निर्वाचन विशेष

घिरिङमा एमालेका होमबहादुर र राधादेवी विजयी

तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै नेकपा एमालेका उम्मेद्वारले जितेका छन्।  गाउँपालिका अध्यक्षमा होमबहादुर थापाले चार हजार ३३१ मत प्राप्त गरी विजयी भएका हुन्। 

सत्ता गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका गंगाराम कुमालले तीन हजार ५५४ मत पाए। थापा र कुमालको मतान्तर ७ सय ७७ रहेको छ। उपाध्यक्षमा नेकपा एमालेकी राधादेवी अधिकारी एक हजार ७३४ मतको फराकिलो अन्तरले विजय भएकी छन्। 

अधिकारीले चार हजार ४८१  र थापाले दुई हजार ७४७ मत पाए। १४ हजार ६७६ मतदाता रहेको घिरिङमा आठ हजार ७१७ मत खसेको थियो। घिरिङमा  नेकपा एमालेसँग नेपाली कांग्रेस, एकिकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धनले प्रतिष्पर्धा गरेका हुन्।

वडा नम्बर १ र ५ मा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भए। वडा नम्बर २,३ र ४ मा एमालेको प्यानल विजयी भएको छ। २०७४ सालको स्थानीय निर्वाचनकै नतिजा एमाले र कांग्रेसले दोहोर्‍याएका हुन्। वडा नम्बर १ को अध्यक्षमा रविचन्द्र घोरासिनी, २ मा नरबहादुर थापा, ३ तहलसिं थापा, ४ मा भिमबहादुर कुमाल र ५ मा विष्णुविर आले विजयी भएका छन्। 

प्रकाशित: २ जेष्ठ २०७९ १२:२० सोमबार