कला

सरकार पासपोर्ट बेचेर कमाइरहन्छ, उताबाट बाकसमा लास आइरहन्छ!

मुक्तक

१) मुक्तक

सरकार पासपोर्ट बेचेर कमाइरहन्छ

उताबाट बाकसमा लास आइरहन्छ

समृद्धिका कुरा वीरबलको खिचडी न हो

दास ताली पिट्छन् नेता चिच्याइरहन्छ।

२) मुक्तक

त्यो रूपले मोहनी लगाउन सक्छ

कसैलाई दिवाना बनाउन सक्छ

यति साह्रो शृङ्गार गरेर नआऊ

देखेर ऐना पनि लजाउन सक्छ।

३) मुक्तक

केही देख्नुछ केही भोग्नुछ केही सिक्नु छ

खुसीलाई फैलाउनु छ अहमलाई किच्नु छ

एकैठाउँ भएर नि यसरी अलग भएका हौं

तिमी जितेर पनि हार्छौ मलाई हारेर जित्नुछ।

४) मुक्तक

साथ माग्यो काँध हालें शिखर पुर्‍याइदिएँ

जहाँ हार खायो ढाड बनें शिर उठाइदिएँ

अचेल उसैले मलाई नचिन्ने भएको रहेछ

जसलाई आफू पछि बसेर अघि बढाइदिएँ।

५) मुक्तक

डाँडाबाट खस्नुपर्थ्यो पत्थरमा ठोकिनुपर्थ्यो

चोटहरू सहनुपर्थ्यो बाटो खनिनुपर्थ्यो

अहम् बोकेर खोल्सोमा जाकिएसी कहाँ हुन्छ,

महासागर पुग्नलाई त नदिमा मिसिनुपर्थ्यो।

६) मुक्तक

छन् त मनमा रङ्गिन सपना थियो

बीच बाटोमै यात्रा अन्तै मोडियो

भन्न त सातै जुनी तिम्रै हुँ भन्थी

पैसाले बाटो काट्यो सम्बन्ध सकियो।

७) मुक्तक

अनेकन् स्वार्थ बोकेर उफ्रिएका छन्

अर्कैको भाषा घोकेर उफ्रिएका छन्  

विवेक अर्पित छ मालिकको चरणमा

बुद्धिमा ताल्चा ठोकेर उफ्रिएका छन्।

८) मुक्तक

रिसले भित्तो कोपरिराख म हिंडिरहन्छु

सक्छौ खाल्डो खनिराख म हिंडिरहन्छु

मेरा हरपाइलामा तिमीलाई जलन हुन्छ

कति जल्छौ जलिराख म हिडिरहन्छु।

९) मुक्तक

छातीभित्र नमेटिने खत छ मसँग

दुखे पनि मुस्काउने आदत छ मसँग

तिमी कुन मारको डर देखाइरहेछौ,

चुलेसीमा रेटिएको बिगत छ मसँग।

१०) मुक्तक

रातमा जुनतारा गनेर गुनासो नगर

बेकारमा आएर मनेर गुनासो नगर

म मेरै त हुन सकेको छैन अझैसम्म

तिम्रो हुन सकिन भनेर गुनासो नगर।

प्रकाशित: २५ श्रावण २०८१ ११:२१ शुक्रबार

# Muktak # Muktak sangraha