कला

अधुरो सपना बोकेको नयाँ मुलुकको कथा

पुस्तक

कृष्णराज सर्वाहारीको २०५९ सालमा प्रकाशित उपन्यास ‘गन्तव्य’ले पनि बुह्रान बसाइँसराइको कथा भन्छ। करिब १५ वर्षअघि अजित लामिछाने र श्रीराम दाहालले निर्माण गरेको चलचित्र ‘बुह्रान’ले पनि बुह्रान बसाइँसराइको कथा भन्छ। महानन्द ढकालको ‘बुह्रान’ले पनि बुह्रान बसाइँसराइकै कथा भन्छ।

तर, साहित्यकलाका यी तीनवटै कृतिको केन्द्रीय कथ्य फरक छ। ‘गन्तव्य’मा एक वर्ग र राज्यसंरचना मिलेर सिंगो थारु समुदायलाई उठ्न नदिन कसरी भूमिका खेले भन्ने कुरा बुझाउन खोजिएको छ। चलचित्र ‘बुह्रान’ले थारु समुदायले दाङ छोडेर बुह्रान सर्नुपर्नाका कारणको झल्को दिन खोजेको छ। महानन्दको ‘बुह्रान’ले सर्वाहारीको गन्तव्यको कथ्य एवम् लामिछाने र दाहालको ‘बुह्रान’को कथ्यलाई पनि आफ्नै शैलीमा अंगीकार गर्छ। तर, ढकालकृत बुह्रानको सबैभन्दा चुरो कुरो चाहीं बुह्रानमा बस्ने थारु र पहाडी समुदायबीचको सम्बन्धको कथाका अँध्यारा र उज्याला पक्ष एवम् अधिकारका लागि भएका आन्दोलनको समानान्तर र वस्तुनिष्ठ मूल्यांकनको पर्यन्त हो।

‘बुह्रान’ थारु समुदायका लागि सपनाको बिम्ब पनि हो र आफ्नो थातथलो खोसिएपछि बाध्यतावस स्विकार्नुपरेको भूगोलको नाम पनि हो,’ ठ्याक्कै शब्दशः यस्तै नभने पनि बुह्रानको विमोचनको दिन मञ्चबाट सुशील चौधरीले यस्तै भन्नुभएको थियो। ठोस रूपमा बुह्रान भनेको नयाँ मुलुक भनेर चिनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको भूभाग हो। यो भूभाग अनेक ठाउँबाट बसाइँ सरी आउनेबाट आवाद भएको भूमि हो। समुदायका रूपमा बुह्रानले बसाइँ सरी आउनेलाई हेर्ने पहाडी र थारु समुदायको नजरबाटै कथाको पुल बाँध्छ। तर, दुवै समुदायका बसाइँसराइ र त्यसपछिको दुःखका समान कथाव्यथा भन्छ। यसो गर्दै गर्दा थारु समुदायप्रति अपेक्षित सहानुभूति प्रकट गर्दै त्यस समुदायमाथि ‘अन्याय गर्ने कुनै निश्चित समुदाय होइन’ भन्ने भाष्यलाई स्थापित गर्नतिर लेखकले विशेष मिहिनेत गरेका छन्।

पहाडी समुदायलाई पूर्णतया अन्यायी नदेखाउन लेखकले पार्वती आमाको सहारा लिएका छन्। पार्वती एक आदर्श पात्रका रूपमा उपन्यासको आधा हिस्सा ओगट्छिन्। उपन्यासकारले अर्का पात्र माइला थारुलाई पनि आदर्श पात्रकै रूपमा कथाको आधा भार बोकाएका छन्। माइला र पार्वतीको सामाजिक अन्तर्सम्बन्धको कथाबाट लेखकले थारु र पहाडी समुदायबीचको थिचोमिचो र अन्यायपूर्ण सम्बन्ध मात्रै नभई सहकार्यको सम्बन्ध पनि उजागर गर्न खोजेका छन्। एउटै परिवारजस्तो बसेका माइला र पार्वती भूमिगत विद्रोहकालमा सत्ता पक्ष र विद्रोहीका रूपमा बाँडिनुपरेको छ। पार्वती यतिसम्म आदर्श पात्र हुन् कि जुन विद्रोहले उनलाई गाउँबाट सहर पस्न बाध्य बनायो त्यही विद्रोहमा सहभागी माइलाको छोरा सोमलाल शान्ति प्रक्रियामा क्यान्टोनमेन्टबाट फर्किसकेपछि भविष्यको सल्लाह लिन पार्वती आमाकै शरणमा पुग्छ।

पार्वतीको व्यवहार देखेर ‘पहाडियाहरू पनि यस्ता हुन्छन् र?’ भन्ने लागिरहन्छ माइला थारुको परिवारलाई किनकि दाङको आफ्नो पुर्ख्याैली थातथलो छोड्न बाध्य बनाउने पनि पहाडी समुदायकै जमिनदार हुन्। उनीहरू अनेक पहाडीकहाँ कमैया बसेका छन्, बुक्रही बसेका छन्। आफूमाथिको व्यवहार सम्झिँदा मात्रै पनि निधारबाट पसिना निस्कने र सास अड्किने अनेक भोगाइ उनीसँग छन्।

सपना, संघर्ष र स्वाभिमान गरी तीन खण्डमा विभक्त गरी कथा भनिएको उपन्यास बुह्रानको पहिलो खण्डमा माइला थारु अन्यायबाट भागेर दाङबाट बुह्रान पुग्दाको कथा, उनको संघर्षको कथा, बुह्रानमा देखेका सुखद दिनको सपना, ती सपनाका लागि भएको ऐतिहासिक कन्द्रा आन्दोलन र आन्दोलनको अधुरो उपलब्धिको कथा छ। दोस्रो खण्डमा पार्वतीको बर्दियामा बसाइँ सर्दाको कथा, उनको संघर्षका साथै माइला थारुसँगको सहकार्यको कथा छ। अन्तिम खण्डमा थारु समुदायले अन्याय विरुद्ध र अधिकार प्राप्तिका लागि गरेको कमैया मुक्ति आन्दोलन, भूमिगत विद्रोह र थरुहट आन्दोलनको प्रसङ्ग छ।

सर्वराजको घरमा कमैया बसेको माइला थारुको छोरा सोमलालले आफ्नै मालिककी छोरीसँग बिहे गरेको छ। उसले कमैया मुक्ति आन्दोलनको पनि नेतृत्व गर्छ। आन्दोलनको उपलब्धिस्वरूप उसले पाउँछ पाँच कठ्ठा जमिन। तर त्यो उपलब्धि पनि अधुरो थियो। ‘बासभन्दा गास ठुलो रहेछ। सरकारले दिएको जग्गाले कसैको गर्जाे टरेन। कमैया बस्न हरायो। दुःख हराएन।’ (पेज नं. २८०) स्वाभिमानको भोकमा कमैया मुक्ति आन्दोलन, भूमिगत विद्रोह र अन्तमा थरुहट आन्दोलमा अग्रपंक्तिमा खटिएको सोमलाललाई उपन्यासकारले अधिकारको आन्दोलनमा होमिएको एक आजीवन विद्रोही प्रतिनिधिका रूपमा देखाउन खोजेका छन्।

कमैया मुक्ति आन्दोलन र भूमिगत विद्रोहमा खटिएको सोमलाल अन्तमा ‘फेरि कुटो, कोदालो र खेतीपातीमा फर्कियो। पहिलेजस्तो काम गर्न सजिलो थिएन। शरीरबाट गोलीका छर्राहरू निकाल्नुपर्ने थियो।’ (पेज नं. ३०६) यो पंक्तिले ती मानिसको कथा भन्छ जसले विभिन्न चरणका आन्दोलनमा रगत दिए तर अन्त्यमा साविकभन्दा झन् ‘बुरा हाल’मा बाँच्न विवश छोडिए।

आन्दोलनसँग कुनै नाता साइनो नभएका पार्वतीका छोरा सागर भने सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष बन्छन्। आन्दोलनमा रगत बगाएको सोमलाल आयोगको जिल्लाको सदस्य बन्छ। सोमलालले सदस्य नियुक्त गरिएको पत्र च्यात्दै भन्छ, ‘यो पत्रले हाम्रो बुह्रानको सपना पुरा हुन सक्दैन। मैले गरेको संघर्षको उपलब्धि यो हुनै सक्दैन।’ (पेज नं. ३२४) उपन्यासले विभिन्न चरणमा भएका आन्दोलनमार्फत थारु समुदायको जीवनस्तरमा आएको उपलब्धिको हिसाब खोजेकोे छ। त्यो हिसाब सुखद छैन।

उपन्यास पढिसक्दा उपन्यासकार एउटै उपन्यासमा अनेक कुरा भन्न हतारिँदा कतिपय चाखलाग्दा र महत्व राख्ने विषयले अझ विस्तार र गहिराइ पाउन सकेनन् कि भन्ने लागिरह्यो। विशेष गरी थारु समुदायको अधिकारका लागि भएका आन्दोलनको जग मानिने कन्द्रा आन्दोलनलाई उपन्यासकारले चार पन्नामा सीमित गरिदिएका छन्। यहाँ अझ बढी गहिरिइदिएको भए भन्ने लाग्यो पढिसक्दा। कमैया मुक्ति आन्दोलनको प्रसङ्ग सुरु हुँदा अनेक योद्धाहरू पात्र भएर आउँछन् कि भनेर उत्पन्न अपेक्षा पूरा भएन।

माओवादी नेतृत्वको सशस्त्र विद्रोहको अघिपछि कहीं पनि माओवादी नजोडीकन भूमिगत विद्रोह मात्रै भन्न किन बाध्य भएका होलान् लेखक? ‘योग्य र सक्षम थारुहरूले बुद्धिको प्रयोग गरेनन्। नाँचगान तथा खानपिनमा मस्त रहिरहे। बुद्धिमा भन्दा बलमा जोड दिए। त्यसैले थारु पछाडि परे।’ (पेज नं. ३१६) उपन्यासको संवाहक पात्र निङ्मामार्फत भनाइएको यो निष्कर्षको झल्को उपन्यासका कथाप्रसङ्गले पुष्टि गरेको महसुस भएन।

निङ्माको आवश्यकता कथावस्तुको निचोड पस्किनबाहेक थिएन कि भन्ने पनि लाग्यो। उपन्यासको मूल कथावाचक उपन्यासका लेखक स्वयम् हुन्। निङ्मा बिचौलियाजस्तो मात्रै बनेकी छन्। उनले कसरी उपन्यास लेखिन् भन्ने वर्णन आवश्यक थिएन कि? निङ्माले बेलाबेलामा पस्किरहने कथावस्तुको निचोडले पाठकको निचोड निकाल्न पाउने स्वतन्त्रतामा हस्तक्षेप गर्‍यो कि? उपन्यास विवरणात्मक शैलीमा लेखिँदा मनछुने अनुभूतिजन्य वाक्यहरू पढ्न पाइएन र पात्रको मनोविज्ञान बुझ्नै कठिन भयो।

थारु समुदायका कतिपय रीतिरिवाज, चालचलन र संस्कृतिको चर्चा भने उपयोगी लाग्यो। संवादमा पात्रहरूको भाषा र लवजको प्रयोगमा मिहिनेत छ। चरित्रचित्रणमा पात्रलाई आदर्श मात्रै बनाउँदा उनीहरूलाई सम्झिराख्न उनीहरूको कर्मबाहेक पाठकसँग धेरै कुरा छैनन्। कतिपय प्रसङ्ग बारम्बार दोहोरिएर आइराख्दा पाठकलाई सबै पन्ना अद्योपान्त पढ्नु बाध्यता नहुन पनि सक्छ। कथाको चरमोत्कर्ष भेट्न गाह्रो, भेटे पनि तिनले भावनात्मक आत्मीयता अनुभूति गराउन सकेनन्।

समग्रमा, तुलनात्मक रूपमा कम लेखिएको बुह्रानमा बस्ने थारु र पहाडी समुदायको सहकार्यको सामाजिक पाटो उपन्यासले सतहमा ल्याएको छ, बुह्रानका अधुरा सपनाको हालखबर भनेको छ। मुख्य कुरा बुह्रानलाई सामाजिक र राजनीतिक पाटोबाट उधिनेको छ र चर्चामा सामेल गराइदिएको छ।

प्रकाशित: १८ चैत्र २०७९ ०४:०५ शनिबार

अक्षर