कला

अन्तर विद्यालय व्याण्ड प्रतिस्पर्धामा उत्कृष्ट दश छनौट

प्रतिस्पर्धामा सहभागि पोखराको मदरल्याण्ड मावि। तस्बिरः नागरिक

पोखरामा भईरहेको अन्तर विद्यालय व्याण्ड प्रतिस्पर्धाको फाइनल राउण्डमा १० स्कुलका व्याण्ड छनोट भएका छन्।

पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा सभागृह हलमा शुक्रबार सुरु भएको प्रतियोगिताको फाइनल राउण्डमा १० वटा स्कुल छानिएका हुन ।  

प्रतियोगिताको फाइनल राउण्डमा सगरमाथा, प्रतिभा, गुरुकुल विद्याश्रम, ग्लोवल कलेजियट,  कुमुदिनी होम्स, गण्डकी आवासीय बोर्डिङ स्कुल, मदरल्याण्ड बोर्डिङ स्कुल (बी), फिस्टेल एकेडेमी, कालिका मावि र लाभिन्स रेसिडेन्सियल स्कुल छनोट भएको पोखरा सांगीतिक कलाकार संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए।

शुक्रबार भएको प्रतिष्पर्धामा प्रतिष्पर्धी स्कुल व्याण्डहरुले गण्डकी प्रदेशका सर्जकहरुको गीत गुञ्जाउँदा दर्शकको हुटिङ पाएका थिए। शनिबार हुने फाईनल प्रतिष्पर्धामा प्रतिष्पर्धी स्कुल व्याण्डहरुले दुइवटा गीत प्रस्तुत गर्नेछन्। फाइनलमा स्कुल व्याण्डले एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गर्नुपर्ने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई) गुरुङले बताए। सोहि प्रस्तुतीका आधारमा बिजेता, उपबिजेतालगायतको घोषणा गरिने उनको भनाई छ।

‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिताको शुक्रबार गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले उद्घाटन गरेका थिए। उनले ईन्टर स्कुल व्याण्ड कम्पिटिसनले पोखराको संगीतको विकासमा सघाउ पुग्ने बताए।  

संघले ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको संघका अध्यक्ष भाई गुरुङले बताए। ‘प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ’उनले भने। उनले विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउन प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ।

प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जज च्वाईस लाईपनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १४ भाद्र २०८१ १८:३१ शुक्रबार

अन्तर विद्यालय व्याण्ड प्रतिश्पर्धा