निर्वाचन विशेष

गाउँ फर्किएको मतको प्रश्न: हाम्रो पाँच वर्ष कहाँ गयो?

सिंजा क्षेत्रका मतदाता गाउँ फर्किँदै। तस्बिर: गोल्डेन बुढा

दसैं–तिहारपछि रोजगारीका लागि गाउँ छाडेका हातहरू यतिबेला फेरि जुम्ला फर्किएका छन्। फर्किने कारण केवल मतदान होइन, पाँच वर्षअघि गरिएका वाचा र आजको यथार्थको हिसाब खोज्नु पनि हो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन १ गतेदेखि नै गाउँ–गाउँमा मतदाताको चहलपहल बढेको छ।

सिंजा गाउँपालिकाका हरिबहादुर बुढा भन्छन्, ‘पहिले चुनाव आउँदा उत्साह बढी हुन्थ्यो, अहिले प्रश्न धेरै छन्।’ उनका अनुसार मजदुरीका लागि बाहिर गएका युवा मतदान गर्न फर्किएपछि गाउँ चलायमान देखिए पनि भरोसा अझै मौन छ।

मतदाता फर्किएसँगै उम्मेदवारहरू घरदैलोमा सक्रिय छन्, दलहरूले प्रचार तीव्र पारेका छन्। तर यसपटक गाउँका आँगनमा नाराभन्दा असन्तोषका स्वर बलिया छन्। ‘पहिले महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्रै थिए,’ बुढा भन्छन्, ‘अहिले युवाहरू सोधिरहेका छन्— हाम्रो पाँच वर्ष कहाँ गयो?’

सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिका समेटिएको यो क्षेत्र कालापहाडको छायाँमा बाँचेको भूगोल हो। अधिकांश परिवारको जीविका भारतमा गरेको मजदुरीमा टिकेको छ। हिङ, सिलाजित, माला र गलैंचा बोकेर सीमापारि जानु यहाँका धेरैका लागि बाध्यता बनेको छ।

२०७९ सालको संघीय निर्वाचनमा यही बाध्यता अन्त्य गर्ने आश्वासनसहित ज्ञानेन्द्र शाही विजयी भएका थिए। ‘अब सिंजाका मतदाताले भारत जानुपर्दैन,’ भन्ने उनको भनाइ अझै गाउँलेको स्मृतिमा ताजा छ। तर त्यसपछिका वर्षमा रोजगारी, सडक, शिक्षा र स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएको स्थानीयको गुनासो छ। उनी राजतन्त्र पक्षधर कार्यक्रममै बढी केन्द्रित भएको आरोप पनि लाग्ने गरेको छ।

‘हामीले सांसद छानेका थियौं, नारा लगाउने कार्यकर्ता होइन,’ एक स्थानीयले भने, ‘हामीलाई भारत नजानु पर्ने बनाउने नेता चाहिएको थियो।’

यसै असन्तोषका बीच शाही पुनः उम्मेदवार बनेका छन्। सिंजा क्षेत्रबाट प्रतिनिधिसभाका लागि पाँच जना प्रतिस्पर्धामा छन्, नेपाली कांग्रेसका दिपबहादुर शाही, प्रगतिशील लोकतान्त्रिकका मनऋषी धिताल, नेमकिपाका बिर्खबहादुर रावत, नेकपा माओवादी केन्द्रका बिर्खबहादुर शाही र राप्रपाका ज्ञानेन्द्र शाही।

उम्मेदवार एउटै भूगोलका भए पनि मतदाताको मन विभाजित देखिन्छ। हिमा गाउँपालिकामा ६ हजार ६ सय ९५, सिंजामा ८ हजार ४ सय ७७ र कनकासुन्दरीमा ९ हजार ४ सय ४१ मतदाता छन्। तीनै स्थानीय तहमा साझा अपेक्षा एउटै सुनिन्छ, भाषण होइन, परिणाम।

स्थानीय शेरबहादुर बुढा भन्छन्, ‘हामी मजदुरी गरेर बाँचिरहेका छौं। तर छोरानातिको भविष्य यहीँ बनोस् भन्ने चाहना छ। विकास गर्ने र सबैलाई समेट्ने नेता चाहिएको छ। काम नगर्नेले यसपटक मत पाउँदैन।’

जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जिल्लामा ७१ हजार ७ सय ३९ मतदाता छन्। ८५ मतदानस्थलमा १ सय १० मतदान केन्द्र तोकिएका छन्। निर्वाचन शिक्षा कार्यक्रम तीव्र पारिएको छ र दैनिक पाँचदेखि १० बस मतदाता बोकेर जिल्ला भित्रिरहेका छन्।

तर सिंजाको यो चुनाव केवल व्यवस्थापन र सुरक्षाको विषय होइन। यो भरोसाको पुनः परीक्षा हो, विशेषगरी ठूला सपना देखाएर ठोस काम नगरेको आरोप खेपिरहेका उम्मेदवारका लागि।

यसपटक गाउँ फर्किएको मत मौन छैन। त्यो मतले सोधिरहेको छ, पाँच वर्षमा के गरियो? र जवाफ नदिनेहरूका लागि यो चुनाव सजिलो देखिँदैन।

प्रकाशित: १२ फाल्गुन २०८२ १९:५६ मंगलबार