धीले भनिन्, ‘के म छानिए त?’ उनले अङ्ग्रेजीमा यो कुरा निर्णायक बसेका वरिष्ठ गायक दिप श्रेष्ठलाई सोधिन्।

दिपले अङ्ग्रेजीमै जवाफ दिए, ‘यस अफ कोर्स।’ 

उनी नेपाली बोल्न नसक्ने रहिछन् तर गायकीमा नेपालीपन झल्केको थियो।

यो आफ्नोपनप्रतिको सम्मान होइन र? हामी यता र उताको भन्नु भन्दा आफ्नो मौलिक भाषा र संस्कृतिको उन्नति कसरी गर्न सकिन्छ भनेर लाग्नु ठूलो कुरा होइन र? इमानदार साहित्यको सेवक, भाषा र संस्कृति सेवक पहिला नेपाली हो र त्यसपछि आफू जन्मिएको, हुर्किएको देशको नागरिक हो। ऊ जन्मिदा नेपाली भएर जन्मियो त्यसपछि उसले आफ्नो अरू परिचय निर्माण गर्यो  उसकाे नशामा नेपाली वंशको रगत दौडिएको हुन्छ। यसको छनक इन्ट्रा फाउन्डेसनले गरेको यो अभियानमा झल्कियो। यो प्रतियोगिताको सम्बन्ध पुरस्कार र जितहारमा मात्र सीमित छैन यो नेपाली  सांस्कृतिक राष्ट्रियतासँग जोडिएको अभियान पनि हो।

नेपाली गीतसंगीतका महान स्रष्टाहर देखि युवा पुस्ताका सशक्त गायक संगीतकार र साश्त्रीय रागका ज्ञाताहरू निर्णायक रहेको यो प्रतियोगिताबाट छनोट भएका प्रतिभाहरू विश्वभरी छरिएर रहेका नेपालीहरूका साझा गरिमा हुनेछन्। नेपालका राष्ट्रपतीले आफ्नो निवासमा बोलाएर विभिन्न देशबाट आएका सहभागीलाई जुन सम्मान दर्साए यो कुराले कलाकारहरूमा उत्साह छाएको हुनुपर्छ।

त्यस्तै प्रधानमन्त्रीले पनि कलाकारको सम्मानमा दिवाभोजकै आयोजना गरेर प्रेम दर्साएको कुराले कलाकार र सर्जक कुनै एक देशको मात्र होइन सबैको साझा निधि हुन् भन्ने कुरालाई चरितार्थ गरेको छ। नेपालीहरूलाई सीमा र राजनीतिले मात्र अलग गरेको छ। सांस्कृतिक रूपमा नेपाली एक छन् भन्ने सन्देश पनि हो यो कार्यक्रम।

निर्णायक समूहमा अभिभावकत्व गरिरहेका छन् वरिष्ठ गायक दिप श्रेष्ठले। नेपाली सुगम संगीतको स्वर्णकालदेखिका निरन्तर साधक आफैमा गीतसंगीतका पर्याय हुन्। सुरेश अधिकारी अत्यन्त प्रतिभाशाली र सशक्त संगीतकार र गायक हुन्। उनले चलचित्रदेखि सुगम र लोक आधुनिक कालजयी गीतसंगीत दिएका छन्।

अर्की निर्णायक छिन् लावनी चक्रवर्ती। भारतको कलकत्तामा जन्मिएकी यिनी एक प्रतिभाशाली शास्त्रीय गायिका हुन्। भारतका राष्ट्रिय स्तरका अनेक प्रतियोगितामा पुरस्कृत र सम्मानित यिनी आफैंमा साश्त्रीय गायनकी जानकार छिन्। अरू निर्णायकमा पछिल्लो पुस्ताका गीतसंगीतलाई जीवनको लय बनाइसकेका शिव परियार, अन्जु पन्त र कर्मा ग्याल्जेन बमजन उपस्थित छन्। यी निर्णायकको समूह देख्दैमा भन्न सकिन्छ। प्रतिभा छनोटमा इन्ट्रा फाउण्डेसनले कुनै कसर छोडेको छैन।

मेरो भ्वाइस युनिभर्ससँगै इन्ट्रा फाउण्डेसनले संचालन गरेको अर्को प्रतियोगी कार्यक्रम हो मेरो डान्स युनिभर्स। त्यो कार्यक्रममा नेपाली लोकजीवनका अनेक झाँकी प्रस्तुत गरेर सहभागीहरूले नेपाली जनजीवनलाई एउटै थलोमा समेटिरहेका छ्न्। यी दुवै प्रतियोगिताले नेपाली मन र मुटुलाई एकाकार गरिरहेका छन्। कार्यक्रमको भव्य सफलताको शुभकामना।

(लेखक गण्डकीपुत्र झोराहाट-२ मोरङमा जन्मिएका हुन् र अहिले  ह्यारिसबर्ग, पेन्सिलभेनियामा बस्छन्।)

प्रकाशित: ८ जेष्ठ २०८२ १२:०२ बिहीबार

# Nagarik