धर्म/संस्कृति

तिज: संस्कारको सुगन्ध कि प्रदर्शनको चमक?

संस्कार

तिजको बेला दिदीबहिनी भेला

ढोल मादल बजाउँदा, मनै रमाइलो

हो नि बरिलै मनै रमाइलो!

नेपाली महिलाहरूले मनाउने तिज पर्व एउटा नदीजस्तै हुनुपर्ने हो, परम्पराको काखमा शान्त बगेको, संस्कारका किनारामा टल्किएको। कहिले धिमेधिमे बहन्छ, कहिले आवेगले छाल उठाउँछ। यही नदी अहिले आधुनिकताको भेलसँग ठोक्किँदै छ। संस्कारको सुगन्ध हराउँदै छ अनि प्रदर्शनको चमक बढ्दो छ। सुन्दा तितो लाग्छ होला तर यथार्थ यही देखिएको छ।उहिलेको तिजमा महिलाहरू माइतीको आँगनमा भेला हुन्थे। वरपरका बिहे गरी कर्मघर गएका दिदीबहिनी र बिहे नभएका बहिनीहरू दिदीहरूलाई माइतीमा स्वागत गर्न आतुर हुन्थे। दिदीबहिनीको स्वछन्द मनोभाव, ढोलकको ताल, लोकभजनको मिठास, सामूहिक नृत्यको चमक। ती सबसँगै तिजको आत्मा बग्थ्यो।

गीतमा केवल शिव–पार्वतीको कथा मात्र होइन, महिलाको पीडा, रहर, मायाका गुनासो पनि मिसिन्थे। तिजले महिलालाई आफ्ना मनका कुरा पोख्ने काख दिन्थ्यो। त्यो बेला तडकभडक, गहना वा कपडाभन्दा पनि भक्ति र आत्मीयता नै सबैभन्दा ठुलो गहना थियो। कसले कस्तो लगायो र खायो होइन, सबैजना भेट हुँदा, माइती र चेलीको भलाकुसारी हुँदा सारा खुसी समेटिएको हुन्थ्यो।

आमाको हातले पकाएको परिकार, अनदिको खाजा, पोलेको तामा, करेला र भिन्डीको अचार, काक्रोको राइतो, कर्कलो र घिरौंलाको तरकारी, ऋतु अनुसार बारीमा पाइने यी सबै चिज आमाले तिजमा चेलीहरू आउँछन् भनेर हप्तादिन अगाडिदेखि जोगाएर राखेकी हुन्थिन्। गोठका गाईवस्तुलाई पञ्चमीसम्म पुग्ने घाँसपातको बन्दोबस्त गरी चेलीहरू माइत आएका हुन्थे। आज समय फेरिएको छ, पहिरन र खाने चिज फेरिएको छ तर मन कति प्रसन्न छ भन्न सकिन्न। मौलिक खाना, मौलिक परम्परा र चलन आफैंमा समेटिएको एउटा पारिवारिक पर्व थियो तिज।

प्रदर्शनको चमक

आज तिजको नदीमा आधुनिकताको छाल उठेको छ। कुनै समूह होटलमा उज्यालो बत्तीमा झिलिमिली नाच्छन्, कसैले सामाजिक सञ्जालमा तडकभडक पोशाक प्रदर्शन गर्छन्। मौलिक भजनको स्वर हराउँदै, पप–स्टाइल गीतको हल्लाले वातावरण ढाक्छ। आस्थाको निलो आकाशलाई मोबाइलको चम्किलो स्क्रिनले छायामा पारेको जस्तो लाग्छ। टोल समूहको तिज, सहकारीको तिज, कार्यालयको तिज, राजनीतिक दलको तिज, ओहो भ्याइनभ्याई। अनि सारीदेखि पोते र चुरा हुँदै चप्पल समेत एकै रङको। पोहोरको यसपटक लगाउन मिल्दैन, बर्सेनि तिजको बजेट अलगै व्यवस्था नगरी सुख कहाँ र? भए पुगे आफ्नै लागि हो केको चिन्ता र? तर, यो भेल कत्तिको स्थायी र व्यावहारिक हुन्छ, त्यता ध्यान गएन भने रङले जीवनलाई बेरङ बनाउन बेर लाग्दैन।

सबैले पुगेरै गर्ने हो या देखासिकी र बाध्यताले? बाध्यताले पर्व मनाउनु जरुरी छैन। पर्व र संस्कृति मौलिक हुन्छ, कुनै प्रदर्शनको चमक हुँदैन। त्यसो त,  यो आधुनिकताको छालमा केही सुन्दर रङ पनि छन्–महिलाले आफ्नो आवाज खुलाउने साहस, समानताको माग गर्ने साहस, सामाजिक चेतनाको स्वर उठाउने अवसर। तर, जब यो छालले मौलिकताको फूल बगाएर लैजान थाल्छ, तब नदीको सुगन्ध हराउने डर हुन्छ। खुसी र स्वःस्फुर्त तरिकाले गरिएको छ या देखाउनकै लागि, त्यसमा निर्भर गर्छ सबै परिपाटी।

सन्तुलनको कथा

तिजलाई केवल विगतको सम्झनामा कैद गरेर राख्न मिल्दैन, न आधुनिकताको आँधीमा गुमाउन मिल्छ। मौलिकता भनेको फूलको सुगन्ध हो, भक्तिको गीत हो, परिवारसँगको आत्मीयता हो। आधुनिकता र देखावटी भनेको नदीको छालजस्तै  हो। फूल र छाल सँगै रहे भने नदी अझै सुन्दर बग्छ। तर फूल बगाएर लैजाने छाल भने खतरनाक हुन्छ। त्यसैले तिजलाई मौलिक आत्मा जोगाउँदै आधुनिक चेतना मिसाउने पुल चाहिन्छ।

तिज केवल महिलाको पर्व होइन, समाजलाई प्रेम र करुणाको रङले भर्न सक्ने अवसर हो र मानवताको बगैंचा हो। देखावटीभन्दा भक्ति भावको मर्म हो तिज। प्रतिस्पर्धाभन्दा आत्मीयताको गाँठो हो तिज।प्रदर्शनभन्दा सहकार्य र सुमधुरता हो तिज। तिजलाई यस्तो बगैंचाजस्तो बनाउन सकियो भने जहाँ मौलिकताको फूल पनि बाँकी रहन्छ र आधुनिकताको पानीले त्यसलाई जीवन दिन्छ। तब मात्र तिज साँचो अर्थमा सुगन्धित रहन्छ। तिज संस्कृतिको झरना हो।

“सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः

सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत्।”

सबै सुखी होऊन्, सबै निरोगी होऊन्, सबैले मंगलमय देखून्, कसैलाई पनि दुःख नहोस्। यो भाव तिजको नदीमा मिसिएको झरना जस्तै हो– सबैलाई प्रेम र कल्याणको स्नान गराउने।त्यसैले तिजलाई फेसनको मञ्च मात्र बनाउनु यसको आत्मा गुमाउनु हो। न आधुनिकतालाई पूर्ण अस्वीकार गर्नुपर्छ, न मौलिकतालाई बिर्सनुपर्छ। फूलको सुगन्ध र छालको ताजगी सँगै रहे मात्र तिजको नदी निरन्तर बगिरहन्छ संस्कार र चेतनाको सन्तुलन बोकेर।किनकि तिजको आत्मा भनेकै भक्ति र मानवताको सुगन्ध हो।

संस्कृति, आस्था र आत्मीय सम्बन्धको सङ्गम

तिज केवल रातो लुगा, झिलिमिली गहना, रेस्टुराँमा नाचगान वा सोसल मिडियामा फोटो पोस्ट गर्ने अवसर मात्रै होइन। तिजको मूल आत्मा त्यतिमा मात्र सीमित छैन। तिज हाम्रो संस्कृति, आस्था र आत्मीय सम्बन्धहरूको सुगन्ध बोकेको गहिरो संस्कार हो। त्यो संस्कारभित्र फेसनको प्रदर्शन मात्र नभएर व्रत र भक्तिसहित आस्थाको सुगन्ध फैलिएको हुन्छ। तिज पर्वको केन्द्रमा भक्तिभाव छ। व्रत बस्ने संस्कारले आत्मानुशासन सिकाउँछ, सहनशीलता र श्रद्धाको अभ्यास गराउँछ। शिव–पार्वतीको दाम्पत्य आदर्शलाई आत्मसात गर्ने यो परम्परा केवल देवपूजासम्म सीमित छैन। यो त घरपरिवारमा स्नेह र आपसी निष्ठाको प्रतीक हो।

व्रत बस्दा महिलाले आफ्ना चाहना, कठिनाइ र आस्थालाई संयमको भाषामा व्यक्त गर्छन्। त्यो सुगन्ध जीवनभर टिकिरहने भक्ति बन्धन हो। भक्ति करकाप र बाध्यताले टिक्दैन र भक्तिमा प्रश्न उठ्दैन।यो हृदयको गहिराइबाट आस्थाको माध्यमबाट प्रस्फुटन हुन्छ। तिजका गीत केवल गुनासाका पोका होइनन् सिर्जनात्मकता हुन्।

महिलाको आवाजमा लुकेको पीडा र खुसी केवल मनोरञ्जनका लागि होइनन्, ती महिलाहरूको अन्तरआवाज, सामाजिक व्यथा र जीवनदर्शनका स्वर हुन्। दाजुभाइ सम्झेर झर्ने आँसु होस् या कसैले श्रीमान्को व्यवहारबारे गुनासो, प्रेममा डुबेको अमरता होस् या देवीदेवताका प्रार्थना, ती गीतहरूको सुगन्धले तिजलाई नारीजीवनको माध्यम बनाएर संस्कारसँग जोड्छ।

मानवता र करुणा: तिजको अन्तिम सुगन्ध

संस्कारको सुगन्ध केवल परिवारमा सीमित हुँदैन। त्यो मानवता र करुणासम्म फैलिनुपर्छ।व्रतको संयमले भोकाहरूको पीडा सम्झाउनुपर्छ, दिदीबहिनीको भेटघाटले सामाजिक एकता जगाउनुपर्छ, गीतले विभेदविरुद्ध बोल्नुपर्छ। जब तिज संस्कार र करुणामा रूपान्तरण हुन्छ, तब मात्र यसको सुगन्ध शाश्वत रहन्छ। तिज तडकभडक र शृङ्गार मात्र होइन, शृङ्गारसँग जोडिएको ऊर्जा हो। तिज भोज मात्र होइन, भक्ति हो। तिज झिलिमिली मात्र होइन, संस्कारको सुगन्ध हो। यस सुगन्धलाई सुरक्षित राख्नु हरेक पुस्ताको जिम्मेवारी हो, किनकि यही सुगन्धमा हाम्रो मौलिकता, आस्था र जीवनको गहिरो अर्थ लुकेको छ। पर्व र धर्मको मूल स्वरूप करुणा हो। कर्मको सार सेवा हो। जीवनको गहिरो अर्थ मानवता हो। देवीदेवतालाई चढाएको फूल सुगन्धित हुन्छ तर करुणा र प्रेममा अर्पण गरिएको मन अझ सुगन्धित हुन्छ। तिज केवल व्रत होइन, करुणाको व्रत हो, जहाँ आत्मकेन्द्रित अहङ्कार पग्लिन्छ र सामूहिक प्रेम पलाउँछ।मानवताविनाको पर्व र धर्म अधुरो छ, करुणाविना उत्सव निर्जीव छ।तिजको नृत्यमा केवल हात मात्र मिल्दैनन्, मन मिल्छन् अनि मानवताको धुन गुन्जिन्छ।

प्रकाशित: ७ भाद्र २०८२ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App