धर्म/संस्कृति

पर्यटकीय केन्द्र बन्दै कर्णालीको चन्दननाथ मन्दिर

 जुम्ला हिउँदको चिसोले उराठिएका डाँडाहरूको काखमा पसारिएको जुम्लाको खलंगा बजार जहाँ बिहानको सूर्यकिरण मन्दिरको सुनौलो गजुरमा पर्छ र मन्दिरको मृदुल ध्वनिले उपत्यका गुन्जायमान हुन्छ।

जुम्लाको हृदयमा धड्किरहेका चन्दननाथ भैरवनाथ मन्दिर, आस्था, इतिहास र पहिचानको साझा धरोहर बनेको छ। यहाँको मन्दिर काठ, ढुंगो र धातुको संरचना मात्रै नभएर जुम्ली आत्माको प्रतीक मानिएको छ।

सयौं वर्षअघि योगी चन्दननाथले यहीं तपस्या गरी भैरवनाथ प्रसन्न पारेको थिए। उनीबाट सुरु भएको आराधनाको क्रम अहिलेसम्म चलिरहेको छ।

दैलेखबाट ल्याइने अनन्त दीप वर्षभरि मन्दिरको निष्ठाको प्रतीक बनेको छ। प्रत्येक साउन शुक्ल प्रतिपदामा नयाँ दियो ल्याउने परम्परा आज पनि त्यति नै श्रद्धासाथ पालिन्छ।

काठमाडौंकी तीर्थयात्री सिर्जना श्रेष्ठ भन्छिन्, ‘भैरवनाथको आरती हेरेपछि मन हल्का हुन्छ, जस्तो जीवनका सबै पीडा यहीं राखेर फर्कन्छौं।’

गत वैशाखदेखि हालसम्म ७ हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटकले यहाँ दर्शन गरिसकेका छन्। यो मन्दिरमा दर्शन र आरती गर्नाले मन शान्त हुने र मनोकामना पूरा हुने विश्वास छ।

सरकारी उच्च अधिकारीहरूले समेत जुम्ला आउनेबित्तिकै मन्दिर दर्शन गर्ने गरेका छन्। ‘पहिले पर्यटक आउँथे र एकाध दिनमै फर्किन्थे। अहिले त भैरवनाथ र राराको संयोजनले हप्तौं बस्ने गर्छन्,’ जुम्लाको अर्गानिक मिनी मार्केटका लक्ष्मी भण्डारीले बताइन्।

कर्णाली राजमार्गका धुलाम्मे सडक र असहज हवाइ सेवा अझै यहाँको पर्यटन विकासका प्रमुख अवरोध हुन्। ‘मनले त हरेक वर्ष आउँछु भन्छ तर बाटोले हतोत्साहित पार्छ,’ काठमाडौंका पर्यटक अर्जुन लामिछानले भने।

स्थानीय सरकार अहिले मन्दिर परिसरको सौन्दर्यीकरण, सरसफाइ र सूचना प्रणाली सुधारमा जुटेको छ। चन्दननाथ मन्दिर एक पूजा स्थल नभएर जुम्लाको पहिचान बनेको छ। यतिबेला पर्यटक आवागमन बढेपछि बजार समेत चलायमान भएको छ। यहाँको भक्ति, यहाँको संस्कृति र यहाँको इतिहासले मिलेर कर्णालीको आत्मा नै बनेको छ।

भैरवनाथको दर्शनले आन्तरिक शान्ति दिन्छ, त्यही शान्तिले अहिले जुम्लालाई नयाँ सम्भावनातिर लैजाने गरेको छ। चन्दननाथ भैरवनाथ मन्दिर पूजा गर्ने ठाउँ नभएर तीर्थस्थल बनेको छ। संस्कृतिले सास फेर्छ र आस्थाले बाटो देखाउँछ। यहाँको दीपले मन्दिरको अँध्यारो मात्रै नहटाएर जुम्लाको भविष्य पनि उज्यालो बनाइरहेको छ।

प्रकाशित: १३ कार्तिक २०८२ १२:०० बिहीबार