निर्वाचन विशेष

ताप्लेजुङका ९ स्थानीय तह मध्ये ५ गठबन्धन र ४ मा एमालेले कार्यपालिका बनाउन सक्ने

ताप्लेजुङका ९ मध्ये ५ स्थानीय तहमा गठबन्धन र ४ तहमा एमाले एक्लैले कार्यपालिका बनाउन सक्ने भएको छ।  

गठबन्धनले फुङलिङ नगरपालिकासहित मिक्वाखोला गाउँपालिका, मैवाखोला गाउँपालिका, फक्ताङलुङ गाउँपालिका र सिरिजङ्गा गाउँपालिकामा कार्यपालिका गठन गर्न सक्ने बहुमत जनप्रतिनिधि जितेको छ। 

एमालेले मेरिङदेन गाउँपालिका,आठराइ त्रिबेणी गाउँपालिका,पाथीभरा याङवरक गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा एकल रुपले कार्यपालिका गठन गर्न सक्ने गरी जनप्रतिनिधि जितेको छ। स्थानीय तहमा कार्यपालिका अन्तर्गत गाउँपालिकामा गाउँ कार्यपालिका र नगरपालिकामा नगर कार्यपालिका हुन्छन्। गाउँपालिका र नगरपालिकाको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने जिम्मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाको हुन्छ। 

नगरमा नगरप्रमुख र गाउँपालिकामा अध्यक्षको अध्यक्षतामा गाउँ कार्यपालिका गठन हुन्छ। जसमा उपप्रमुख, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष,निर्वाचित महिला सदस्य भित्रबाट नगरपालिकाको हकमा ५ जना र गाउँपालिकाको हकमा ४ महिला सदस्य र सम्वन्धित स्थानीय तहको मतदाताभित्रबाट दलित वा अल्पसंख्यकमध्ये नगरपालिकामा ३ र गाउँपालिकामा २ जना कार्यपालिका सदस्य चयन हुनेछन्। स्थानीय तहको निर्वाचनको नतिजा आएको १५ दिनपछि नगर तथा गाउँ सभाका सदस्यहरूले कार्यपालिका चयन गर्न सक्ने व्यवस्था रहेको छ।  

जिल्ला निर्वाचन कार्यालयको तथ्याङक अनुसार २७ जना प्रत्यक्ष निर्वाचित हुने आठराइ त्रिबेणी गाउँपालिकामा एमालेले २१,काँग्रेसले ५ र माओवादी केन्द्रले १ स्थानमा बिजयी प्राप्त गरेका छन्। यिनै निर्वाचित जनप्रतिनिधिले कार्यपालिकामा जाने ४ महिला सदस्य र पालिकाभित्रका मतदाता बाट दलित वा अल्पसंख्यकमध्ये २ जना गरी ६ जना कार्यपालिका सदस्य चयन गर्नेछन्। 

प्रत्यक्ष निर्वाचित ३७ सदस्यीय जनप्रतिनिधि रहेको फक्ताङ्लुङ गाउँपालिकामा काँग्रेस र एमालेले समान १२–१२,माओवादी केन्द्रले ८ र ५ जना स्वतन्त्र निर्वाचित जनप्रतिनिधि छन्। यहाँ गठबन्धन (काँग्रेस,माओवादी र नेकपा एस) ले कार्यपालिका गठन गर्न सक्ने देखिएको छ। प्रत्यक्ष निर्वाचित ५७ जना जनप्रतिनिधि रहेको फुङ्लिङ नगरपालिकामा एमालेले २४,काँग्रेसले २२,माओवादी केन्द्रले १० र नेकपा एसले १ जनप्रतिनिधि जितेका छन्। बहुमत सदस्य गठबन्धन तिर भएकोले फुनपाको कार्यपालिका गठन गठबन्धन पक्षले गर्ने निश्चित छ।  

२७ जना प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि भएको मिक्वाखोला गाउँपालिकामा एमालेले ११,काँग्रेसले १० र माओवादी केन्द्रले ६ जना जितेका छन्। त्यहाँ पनि गठबन्धनले नै कार्यपालिका बनाउन बहुमत पुग्छ। ३२ सदस्यीय प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि रहेको मेरिङ्देनमा एमालेका १७,काँग्रेसका १४ र नेकपा एसका १ जना जना जनप्रतिनिधि छन्। त्यहाँ एमालेले एकल रुपमा कार्यपालिका गठन गर्न सक्ने अवस्था देखिएको छ। 

मैवाखोलामा गठबन्धन पक्षलाइ कार्यपालिका गठन गर्न सुबिधाजनक बहुमत छ। ३२ सदस्यीय प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुने मैवाखोलामा काँग्रेस र माओवादी केन्द्रले समान ११–११ र एमाले र नेकपा एसले समान ५–५ सदस्यीय जनप्रतिनिधि जितेका छन्। ३२ सदस्यीय प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुने पाथीभरा याङ्वरकमा एमालेलाइ कार्यपालिका गठन गर्न सहज बहुमत छ। त्यहाँ एमालेले २५ जना,काँग्रेसले ४,२ जना स्वतन्त्र र १ जना संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जनप्रतिनिधि निर्वाचित भएका छन्। 

प्रत्यक्ष निर्वाचनबाट ३७ जना जनप्रतिनिधि निर्वाचित हुने सिदिङ्वा गाउँपालिकामा एमालेका २१,काँग्रेसका ७,स्वतन्त्रका ६,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका २ र माआवादी केन्द्रका १ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। त्यहाँ एमालेले एकल रुपमा कार्यपालिका गठनका लागि दावी पेश गर्न सक्ने भएको छ। ४२ जना प्रत्यक्ष निर्वाचित हुने सिरिजङ्गा गाउँपालिकामा गठबन्धन पक्षले कार्यपालिका गठन गर्ने अवस्था देखिएको छ। त्यहाँ एमालेका १५,माओवादी केन्द्रका १३,काँग्रेसका १२ र २ जना स्वतन्त्र रुपमा उम्मेदवार बिजयी भएका छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ ०७:१५ बुधबार