कला

जीवनपथका आध्यात्मिक चक्र

जीवन विज्ञान, गुरुदेवद्वय, भक्तिभाव, अहोभाव, ध्यान, योग, प्राणायाम निकै सुन्दै आएकी थिएँ, तर प्रत्यक्षरुपमा अनुभव गर्ने अवसर मिलेको थिएन। भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीले त्यो अवसर जुटाइदियो।

पहिलोपटक अन्तर्राष्ट्रिय ध्यान केन्द्र लुम्बिनीमा गत चैतकाे १७ देखि २३ सम्म आयोजना भएको सात दिने विराट चक्र विज्ञानमा ६ हजार जनासँगै बसेर गुरुको सान्निध्यमा क्रिया गर्दा बडो आनन्दको अनुभूति भयो।

जीवनचक्र सक्रिय गराउनका लागि सर्वप्रथमतः हामीले सातवटा चक्रहरूको सैद्धान्तिक तथा प्रयोगात्मक अध्ययन गरी बुझ्न जरुरी रहेछ। जीवनका चक्रीय प्रणालीअन्तर्गत हामीले सप्त चक्रको जानकारी हासिल गर्‍यौंं। यी सात चक्रको जागरणबाट ऊर्जा विकास भई जीवनलाई सकारात्मक बाटोमा लैजान उत्प्रेरित गर्छ।

मूलाधार चक्र

पहिलो चक्र रहेको छ-मूलाधार चक्र। यसअन्तर्गत हामीले कर्मका कुरालाई जोड्छौं, ज्ञान र साधनाका कुरा अध्ययन गर्छौं। ज्ञान र साधना दुवैलाई सँगै लानुपर्छ। त्यस्तै हामीले सदैव सात्विक, ताजा र व्यवस्थित भोजन सेवन गर्नुपर्छ।

हामीले अस्वस्थ खाना सेवन गर्नु हुँदैन अनि कुनै पनि काम सुरु गरेपछि त्यो काम पूरा गरेर छाड्नुपर्छ। अधुरो काम खतरनाक हुन्छ। कर्मयोगी हुन जरुरी छ, फलयोगी होइन। कर्मयोगी भएर अगाडि बढ्नु नै जीवनको सही बाटोतर्फ डोरिनु हो।

स्वाधिष्ठान

दोस्रो चक्र हो स्वाधिष्ठान। यसअन्तर्गत ज्ञान, कर्म र भक्तिसँग जोडिएर अध्ययन गर्छौं। ज्ञानी र कर्मयोगी मानिस सधैं खुसी हुन्छ। यसविपरीत अज्ञानी र अकर्मयोगी मानिस सधैं दुःखी अनि गुनासो गरिरहने प्रकृतिको हुन्छ। त्यसैले जीवनमा खुसी रहने अभ्यास गर्नुपर्छ। अरूलाई भक्तिभाव र प्रेमपूर्ण व्यवहार गर्नुपर्छ। आफूसँग जे छ, त्यसैमा खुसी रहनु र अरूसँग आफ्नो तुलना नगर्नु नै यस चक्रको मुख्य बोध रहन्छ।

मणिपुर

तेस्रो चक्र हो मणिपुर। यसको मूल ज्ञान भनेको इच्छा शक्ति हो। जीवनमा योगाभ्यास, प्राणायम र ध्यान जरुरी कुरा हो। योगी व्यक्ति ध्यानी र ज्ञानी पनि हुन्छ। म जीवनका मूल विषयमा स्पष्ट लक्ष्य निर्धारण गर्छु, म मेरो मणिपुर चक्रमा लुकेको ऊर्जालाई पूर्ण रूपमा जागृत गरेर उज्यालो जीवन जिउनेछु जीवनविज्ञान यस चक्रका प्रमुख आयाम हुन्।

अनहद

चौथो चक्र हो अनहद। यसअन्तर्गत भावनाको क्षेत्र अध्ययन गरिन्छ। यसमा प्रेम, आकर्षण र घृणा अनि विकर्षणका कुरा अध्ययन हुन्छ। हामीले मातापितालाई सधैं प्रेम गर्नुपर्छ। मातापिताको चरणमा पर्ने, पाउ ढोग्ने मानिसलाई सधैं राम्रो हुन्छ।

प्रेम आफैंमा विजय हो, प्रेम बन्धन होइन, प्रेम स्वतन्त्रता हो। प्रेम मुक्तिमोक्ष हो। प्रेम कहिल्यै अपवित्र हुँदैन। प्रेम मोह होइन। आफूलाई प्राथमिकतामा राख्नु राक्षसी प्रवृत्ति हो भने अरूलाई सहयोग गर्नु ठुलो धर्म हो।

विशुद्धि

पाँचौं चक्र रहेको छ विशुद्धि। यस चक्रमा विचारको क्षमतालाई नै प्राथमिकता मानिन्छ। मानिसले जीवनमा जुन काममा इच्छा छ, त्यसमा नै हात हाल्नुपर्छ। इच्छा विपरीत काम गरियो भने सफतला हासिल गर्न मुस्किल पर्छ।

यसमा प्रमुख तीन नियम छन् -पहिलो म जीवनको कुनै पनि विषयमा आफ्नो अध्ययन, चिन्तन र मनन गर्नेछु र त्यसका माध्यमबाट आफ्ना विचार विकास गर्दै अभिव्यक्त गर्छु। दोस्रो म हरेक काम नयाँ ढंगले गर्ने छु र यसका माध्यमबाट सिर्जनशीलता, नवीनता ल्याउने छु। तेस्रो म हरेक विषयमा गहनतम गहिराइमा पुगेर अध्ययन गर्छु र ज्ञान उपलब्ध गर्छु।

आज्ञा

छैटौं चक्र हो आज्ञा। आज्ञाको अर्थ आदेश हो। यसमा मानिसले कुनै पनि विषय वा काममा संकल्प गर्नुपर्छ अर्थात् कुनै पनि काम पूरा गर्छु भन्ने संकल्प राखेपछि त्यो काम पूरा गरेरै छाड्नुपर्छ। संकल्प एकैपटक ठुलो हुनुपर्छ भन्ने छैन। जे कुरा जान्नु थियो त्यो नजान्नु अज्ञानता हो, जे बन्नु थियो त्यो नबन्नु पाप हो। हामीले आज्ञा चक्रलाई सक्रिय राख्नुपर्छ। हरेक दिन न्यूनतम ७२ मिनेट ध्यान, प्राणायम, योगका लागि छुट्याउनुपर्छ। हामीले निरन्तर र पूर्ण रूपमा सक्रिय गरेर अरूको आज्ञा चक्रलाई सक्रिय गर्नुमा मद्दत गर्नुपर्छ।

सहस्रार

सातौं वा अन्तिम चक्र रहेको छ-सहस्रार। यस चक्रमा जानकारी, अनुभव र बोध प्रमुख हुन्। सहयोग, सम्मान र प्रशंसा लिने होइन, दिने चिज हुन्। हामीभित्र रहेको राक्षसी प्रवृत्ति भनेको अहंकार नै हो। अहंकारले मानिसलाई पतन गराउँछ। सहस्रार चक्र बलियो नहुने मानिसहरू सधैं नास्तिक हुन्छन्।

विराट चक्र विज्ञानअन्तर्गत प्राप्त विभिन्न चक्रका लयबद्ध ज्ञानले ज्ञानको ढोका फराकिलो बनाउँछ। भोलिका पुस्तालाई गणित, अंग्रेजी र विज्ञान मात्र होइन, जीवनोपयोगी विज्ञानका साथै योग, ध्यान, प्राणायम पनि सँगसँगै सिकाउनु जरुरी छ। रमेश नेपालका शब्द र शिशिर योगीको स्वरमा रहेको यस गीतजस्तै बनाउनुपर्छ जीवन:

हाँसाैं हाँसौं भो,

मलाई नाचौं नाचौं भो

एउटा अर्को नयाँ जीवन

बाँचौं बाँचौं भो।

प्रकाशित: २९ वैशाख २०८१ ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App