ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फ माओवादीतर्फ केन्द्रका उम्मेदवार बिजयप्रकाश वनेम विजयी भएका छन्। २ हजार ६ सय ९ मत प्राप्त गर्दै उनी विजयी भएका हुन्। एमाले किल्ला भनिदैं आएको मैवाखोलामा यसपटक गठबन्धनले किल्ला भत्काएको छ।
वनेमले निवर्तनमान गाउँपालिका अध्यक्ष समेत रहेका राजनकुमार थत्लुङलाइ पराजित गरे। थत्लुङले २ हजार ५२ मत ल्याए। उपाध्यक्षमा गठबन्धनतर्फ नेपाली काँग्रेसकी कमलकुमारी लिम्बू (असली) निर्वाचित भएका छन्। उनले २ हजार ५ सय ४१ मत ल्याइन्।
कमलकुमारीले निवर्तनमान उपाध्यक्ष कौशिला थत्लुङलाइ हराएर विजय प्राप्त गरेकी हुन्। थत्लुङले २ हजार १ सय १ मत ल्याइन्। ६ वटा वडा रहेको मैवाखोलामा काँग्रेस र माओवादीले २–२ तथा एमाले र नेकपा एसले १–१ वटा वडाध्यक्ष जितेका छन्। गठबन्धनविरुद्ध एमाले एक्लै चुनावी मोर्चामा रहेको थियो। मैवाखोला एमाले सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईको गृह गाउँ हो।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३२ सदस्यीय गाउँसभा रहने यो गाउँपालिकाबाट अध्यक्ष,उपाध्यक्षसहित ३२ मध्ये ३१ सभा सदस्य एमालेबाट निर्वाचित भएका थिए। ताप्लेजुङका ९ वटै स्थानीय तहमा काँग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समावजवादीसहितका दलहरुको चुनावी तालमेल थियो। २ अध्यक्ष पद पाएको माओवादी केन्द्रले आफ्नो भागवण्डामा रहेका दुईवटै पालिकाका प्रमुख पद जितेको छ।
प्रकाशित: २ जेष्ठ २०७९ ११:०७ सोमबार