कला

बाजीमाथ

लघुकथा

“हैन, के मुर्ख्याइँ गरेको तिमीहरूले?’’

“देखेनौ धानको ब्याड बनाएको।’’

“त्यही देखेर त भनेको। यस्तो मरुस्थलमा पानीको जोहो कसरी गर्छौ? न त नजिकै खोलानाला छ न यो ठाउँमा कहिल्यै पानी पर्छ।’’

उनीहरूले विश्वासको साथ भने,“भरे त जसरी नि पानी पर्छ।’’

एकपटक फेरि मर्त्यलोक घुम्न आएका महादेवलाई किसानहरूको मूर्खताप्रति हाँसो लाग्यो। किसानहरूको दृढ विश्वास र महादेवको अविश्वासको वतावरणले फेरि बाजी अवस्था सिर्जना भयो।

अघिल्लो यात्रामा किसानसँग नराम्रो हार व्यहोरेका महादेवले आफ्नो हारको विश्लेषण गरे। यो पटक जुनकिरी, भ्यागुतो र इन्द्र सबैलाई निषेधित आदेश दिए। आफू नहार्नेमा केही विश्वस्त भए तर पनि मनको अन्तरकुन्तरमा अविश्वासको टुक्रा रहिरह्यो। उनी नजिकैको पाटीमा बसेर ध्यानमग्न भए।

केही समयपछि किसानहरूको हर्षोल्लासको आवाजले उनको ध्यान भङ्ग भयो। दर्के झरीमा किसानहरू मस्त झुमिरहेका थिए। बिस्मातमा महादेव किसानहरू नजिकै पुगेर सोधे, “यो कसरी सम्भव भयो?’’

विजयको शङ्खनादमा उनीहरूको आवाज आयो,“यो हाम्रो कृत्रिम वर्षा (क्लाउड सीडिङ)को सफल प्रयोग थियो।’’

प्रकाशित: १५ चैत्र २०८० १३:३५ बिहीबार

अक्षर