धर्म/संस्कृति

जोडु गाउँमा किन फरक छ फागुन ७ ?

फागुन ७ गते देशभर जहानियाँ हुकुमी शासन अन्त्य भएको दिनको सम्झनामा प्रजातन्त्र दिवसमा मनाइँदै आएको छ। यस दिन पनि देशभर विभिन्न कार्यक्रम गरी ७६ औँ प्रजातन्त्र दिवस मनाइयो। तर, जुम्लाको सिँजा गाउँपालिका -६ जोडु गाउँमा भने प्रजातन्त्र दिवसको अवसरमा कोइरा पर्व धुमधामका साथ मनाइएको छ।

यहाँ प्रजातन्त्र दिवस कुनै औपचारिक कार्यक्रम वा भाषणमा सीमित हुँदैन। यो दिन खेतबारीसँग जोडिएको छ, माटोसँग गाँसिएको छ र पुस्तौंदेखि चल्दै आएको सांस्कृतिक अभ्याससँग मिसिएको छ। हरेक वर्ष यहाँ प्रजातन्त्र दिवसको दिनमा कोइरा पर्व मनाइन्छ। यो दिनमा बारीमा कोइरा र चोताको बीउ रोप्ने गरिन्छ।

वसन्त ऋतु भित्रिने दिनको रूपमा कोइरा पर्व मनाउने गरिएको सिंजा गाउँपालिका -६ का वडा अध्यक्ष लालबहादुर बुढाले बताए। उनका अनुसार यो दिन देवीदेवताले प्रदान गरेको शुभसाइतको दिनका रूपमा गणना हुन्छ। जोडु गाउँका हरेक घरले यस दिन बारीमा कोइरा र चोतो लगाउँछन्। मिठा परिकार बनाएर एकआपसमा सुखदु:ख साट्ने गर्छन्।

जोडु गाउँमा २ सय १५ घरधुरी छन्। कोइरा चोता रोपेपछि हरेक वर्ष नयाँ खेतीको सुरुवात भएको मानिन्छ। जुम्लामा ८ वटा स्थानीय तहका ६० वडा मध्ये सिंजाकाे-६ वडामा मात्रै हरेक वर्ष प्रजातन्त्र दिवसको दिनमा कोइरा पर्व मनाइन्छ। यो सँगै यहाँका किसानले बारीमा खनजोतको काम अघि बढाउँछन्।

बाली नाली लगाउन शुभसाइतका रूपमा रहेको फागुन ७ गते हरेक किसानले बढीमा पाँच-पाँच वटा कोइरा र चोता बारीमा रोप्छन्। एकातिर कोइरा र अर्कोतिर चोता रोपिन्छ। प्रयोग नभएको सल्लाको रुखबाट झरेको पिरल (सोतर)ले लगाएको कोइरा र चोताको बीउलाई ढाकछोप गरिन्छ।

त्यस्तै सेतो चामल र पहिलो बेसारबाट बनाइएको दहीचामलको टीका लगाएर पूजापाठ गरी ढोक्ने किंवदन्ती रहेको नरबहादुर बताउँछन्। दहीचामलको टीका बनाउन पुरानो तामाको बटुको (कचौरा) प्रयोग गरिन्छ। त्यो बटुको कुनै पनि अशुभ कार्यमा प्रयोग नगरेको हुनुपर्छ। टीका बनाउने पानी पनि अविवाहित युवतीलाई धाराबाट ल्याएर बनाउन लगाइन्छ। रोप्दा राम्रोसँग फलोस्, कसैको आँखा नलागोस् भनेर पुकार गर्ने परम्परा रहेको बुढापाकाहरू बताउँछन्। 

बारीको मलिलो माटोमा कोइरा र चोताको खेती गरिन्छ। दिउँसो १ बजेदेखि साढे २ बजेसम्म कोइरा लगाइन्छ। कोइरा र चोताको रोप्ने दिन अनिवार्य रूपमा अलि अलि हिउँ पर्नु पर्ने जनविश्वास रहेको छ। कार्तिक र मंसिरको महिना औल (कालापहाड) मजदुरीका लागि गएकाहरू प्राय:जसो यस दिनमा फर्कने गर्छन्। यो दिनमा तेलमा पकाएको (पुरी) र जिगुराको तरकारी खाने गरिन्छ। अन्यत्र गाउँका स्थानीयहरूले पनि त्यो गाउँबाट मागेर यहीँ फागुन १२ गते कोइरा तथा चोता लगाउने गर्छन्।

अन्य गाउँभन्दा जोडु गाउँ कोइरा र चोताको हिसाबले प्रसिद्ध छ। यसबाट विभिन्न परिकार बन्छन्। जस्तै चाना, असुरो र रुम्ला बनाउन सकिन्छ। यसबाट बनाइएका चाना फापरको पिठोसँग मिसाएर ढेस्सु हालेर खाने चलन छ। असुरो कोइरा चोताबाट बनाइएको छ। असुरो बनाउँदा १२ दाते रिठ्ठाको र फलामबाट निर्माण गरेको जातिको माध्यमबाट बनाइन्छ। असुरो चामल उत्पादन हुने बस्तीसम्म लिएर मार्सीचामलसँग साट्ने गरिन्छ।

असुरो लिएर मार्सी धान फल्ने खुर्सानी फल्ने क्षेत्रका मानिसहरूले रातो लोकल चामल र पिराे (खुर्सानी)दिने गर्दछन्। चोता-कोइराको पहेँलो जुगुरा काटेर मिटमसलासँग भुटेर पुरी संग खाने चलनचल्ती बसेको गाउँकी ६६ वर्षीया बाचुँ बुढा बताउँछिन। यो दिन पोइल गएकी सबै छोरीचेली माइतीघरमा आउँछन्। गाउँमा मइतेलु आइन, ढेस्सु लोटाइन् भनेर ठट्टा गर्ने प्रचलन छ। कोइरा र चोता स्वास्थ्यका लागि राम्रो मानिन्छ। कोइरा र चोता कार्तिक र मंसिर महिनाको घाँस काट्ने बेला बढी प्रयोग गरिन्छ।

प्रकाशित: ८ फाल्गुन २०८२ २१:०१ शुक्रबार