कला

को हर्षित हुँदैछ,को जिउँदो लास बनी जल्दैछ, सुन्दै छु!

मुक्तक

१) मुक्तक

कसका घरमा चुला बले, कसको धुरी बल्दैछ सुन्दैछु

को हर्षित हुँदैछ को जिउँदो लास बनी जल्दैछ सुन्दैछु

ठगहरू सलबलाएका छन् के देश के परदेश यत्रतत्र

फेरि उही बजारमा केकेको हल्ला चल्दैछ सुन्दैछु।

२) मुक्तक

सबैलाई खुसी बनाउन सक्दिनँ,अधिक चाह गर्छन् अचम्म पर्छु

तेरो जस्तो जिन्दगी पो जिन्दगी भन्दै आहा गर्छन् अचम्म पर्छु

हिजो चारै दिशा प्रगति होस् भन्दै आशीर्वाद दिनेहरूले

दुर्भाग्य! मैरै प्रगति देख्नासाथ डाहा गर्छन अचम्म पर्छु।

३) मुक्तक

जसले जेसुकै भनुन् लक्ष्य चुम्न एक धुनमा हिंड्नु हित रहेछ

हरेक परिस्थितिलाई सम्हाल्दै अघि बढ्न सक्नु नै जित रहेछ

आगो, भीरखोला,नदी सागरसँग सधै जोगिनु भन्ने बुझेको मैले

समयले अर्ती दियो एउटा,भयङ्कर जोगिनु त मान्छेसित रहेछ।

४) मुक्तक

सुकर्म गरेका हृदयलाई श्रद्वाले चढाउने फूलपाती छ

जस्ता कोरिएका छन् भाग्यरेखा त्यै मलाई जाती छ

तिम्रा काँडेतार र दुईजिब्रे कुराले त के नै गर्ला खै

धर्ती फाटोस् आकाश खसोस् सामना गर्नै ठूलै छाती छ।

५) मुक्तक

बलेको आगो ताप्ने चिसो मुटु नछाम्ने यस्तै रोस भन्छु

छातीमा भाला रोपेर पनि मुस्कान छर्नै मेरै दोष भन्छु

वल्लोपल्लो पाटो जतिसुकै मेरै खेदो खन्नेहरूको

रामराम! यो मनले सधैभरि यिनकै भलो होस् भन्छु।

प्रकाशित: ३१ श्रावण २०८१ ०८:३९ बिहीबार