धर्म/संस्कृति

कर्णालीमा ‘पुस १५’ को रौनक : लामो रात जाग्राम बस्नेदेखि ‘वेल्कुनी’ को कथासम्म

<br>

कर्णाली प्रदेशका जिल्लाहरूमा आज (पुस १५) विशेष उल्लासका साथ मनाइँदैछ।

वर्षकै सबैभन्दा लामो रात हुने भएकाले कर्णालीका बासिन्दाले पुस १५ लाई विशेष पर्वका रूपमा मनाउने परम्परा छ।

विशेषगरी आजको रात जाग्राम बस्दा (नसुत्दा) आयु लम्बिन्छ भन्ने जनविश्वास यहाँ कायमै छ। यही विश्वासका साथ बालबालिकादेखि वृद्धवृद्धासम्मले रमाइलो गर्दै र मीठा परिकार खाएर रात बिताउने गर्छन्।

‘असार १५ सुतेर, पुस १५ नसुतेर’

जुम्लाको चन्दननाथ नगरपालिका–४ का स्थानीय कृष्णबहादुर देवकोटाका अनुसार आजको रात आ-आफ्नो अनुकूलतामा मीठो–मसिनो खाएर जाग्राम बस्ने चलन छ।

चन्दननाथ–२ की रमा उपाध्याय भन्छिन्, ‘यहाँ असार पन्ध्र सुतेर र पुस पन्ध्र नसुतेर बिताउने परम्परा प्रचलित छ। खेतीपातीको कामले थकित हुने असारमा सुतेर थकान मेटाइन्छ भने फुर्सदिलो समय हुने पुस १५ मा जाग्राम बसिन्छ।’

संस्कृतिविद् रमानन्द आचार्यका अनुसार पुस १५ को रातभर रमाइलो गरेर भोलिपल्ट (पुस १६ गते) बिहानै नजिकैको धारा वा नदी (गंगाजी) मा गएर स्नान गर्ने विधि रहिआएको छ।

पुस १५ को अवसरमा कर्णालीका घर–घरमा सेलरोटी, गहुँको पिठोबाट बन्ने मालपुवा, अर्सा, हलुवा, तरुल, सखरखण्ड, जुम्ली मार्सी चामलको भात र विशेषगरी जुम्ली फर्सी (कद्दु) पकाएर खाने चलन छ। दिदीबहिनीलाई विशेष मर्यादाका साथ बोलाएर सत्कार गर्ने गरिन्छ।

गाउँघरमा नुन, तेल, दाल र चामल संकलन गरी सामूहिक रूपमा खेतबारीमा वनभोज (वनभात) खाने र देउडा खेल्ने परम्पराले सामाजिक सद्भाव बढाएको छ। जिल्लाका पानसय, चौधबिस, असी र सिजा दराजस्ता क्षेत्रमा ठाउँ अनुसार मनाउने शैली केही फरक–फरक भए पनि उल्लास भने उस्तै हुन्छ।

पुस १५ सँग कर्णालीमा ‘वेल्कुनी’ को रोचक किंवदन्ती जोडिएको छ। जनविश्वास अनुसार, पुस १२ गते माइत आएकी वेल्कुनी नामकी छोरी पुस १५ को रात बिताएर १६ गते पोइली घर फर्कन्छिन्। उनी फर्कँदा कोसेलीस्वरूप हिउँ लिएर जाने विश्वास गरिन्छ।

त्यसैले पुस १५ को राति हिउँ परेमा त्यो वर्ष अन्नबाली राम्रो हुने कृषकहरूको विश्वास छ। यस दिनदेखि रात छोटिँदै जाने र दिन लम्बिँदै जाने तथा चन्द्र–सूर्यको स्थिति उत्तर–दक्षिण हुने मानिन्छ।

जाग्राम बस्ने क्रममा रातभर साहित र गाउँखाने कथा सुन्ने–सुनाउने, लाटालाटी खेल्ने र पात्र परिवर्तन गरेर रमाइलो गर्ने गरिन्छ। कतिपय स्थानमा घरको पर्खालको प्वालबाट लठ्ठी भित्र पठाएर परिकार माग्ने अनौठो चलन पनि छ।

यद्यपि, पछिल्लो समय मौलिक परम्परामा विकृति मिसिएको भन्दै पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन्। चाडपर्वका नाममा अत्यधिक मदिरा सेवन गर्ने, जुवा–तास खेल्ने र होहल्ला गर्ने प्रवृत्ति बढ्दै गएको उनीहरूको गुनासो छ।

बाह्रै महिना कामको बोझमा रहने कर्णालीवासीका लागि पुस १५ विश्राम र मनोरञ्जनको पर्व भए पनि यसको मौलिकता जोगाउनु चुनौती बनेको छ।

प्रकाशित: १५ पुस २०८२ २३:३१ मंगलबार