कला/साहित्य

माओवादीको ‘जनसाङ्गितिक अभियान’ गाईघाटमा

कार्यक्रममा नाटक प्रस्तुत गर्दै कलाकारहरू र प्रस्तुति दिएपछि सामूहिक फोटोमा टोली। तस्बिरः महेश्वर

नेकपा (माओवादी केन्द्र) १ नं. प्रदेश कमिटीको ‘चुरे तराई लक्षित जनसाङ्गितिक अभियान’ले बिहीबार सदरमुकाम गाईघाटमा बृहत जनसाँस्कृतिक कार्यक्रम प्रस्तुत गर्यो। पार्टी १ नं. प्रदेश इन्चार्ज हरिवोल गजुरेल (सन्तोष)ले कटारी बजारमा बुधबार उद्घाटन गरेर सुरु ९ दिने साङ्गितिक अभियानको दोसो दिन गाईघाटमा प्रस्तुति दिइएको हो।

पार्टीले १ नं प्रदेशका १४ वटै जिल्लालाई समेटेर साङ्गितिक अभियान थालेको प्रदेश कमिटी अध्यक्ष हर्क नेम्बाङ (मिक्सो)ले बताए। उनकै अगुवाइमा परिचालित झण्डै दुई दर्जन कलाकार सम्मिलित टोलीले गाईघाटको लोकतान्त्रिक (पिपल) चोकमा दिउसो १ः०० देखि साँझ ६ः०० बजेसम्म विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी दर्शक स्रोतालाई भरपुर मनोरञ्जन र सचेतनामूलक सन्देश दियो।

गाईघाटपछि वैशाख १२ गते उदयपुरकै चौदण्डीगढी नगरमुकाम बेल्टारमा प्रस्तुति दिने टोलीले १३ गते सुनसरीको धरानमा बृहत साङ्गितिक खजाना पस्कने छ। त्यसैगरी वैशाख १४ गते मोरङको केराबारी, १५ गते मोरङकै मधुमल्ला र मिक्लाजुङ, १६ गते इलामको चुलाचुली, १७ गते झापाको बुद्धशान्ति र १८ गते झापाकै बाहुनडाँगीमा साङ्गितिक प्रस्तुति दिँदै अभियान टुङ्ग्याउने अध्यक्ष मिक्सोले बताएका छन्।

अभियानको दरवियानमा पार्टीनिकट कलाकारहरूको सँस्था जनसाँस्कृतिक महासङघ प्रदेश कमिटीका कलाकारहरूले जनवादी गीत, नृत्य तथा परिवर्तनको पक्षपोषण गर्ने सन्देशमूलक नाटक ‘अवको बाटो’ प्रस्तुत गरे। नाटकमा राजतन्त्रकालमा हुने अन्याय, अत्याचार, हत्या, बलात्कार, व्यभिचारजस्ता कुरुप र जनविरोधी प्रथा तथा अमानवीय घट्नाको नालीबेली खोतल्ने कथा प्रस्तुत गरे। त्यसैगरी रगत उम्लिने प्रगतिशिल गीत, सामूहिक नृत्य र कविताजस्ता साहित्यिक खुराकहरूले दर्शक स्रोता मन्त्रमुग्ध भएका थिए।

राजेश किराती र अनुषा राईको नेतृत्वमा परिचालित टोलीमा कलाकारहरू विजय सामपाङ, राजेश किराती, अनुषा राई, शैलेन्द्र खतिवडा, चेतनाथ धमला, जाईका वान्तवा, रमेश आचार्य, भलाकाजी राईको प्रस्तुती दमदार थियो। त्यस्तै, तीर्थराज विश्वकर्मा, लक्ष्मण खनाल, कृष कालीकोटे, विकास कुलुङ, एलिना रुम्दाली, विक्रम परयिार, एलिसा ल्वागुन, रीमा राई, युना विक, सुनामी राई, दिलासा रोक्का, राजेस्ट राई (निश्चल) तथा केशरी घर्ती मगर (एलिना)ले प्रगतिसिल गीत, नृत्य नाटकमा मर्मस्पर्शी अभिनय कला देखाए।  

पार्टी प्रदेश कमिटीको आयोजना रहेको साङ्गितिक अभियानलाई स्थानीय पार्टी कमिटीहरूको व्यवस्थापनमा सञ्चालन भईरहेको पार्टी कलाकार फ्याक्सन इन्चार्ज राकेश किराँतीले बताएका छन्। उनका अनुसार भाषण कम, साङ्गितिक प्रस्तुति बढी पस्कने गरिएको कार्यक्रममा सम्बन्धित क्षेत्रका बढीमा २ जना नेतालाई मात्र बोल्न दिइने नीति लिइएको छ भने आधादर्जन गीत, नृत्य र ‘अबको बाटो’ नाटक प्रस्तुत गर्ने गरिएको छ। कार्यक्रमको अन्त्यमा सामूहिक नृत्य गरेर विसर्जन गर्ने गरिएको किरातीले बताए।

कटारीमा उत्साहजनक जमघटमा सम्पन्न उद्घाटनपछि गाईघाटमा प्रचण्ड गर्मीका बाबजुद भव्य रूपमा स्थानीयहरू सहभागी भए। राजावादी र कांग्रेस, एमालेजस्तो गाडीबाट भाडामा मान्छे ओसार्ने, खाजा नास्ता र भत्ता दिने कार्यक्रम माओवादीको नभई जनजागरण कार्यक्रम भएकाले स्थानीयहरू स्वतःस्फुर्त रूपमा कार्यक्रममा सहभागी भएको माओवादी त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राईले बताए। उनका अनुसार सामाजिक सञ्जालमार्फत सामान्य प्रचारप्रसारबाटै बाक्लो जमघटले कार्यक्रमलाई उत्साहजनक बनाएको छ।

भर्खरै ‘तराई मधेश हुलाकी लोकमार्ग जनजागरण अभियान’ सम्पन्न गरेको माओवादीले जागरण अभियानलाई निरन्तरता दिन १ नं. प्रदेशस्तरीय यो साङ्गितिक अभियान सञ्चालन गरेको जनाएको छ। प्रदेश कमिटी सचिव गणेश उप्रेती (सुशील)का अनुसार आगामी ८४ को आमनिर्वाचनमा देशको सबभन्दा ठूलो राजनीतिक दल बनाउने उद्देश्यले यो अभियान चलाइएको हो।  

अभियानको क्रममा दाहाल नेतृत्वको यसअघिको सरकारले गरेका भ्रष्टाचारविरुद्ध कारबाही, सुशासन र समाजवादतर्फको यात्राको आधार तय, सामाजिक न्याय र जनहितकारी तथा लोककल्याणकारी कामको प्रचारप्रसार तथा अन्तर्राष्ट्रिय फोरममा नेपालको तर्फबाट दाहालले गरेको राष्ट्रहितका कुराहरूलाई साङ्गितिक अभियानमार्फत प्रचारप्रसार गर्दै कथित राजावादी आन्दोलनको भ्रम चिर्न यस्ता गतिविधि निरन्तरता गर्दै जाने योजना बनाएको पनि सचिव उप्रेतीले बताए।

प्रकाशित: १२ वैशाख २०८२ १०:१९ शुक्रबार