निर्वाचन विशेष

देशभर लहर चले पनि जुम्लामा देखिएन रास्वपा, विनिताको जमानत जफत

देशका धेरै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ राजनीतिक लहर सिर्जना गरिरहँदा जुम्लामा भने त्यो लहर मतमा रूपान्तरण हुन सकेन। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाकी उम्मेदवार विनिता कठायतले सदर मतको न्यूनतम १० प्रतिशत पनि प्राप्त गर्न नसक्दा जमानतसमेत जोगाउन असफल भएकी छन्।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार यस निर्वाचनमा प्रतिस्पर्धामा रहेका १० उम्मेदवारमध्ये ६ जनाले आवश्यक मत कटाउन नसक्दा जमानत जफत भएको छ। निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार गणना भएको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ।

जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कँडेलका अनुसार जुम्लामा खसेको ४० हजार ८ सय ७८ मतमध्ये १ हजार ७ सय ५ मत बदर भएको थियो भने ३९ हजार १ सय ७३ मत सदर भएको थियो। सो आधारमा उम्मेदवारले कम्तीमा ३ हजार ९ सय १७ मत ल्याउनुपर्ने थियो।

तर, रास्वपाकी कठायतले ४ सय २१ मत मात्रै प्राप्त गरिन्। यस्तै नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावतले ४ सय मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले १ सय १३ मत, नेकपा (माओवादी) का बिर्खबहादुर शाहीले ७० मत, नेपाल जनता पार्टीका रनिल विक्रम शाहीले ४३ मत र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १४ मत प्राप्त गरेपछि उनीहरूको जमानत जफत भएको हो।

निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) १४ हजार ८ सय १६ मतसहित विजयी भएका छन्। उनले नेकपाका उम्मेदवार नरेश भण्डारीलाई ३ हजार १ सय ८१ मतान्तरले पराजित गरेका हुन्। भण्डारीले ११ हजार ६ सय ३५ मत प्राप्त गरेका थिए।

त्यसैगरी नेपाली कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १ सय ४३ मत प्राप्त गरे भने नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५ सय १८ मत ल्याए।

जिल्लामा कुल ७१ हजार ७ सय ३९ मतदाता रहेकामा प्रत्यक्षतर्फ ४० हजार ८ सय ७८ मत खसेको थियो। समानुपातिकतर्फ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) १० हजार २ सय २ मतसहित पहिलो दल बनेको छ। नेपाली कांग्रेसले ९ हजार ३ सय ६० मत प्राप्त गर्दै दोस्रो स्थान लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ६ हजार ५ सय ५२ मतसहित तेस्रो स्थानमा पुगेको छ।

त्यसैगरी नेकपा एमालेले ६ हजार ६० मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार १ सय १८ मत र नेपाल मजदुर किसान पार्टीले १ हजार ४ सय २१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।

जिल्लाभरका १ सय १० मतदान केन्द्रमा मतदान सम्पन्न भएको थियो। कुल मतदातामध्ये ४० हजार ८ सय ७८ जनाले मतदान गरेका थिए।

प्रकाशित: २५ फाल्गुन २०८२ ११:१४ सोमबार