धर्म/संस्कृति

रसुवा बाढीको प्रभाव तीजमा पनि, पशुपतिनाथमा छैनन् विगतमा झै भक्तजन

तस्बिर: द्वारिका काफ्ले/नागरिक

हरितालिका तीजका दिन भगवान् शिवको पूजा–आराधना गर्न पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। बिहानैदेखि लामो लाइन, दर्शनका लागि घण्टौँको प्रतीक्षा र मन्दिर परिसरमा हुने चहलपहल तीजको नियमित दृश्यजस्तै बनिसकेको छ। यसपटकको तीजमा भने पशुपतिनाथ मन्दिर परिसरको दृश्य विगतका वर्षभन्दा निकै फरक देखिएको छ।

भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि देश शोकमा रहेका बेला आएको यस वर्षको तीजमा धार्मिक आस्था र परम्परा भने कायम छ। विगतका वर्षमा जस्तो अत्यधिक भीड र उत्सवको रौनक भने कम देखिएको भक्तजनको अनुभव छ।

पशुपतिनाथ मन्दिरमा दोस्रोपटक तीजका अवसरमा पुगेकी विनिता शर्माले यसपटक दर्शन गर्न विगतको तुलनामा निकै कम समय लागेको बताइन्। ‘अघिल्लो पटक आउँदा करिब दुई घण्टा जति लागेको थियो। यसपटक भने आधा घण्टा पनि लागेन,’ शर्माले भनिन्।

७२ वर्षीया सावित्रा न्यौपानेको अनुभव भने अझ फरक छ। तीजका अवसरमा मात्रै पशुपतिनाथमा करिब २० देखि २५ पटक आइसकेकी न्यौपानेले आफ्नो जीवनकालमा यसपटकजस्तो खल्लो तीज कहिल्यै अनुभव नगरेको बताइन्।

तीजमा पशुपतिनाथ आउँदा विगतमा देखिने भीड र चहलपहलको तुलनामा यसपटक मन्दिर परिसर निकै खुला रहेको उनको अनुभव छ।

हरेक वर्ष तीजका दिन पशुपतिनाथ पुग्ने ४५ वर्षीया आशा थापाको अनुभव पनि उस्तै छ। सिनामंगलबाट पशुपतिनाथ आएकी थापाले विगतका वर्षमा दर्शनका लागि चार घण्टासम्म लाइनमा बस्नुपरेको सम्झिइन्। तर यसपटक भने आधा घण्टा पनि नलागी दर्शन गर्न पाएको उनले बताइन्।

थापाका अनुसार यसपटक पनि विगतमा जस्तै पशुपतिनाथमा दर्शनका लागि चारै ढोका खुल्ला गरिएको छ।   

उनले विगतका वर्षको कठिनाइसमेत सम्झिइन्। उनका अनुसार पहिले तीजका दिन पशुपतिनाथमा एकैपटक तीन-चारवटा लाइनसम्म हुने गरेको थियो। तीमध्ये कुन लाइनबाट दर्शन छिटो हुन्छ भन्ने अन्योलसमेत हुने गरेको र घण्टौँसम्म उभिएर पालो कुर्नुपर्ने अवस्था रहेको उनले बताइन्।

‘पहिले त एकपटकमा तीन-चारवटा लाइनसम्म हुन्थे। दुई-तीन घण्टा त लाइनमै बित्थ्यो। कहिलेकाहीँ चार घण्टासम्म पनि कुर्नुपर्थ्यो,’ थापाले आफ्नो अनुभव सुनाइन्।

उनका अनुसार लामो समय लाइनमा उभिँदा व्रतालु महिलालाई निकै कठिन हुने गरेको थियो। गर्मी, भीड र लामो प्रतीक्षाका कारण शारीरिक रूपमा समेत समस्या हुने गरेको उनले सम्झिइन्। यसपटक भने व्यवस्थापनका कारण दर्शन सहज भएको उनको भनाइ छ।

विनिता शर्मा, सावित्रा न्यौपाने र आशा थापाको अनुभवले यस वर्षको तीजमा पशुपतिनाथमा देखिएको फरक अवस्थालाई झल्काउँछ। उमेर र अनुभव फरक भए पनि तीनै जनाको अनुभवमा एउटा समानता छ-विगतका वर्षको तुलनामा यसपटक दर्शन सहज र छिटो तथा यसपटकको तिज विपद्का कारण केही खल्लो र फिका भएको छ।

पशुपतिनाथमा तीजका अवसरमा भक्तजनको उपस्थिति ठिकठाक मात्र रहेको छ। बिहानैदेखि व्रतालु महिला तथा अन्य भक्तजन दर्शनका लागि पुगेका छन्। विगतका वर्षमा जस्तो लामो समयसम्म लाइनमा उभिनुपर्ने अवस्था धेरै कम भएको र व्रतालुको संख्या पनि कम रहेको भक्तजन बताउँछन्।

तीज नेपाली महिलाको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। यस दिन महिलाहरू व्रत बसेर भगवान् शिवको पूजा तथा आराधना गर्छन्। परिवारको सुख-शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै शिवालय पुग्ने परम्परा छ।

तीजको मुख्य दिन पशुपतिनाथमा विशेष भीड हुने गर्छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै उपत्यका बाहिरबाट समेत भक्तजन दर्शनका लागि आउने गरेका थिए। त्यसैले तीजका दिन पशुपति क्षेत्रको व्यवस्थापन चुनौतीपूर्ण हुने गर्थियो।

तस्बिर: द्वारिका काफ्ले/नागरिक

यस वर्षको अवस्था विगतभन्दा फरक देखिएको छ। मन्दिर परिसरमा भक्तजनको उपस्थिति रहे पनि लामो र अस्तव्यस्त भीडको अवस्था कम छ। लाइन व्यवस्थापन पनि तुलनात्मक रूपमा सहज देखिएको भक्तजनको अनुभव छ।

यस वर्षको तीजको माहोल फरक हुनुमा रसुवाको भोटेकोशी बाढीको प्रभावलाई पनि जोडेर हेर्न थालिएको छ। बाढीका कारण ठूलो जनधनको क्षति भएपछि देशभर शोकको वातावरण बनेको छ। विपद्मा परेका परिवार र प्रभावित क्षेत्रका नागरिकको पीडाले चाडपर्वको उत्सवमा समेत प्रभाव पारेको छ।

विगतका वर्षमा तीज आउनुभन्दा धेरै दिनअघिदेखि नै दर खाने कार्यक्रम, सांस्कृतिक कार्यक्रम र नाचगानले काठमाडौंका विभिन्न क्षेत्र भरिन्थे। तीजका दिन महिलाहरू समूह बनाएर शिवालय जाने, पूजा गर्ने र उत्सव मनाउने गर्थे। यसपटक पनि यस्ता गतिविधि भए पनि धेरैको ध्यान विपद् प्रभावित परिवारतर्फ गएको देखिन्छ।

पशुपतिनाथ पुगेका केही भक्तजनले भगवान् शिवसँग आफ्ना परिवारको सुख-शान्तिसँगै भोटेकोशी बाढीमा प्रभावित भएका परिवारको उद्धार, सुरक्षा र पुनःस्थापनाको कामना समेत गरेका छन्।

भोटेकोशी बाढीको पीडाबीच आएको यस वर्षको तीजले धार्मिक आस्थासँगै सामाजिक संवेदनशीलताको सन्देश पनि दिएको छ। चाडपर्व मनाइरहँदा विपद्मा परेका परिवारलाई सम्झनु, उनीहरूको पीडाप्रति संवेदनशील बन्नु र आवश्यक सहयोग गर्नु अहिलेको आवश्यकता बनेको छ।

पशुपतिनाथमा भेटिएका भक्तजनका अनुभवले यस वर्षको तीजलाई एउटा फरक कोणबाट देखाएको छ। कसैका लागि दर्शन सहज भयो, कसैका लागि मन्दिर परिसर अस्वाभाविक रूपमा खुला देखियो भने कसैका लागि विगतको चार घण्टे प्रतीक्षाको तुलनामा आधा घण्टामै दर्शन पूरा भयो। तर उनीहरूको अनुभवको साझा भाव एउटै छ-यसपटकको तीज विगतका वर्षजस्तो छैन।

रसुवाको भोटेकोशी बाढीले दिएको पीडाको प्रभावबीच मनाइएको यस वर्षको तीजमा पशुपतिनाथमा घण्टी बजिरहे, पूजा-आराधना चलिरह्यो र भक्तजनले शिवको दर्शन गरे। तर त्यो धार्मिक उत्सवसँगै धेरैको मनमा विपद्मा परेका परिवारका लागि प्रार्थना पनि जोडिएको छ। यही कारण यस वर्षको तीज धेरैका लागि केवल पर्व नभई पीडाबीचको श्रद्धा र सहानुभूतिको दिन बनेको छ।

यस वर्षको तीजमा काठमाडौंभित्रका शिवालयमा मात्रै होइन, अन्य शिवालयमा समेत विगतको तुलनामा तीजको माहोल त्यति धेरै नरहेको पाइएको छ। यस वर्ष नाच गान लगायतका गतिविधी समेत ठप्प जस्तै रहेको छ ।

प्रकाशित: २९ भाद्र २०८३ १४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App