‘सुन्दरी‘ लघुकथासङ्ग्रह मीठू कुमारी (पाठक) डल्लाकोटीको नवीनतम कृति हो। पेसाले शिक्षक र शैक्षिक प्रशासकको परिचय बनाएकी डल्लाकोटीले २०७५ सालबाट लघुकथा लेख्न थालेको पाइन्छ। विभिन्न समयमा लेखिएका २५ लघुकथा समाविष्ट ‘सुन्दरी‘ लघुकथासङ्ग्रह आकारका दृष्टिले सानो भए पनि अत्यन्त कलात्मक र सुन्दर रचनाहरू समाविष्ट छन्। पाठकको मनमा गहिरो प्रभाव पार्न सक्ने क्षमता राख्ने सुन्दरी लघुकथासङ्ग्रहका लघुकथाहरू विषयका दृष्टिले विविध विषयमा आधारित छन्।
आकारका दृष्टिले अत्यन्त सन्तुलित सुन्दरीका लघुकथाहरू ज्यादै लामाछोटा नभएर समान आकारका छन्। अनमेल विवाहले निम्त्याउने समस्या, वृद्धवृद्धाका जीवनशैली, नयाँ पुस्ताको ग्रामीण जीवनप्रतिको विकर्षण, उचित शिक्षाले बिग्रिएका बालबालिकालाई पनि परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश, डल्लाकोटीका लघुकथामा पाइन्छ।
त्यसैगरी अपाङ्ग भनिएका नै क्षमताका कारण विशेष हुन सक्छन् भन्ने सन्देश यिनका लघुकथाले दिएको छ। बालबालिकाको दुष्टता, नकारात्मक दृष्टि हुनेहरू, नबुझेरै अरूलाई आरोप गर्ने बानी, पारिवारिक सामाजिक समस्या, कोरोनाले निम्त्याएका अनेक अवस्था, नेताहरूको स्वार्थी प्रवृत्ति, जातीय विभेद, गरिबीले थिचिएका बालबालिकाको मनोविज्ञान, पृत्तिक अंशले निम्त्याएको समस्या, अपाङ्गप्रति आफ्नैले गर्ने विभेद, स्वार्थी र जिम्मेवारविहीन सन्तान डल्लाकोटीका कथाको महत्त्वपूर्ण पक्ष र विषय हुन्।
विषयको बिस्तारै उठान गरेर उत्कर्षमा पुर्याउने शैली र अन्त्यमा ‘सम्झना नै कुलको अस्तित्व हो’ जस्ता उत्कर्ष वाक्यमा पुर्याएर कथाको अन्त गर्ने कथाकौशल महत्त्वपूर्ण देखिन्छ। संवाद, र वर्णनात्मक शैली अवलम्बन गर्ने डल्लाकोटी सरल भाव र संरचनाका लघुकथा लेख्न मन पराउँछिन्। थोरै तर शक्तिशाली लघुकथा लेख्ने डल्लाकोटी विशिष्ट सम्भावना भएकी लघुकथाकार हुन्।
प्रकाशित: १३ भाद्र २०८१ १०:१२ बिहीबार