प्रतिनिधिसभा निर्वाचनका लागि जुम्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्। भौगोलिक रूपमा दुर्गम मानिने क्षेत्र समेट्दै दुई अस्थायी सहित १ सय १० वटै मतदान केन्द्रमा आवश्यक तयारी पूरा भएको निर्वाचन प्रशासनले जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट पठाइएका मतपत्र, मतपेटिका र अन्य सामग्री लिएर खटिएका कर्मचारी सोमबारसम्म आ–आफ्नो केन्द्रमा पुगेका हुन्। “निर्वाचनका लागि चाहिने सबै सामग्री सुरक्षित रूपमा केन्द्रसम्म पुर्याइएको छ,” उनले बताए।
मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार मतदान अधिकृतको नेतृत्वमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि सबै केन्द्रमा पुगिसकेका छन्। मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र मतपत्रबाहेकका ५१ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालय जुम्लाबाट बुझाइएको उनले जानकारी दिए।
सुरक्षा वर्गीकरण
जिल्लामा ८५ मतदानस्थलअन्तर्गत १ सय १० मतदान केन्द्र छन्। तीमध्ये ५२ अति संवेदनशील, २५ संवेदनशील र २१ सामान्य श्रेणीमा वर्गीकृत छन्। मतदानस्थलतर्फ ५२ अति संवेदनशील, १८ संवेदनशील र १५ सामान्य छन्।
भौगोलिक विकटता, सञ्चार पहुँच, सडक सञ्जाल, खानेपानी, विद्युत् अवस्था र भौतिक संरचनाजस्ता आधारमा सुरक्षा वर्गीकरण गरिएको प्रशासनले जनाएको छ।
६४८ कर्मचारी परिचालन
निर्वाचन सम्पन्न गराउन जुम्लामा ६ सय ४८ कर्मचारी परिचालन गरिएको छ। प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक कार्यालय सहयोगी खटाइएको छ। केन्द्रस्तरमै २ सय २० कर्मचारी परिचालित छन्।
मतदाता संख्या ७१ हजार ७३९
जिल्लामा कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ छ। तीमध्ये ३४ हजार २ सय ८० महिला र ३७ हजार ४ सय ५९ पुरुष छन्।
स्थानीय तहअनुसारको मतदाता विवरण
हिमा गाउँपालिका – ६,६९५ (पुरुष ३,५०९ / महिला ३,१८६)
सिंजा गाउँपालिका – ८,४७७ (पुरुष ४,५३८ / महिला ३,९३९)
कनकासुन्दरी गाउँपालिका – ९,४४१ (पुरुष ५,०६५ / महिला ४,३७६)
गुठिचौर गाउँपालिका – ६,९४३ (पुरुष ३,६१६ / महिला ३,३२७)
चन्दननाथ नगरपालिका – १२,९४१ (महिला ६,५३६ / पुरुष ६,४०५)
तातोपानी गाउँपालिका – ९,८३८ (महिला ४,६७७ / पुरुष ५,१५७)
तिला गाउँपालिका – ८,४६६ (महिला ३,९९४ / पुरुष ४,४७२)
पातारासी गाउँपालिका – ८,९४२ (महिला ४,२४५ / पुरुष ४,६९७)
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ६८ हजार ६ सय ३८ मतदाता रहेकामा यसपटक ३ हजार १ सय १ नयाँ मतदाता थपिएका छन्।
कडा सुरक्षा प्रबन्ध
सुरक्षा विश्लेषणका आधारमा १ हजार ३ सयभन्दा बढी नेपाल प्रहरी, ८ सय ७४ निर्वाचन प्रहरी, ४ सय सशस्त्र प्रहरी बल, ९५ शस्त्र निर्वाचन प्रहरी बल तथा आवश्यकताअनुसार नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए।
निर्वाचनका लागि प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र ल्याइएको छ। एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, पहिलो तहमा निर्वाचन प्रहरी, दोस्रो तहमा सशस्त्र प्रहरी बल र बाहिरी घेराबाट नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाइएको छ।
प्रकाशित: १८ फाल्गुन २०८२ २०:४७ सोमबार