कला

नदीले पनि बाटो बदल्छ निरन्तर बग्न पाएन भने!

मुक्तक

१) मुक्तक

नदी र किनाराबिच साँच्चै असामान्य प्रीत हुन्छ,

नदी बगिरहन्छ, बगेन भने नियम विपरीत हुन्छ।

सतही आँखाले कहाँ देखिन्छ हृदयको घाउ,

जूनको आँसु पनि भुइँमा झरेपछि शीत हुन्छ।

२) मुक्तक

ढोका खुला छ मनको हल्ला नगरी आउनू,

बाटो टाढा छ बनको हल्ला नगरी आउनू।

जून र तारा टिपेकी छु कसम तिम्रा लागि,

पक्का छु म वचनको हल्ला नगरी आउनू।

३) मुक्तक

भुइँमान्छेलाई बुझाउन अभिधामा लेख्नुपर्छ,

लेख्नेले आफ्नो मनको सुविधामा लेख्नुपर्छ।

शब्दगोला आकाशतिरै फाल्दिने हो जता जाओस्,  

भक्ति गान लेख्ने भए समिधामा लेख्नुपर्छ।

४) मुक्तक

बाहिरी आवरण होइन चाहेको आकाश जत्रै हृदय होस् ,

मलाई हार नै स्वीकार्य छ हरहमेसा तिम्रै विजय होस्।

चाहिँदैन मलाई जूनतारा नटिप्नू,आकाशमै छोडिदिनू,

चाहना छ केवल हरेक पल तिम्रो साथ र समय होस्।

५) मुक्तक

मायामा समर्पण, ठट्टा अनि हाँसो पनि हुनुपर्छ,

असल प्रेममा कहिलेकाहीँ गुनासो पनि हुनुपर्छ।

नदीले पनि बाटो बदल्छ निरन्तर बग्न पाएन भने,

सम्बन्ध जोगाउन दुवैकाे चिन्ता र चासो पनि हुनुपर्छ।

६) मुक्तक

फूल फुलेपछि हो आँगन रमझम हुने,

अभाव नै रहेछ गरिबसँग हरदम हुने।

सोच्दैछु पर्खिन मात्र गाह्रो छ समयलाई,

अँध्यारामै त हो जून पनि अनुपम हुने।

७) मुक्तक

यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ,

मन पग्लिएपछि आँखाबाट शीत झर्ने रहेछ।

सपनामा के देख्यौ भनेर नसोध्नू मलाई,

सपना देख्न त निद्रा पो लाग्नुपर्ने रहेछ।

८) मुक्तक

फोस्रो आडम्बर र तामझाम केका लागि,

अनेक खुराफात र छलछाम केका लागि।

घर नै पवित्र मन्दिर हो, बाआमा भगवान्,

र पनि दर्शनार्थ मन्दिर र चारधाम केका लागि।

९) मुक्तक

मायाको फूलबारीमा अचेल झार लुँडिएको छ,

आकासमा उडेको चङ्गाको धागो चुँडिएको छ।

जे नहोस् भन्थेँ जिन्दगीमा सधैँ, त्यै भैदिएपछि,

जिन्दगीको गति, लय अनि धार कुँडिएको छ।

१०) मुक्तक

व्यक्तिको परिचय आफैँ खुल्छ स्वभावले बतायो भने,

जून सधैँ सुन्दर देखिन्छ “छली” बादललाई हटायो भने।

मान्छेको जात एउटै, रगत रातै, मजबुरी फरक होला,

यत्ति बुझ्नू, माथि पुगिन्छ अग्लो मानवता पलायो भने।

प्रकाशित: १० माघ २०८१ ०९:३९ बिहीबार

# Niyatra # Kabita # Muktak # Laghukatha