धर्म/संस्कृति

श्रीकृष्णाष्टमी-विशेष : आध्यात्मिक काव्यमहोत्सव

भगवान् श्रीपशुपतिनाथको पावन सान्निध्यमा, शिवचेतनाको दिव्य आलोकमा, श्रीकृष्ण-जन्मोत्सवको पावन अवसरमा, श्री १००८ स्वामी रमणानन्द गिरिज्यूको ससङ्कल्प तथा महेश छात्र परिषद्‌को संयोजनमा, शङ्कराचार्य मठ, पाशुपत क्षेत्रमा विशिष्ट काव्य-गोष्ठी तथा सत्सङ्ग समारोह सम्पन्न भयो । 

नेपाली साहित्यका विशिष्ट कवि-प्रतिभा, साहित्य साधक, प्राध्यापक, समालोचक, पथप्रदर्शक, आध्यात्मिक गुरुजन तथा महेश छात्रपरिषद्, नेपाल वेद‌विद्याश्रमका गुरुशिष्य एवम् युवाकविहरूको सहभागितामा सम्पन्न उक्त समारोह अत्यन्त भव्य, सव्य, दिव्य एवम् गरिमामय रह्यो ।  

स्वामी रमणानन्द गिरिज्यूको सभाध्यक्षतामा आयोजित उक्त आध्यात्मिक, दार्शनिक एवम् काव्यिक समारोहमा संस्कृत तथा नेपाली भाषावाङ्मयका अधक साधक प्राध्यापक दुर्गा दाहाल, विशिष्ट कविवर कोषराज न्यौपाने, स्थापित मूर्धन्य कवि प्रह्लाद पोखरेल, नेपाली छन्दकविताका अभियन्ता विशिष्ट कविप्रतिभा प्रा.डा. देवी नेपाल, नेपाली साहित्यकी विशिष्ट कवयत्री प्रभा भट्टराई, प्राध्यापक भवानीप्रसाद खतिवडा, कवयत्री दुर्गा रिजाल, साहित्य- वाटिकाकी परिकल्पनाकार एवम् मुक्तछन्दमा कलम चलाउने विशिष्ट कवयत्री भैरवी भुगोल ढुङ्गाना, युवाकवि तथा सशस्त गजलकार ज्ञानु विद्रोही (उपप्रा. खगेन्द्र नेपाल), समसामयिक नेपाली कविता परम्पराका प्रसिद्ध छन्दकवि बलराम दाहाल लगायतका दर्जनौँ कवि-कवयत्रीहरूले आफ्ना सुन्दर सृजना तथा काव्यपुष्पका माध्यमले परम्ब्रह्म परमात्मा भगवान् श्रीकृष्णप्रति आराधना गरेका थिए ।  

त्यसैगरी नेपाली कविता साहित्यमा साधना गर्दै आफ्नो कविव्यक्तित्वलाई स्थापित गर्न सफल युवाकविहरू मनीष गौतम, शिवराम दवाडी, अर्जुन खतिवडा, अञ्जन ढुङ्गेल, रवि सुवेदी, श्रीजय शाक्य, रोहण सुवेदी, पुरुषोतम घिमिरे, प्रदीप नेपाल, सदाशय गौतम, टेकराज रिजाल, ब्रह्मचारी सुदर्शन अर्याल, पुरुषोत्तम पाण्डे, प्रवीण काफ्ले, सुरज सापकोटा लगायतले आफ्ना कविता वाचन गर्दै श्रीकृष्णप्रति शब्दार्चना गरेका थिए ।  

उक्त समारोह काव्यात्मक मात्र नभएर आध्यात्मिक एवं दार्शनिक सत्सङ्ग-सभा पनि थियो । समारोहमा अद्वैतदर्शनका व्याख्याता प्राध्यापक भवानीप्रसाद खतिवडाद्वारा श्रीकृष्ण भगवान्‌को आविर्भाव तथा अवतारको प्रयोजन एवम् रहस्यका बारेमा विशिष्ट प्रवचन भएको थियो । विशिष्ट कविप्रतिभा एवम् समालोचक प्राध्यापक कोषराज न्यौपानेद्वारा समग्र काव्य समारोहको समालोचनात्मक टिप्पणी गर्दै ब्रह्मलीन डा. स्वामी रामानन्द गिरिज्यूको संस्कृत विद्याको उन्नयन तथा नेपा‌ली साहित्यको प्रवर्धनमा दिएको अतुलनीय योगदान‌को स्मरणसमेत गरिएको थियो । 

डा. स्वामी रामानन्द गिरिद्वारा स्थापित महेश संस्कृत गुरुकुलले संस्कृतका आधिकारिक विद्वान्‌मात्र उत्पादन गरेको छैन अपि तु नेपाली भाषा वाङ्‌मयका साधक तथा विशिष्ट कवि-समालोचकसमेत उत्पादन गरेर नेपाली समाजलाई अमूल्य योगदान पुर्याएको उल्लेख गर्दै न्यौपानेद्वारा महेश संस्कृत गुरुकुलले जनै बनाउन, शङ्ख बजाउन र माला (रूद्राक्ष) उन्नसमेत सिकाउन आवश्यक छ भन्ने सुझाव दिइएको थियो । आज भन्दा २२/२५ वर्ष अघि २०६४-०६५ सालदेखि रामानन्द गिरिद्वारा विभिन्न पर्व र अवसर पारेर आयोजना हुँदै आएका यस्ता आध्यात्मिक कवि गोष्ठिले निरन्तरता पाओस र देवघाटमा सञ्चालित मकरकाव्ययामिनीलगायतका गोष्ठीहरूले नेपाली साहित्यलाई मार्गनिर्देश गरिरहोस् भन्ने शुभकामना समेत समालोचक तथा कवि न्यौपानेद्वारा प्रदान गरिएको थियो ।

समारोहका ज्येष्ठ, श्रेष्ठ कवि प्रतिभा तथा भक्तिदर्शनका मर्मज्ञ प्रध्यापक दुर्गा दाहालद्वारा आजको आध्यात्मिक कविगोष्ठिले इतिहासलाई स्मरण गराएको, इतिहासका विभिन्न कालखण्डमा विविध चाडपर्वका यस्तै अवसरका ब्रह्मलीन स्वामी रामानन्द गिरि, स्व. प्रा. विदुर पौडेल, प्रा. डा. दीर्घराज घिमिरेसँग यसै शङ्कराचार्य मठको सभाकक्षमा यस्तै दार्शनिक, आध्यामिक विचार विमर्श हुने गरेको स्मृतिले आफू भावूक बनेको अभिव्यक्ति दिइएको थियो । प्राध्यापक दाहालद्वारा राधाकृष्ण तत्त्वका सम्बन्धमा विशेष प्राज्ञिक प्रवचन दिइएको थियो ।

भगवति राधा भगवान् श्रीकृष्णभन्दा भिन्न नभएको, एउटै चैतन्यज्योति राधामाधवका रूपमा देखा परेको, वेदका ऋचाहरू नै गोपिका (गोपिनीहरू) रहेका, श्रीकृष्णको रासलीला अवलोकनका लागि भगवान शिव नै रासमण्डलमा प्रवेश गरेको, रासलीला भौतिक नभएर चिन्मय रहेको, भागवतमा वर्णित रासलीलाका ५ अध्याय पञ्चप्राणको प्रतीक भएको, भगवान् श्रीकृष्णकै आह्लादिनी शक्ति नै राधतत्त्व रहेको, राधाको उपासना नगरी कृष्णतत्त्वको अवबोध हुन असम्भव हुने, अखण्ड प्रेमप्रवाह तथा अखण्ड प्रेमात्मैक्य भक्ति नै राधा भएको, भगवानका विभिन्न अवतारहरूमध्ये धेरै अंशावतार, श्रीराम र नृसिंहको अवतार पूर्णतर र श्रीकृष्णको अवतारले सोहि तथ्यलाई प्रमाणित गरेको, निरावृत्ति अधिपतित्व भगवान् श्रीकृष्णमा रहेको जस्ता दार्शनिक रहस्यको उद्घाटन नै विद्वान् गुरु प्राध्यापक दाहालको प्रवचनको सार तथा निचोड रहेको थियो ।

समारोहका अन्तमा महेश संस्कृत गुरुकुलका पीठाधीश स्वामी रमणानन्द गिरिज्यूबाट श्रीकृष्णतत्त्वका विषयमा गहन दार्शनिक प्रवचन भएको थियो । प्रेमको लहरी नै राधातत्त्व हो । यही राधातत्त्वका बारेमा प्रवचन गर्दा र सुन्दा समेत विभिन्न कालखण्डमा ब्रह्मलीन गुरुदेव डा. स्वामी रामानन्द गिरि भावावेशमा आउने, भगवद्भक्तिको आवेगले पुरै पग्लने महापुरुष चैतन्यदेव जस्ता दुर्लभ व्यक्तिका रुपमा हामीले डा. स्वामी रामानन्द गिरिलाई पाएका, भक्तिसहितको वेदान्त नै कल्याणको मार्ग हो भन्ने सन्देश गुरुका मुखारवृन्दबाट वारम्बार सुनेका, ‘भक्त्यर्थं कल्पितं द्वैतं-अद्वैतादपि सुन्दरम्’ लाई आफ्नो जीवन दर्शन बनाउनु भएका गुरुवरबाट व्यास, शुकदेव, शङ्कराचार्य हुँदै प्रवाहित ज्ञानचेतनाबाट अभिसिञ्चित हुन पाएको उल्लेख गर्दै आफ्ना गुरुदेवको स्मरण गर्दै जगद्गुरू श्रीकृष्ण तत्त्व (कृष्णं वन्दे जगद्गुरुम्) का बारेमा स्वामी रमणानन्द गिरिद्वारा प्रवचन दिइएको थियो । 

भगवान् श्रीकृष्णलाई आफ्नो अन्तर्हृदयमा आविर्भाव गर्न हामीले साधना गरिरहेको, त्यही भगवत्तत्वको प्रादुर्भावको प्रतीक्षामा हाम्रो जीवन अघि बढिरहेको अर्थात् भगवत्प्रेमको बाछिटा वा झिल्को मिल्छ कि भन्ने प्रतीक्षामा हामी रहेका, आफ्नो वाणी-इन्द्रिय तथा मनलाई पवित्र बनाउनका लागि कविता तथा प्रवचन सुन्ने सुनाउने भगवद्-चर्चा गरिएको, परब्रह्म परमात्मा भगवान् हामी सबैको अन्तरहृदय जीवकै सारथीका रूपमा विद्यमान रहेको, साक्षीका रूपमा विद्यमान परमात्मालाई आविर्भाव गराउन त्यसभन्दा अघि अर्जुन जन्मिनु पर्ने भन्दै सत्सङ्ग समारोह तथा शब्दार्चनामा सहभागी समस्त कवि तथा भावकका अन्तर्हृदयमा विराजमान नारायण भगवान्‌लाई सादर वन्दना गर्दै स्वामी रमणानन्द गिरिज्यूबाट समारोहको समापन गरिएको थियो ।

श्रीकृष्णजन्माष्टमीको अवसरमा राष्ट्रदेव पशुपतिनाथको आयोजित आध्यात्मिक काव्यसाँझ साहित्य, अध्यात्म, भक्ति र दर्शनको सुन्दर सङ्गम बन्यो । शिवचेतनाका दिव्य आलोकमा सन्त-महात्मा, गुरु, प्राध्यापक, कवि, समालोचक तथा साधक सज्जनहरुको समुपस्थिति र अभिव्यक्तिले सुसज्जित उक्त समारोह केवल कविता वाचनको औपचारिक मञ्चमा मात्र सीमित नबनी भगवान श्रीकृ‌ष्णलाई प्रेम, भक्ति, ज्ञान, आत्मचिन्तन, उपासना, साधना र जीवनदर्शनका विभिन्न आयामद्वारा अनुभव गर्ने दिव्य अवसरसमेत बन्न सफल रह्यो । 

समारोह‌मा विभिन्न दिग्गज ज्ञानवृद्ध, वयोवृद्ध कविजन र भर्खरै उदाउँदै गरेका युवा कविजनका कविता सुन्ने सुनाउने अवसर मिलेकाले युवाले अग्रज स्रष्टाले उदाउँदा कविका कविता सुनी मूल्याङ्कन गर्न तथा आवश्यक मार्गनिर्देश गर्न समेत समारोह सफल बन्यो । समारोहमा वाचन भएका सवै कविका कविताहरूको प्रा.डा. देवी नेपाल‌द्वारा गरिए‌को कवितात्मक (छन्दोबद्ध) टिप्पणी तथा समालोचनाले गर्दा ‘तत्क्षणको अनुभूतिलाई शब्द‌मा सुरक्षित गर्ने साहित्यिक प्रयोग’ का रूपमा समेत समारोह विशेष बन्यो । 

जीवनका व्यथा र प्रतिकूलताले मानिसको आन्तरिक शक्ति पराजित गर्न नसक्ने, जीवनको यथार्थ र काव्यको सम्बन्ध खोतल्ने, ज्ञानको वास्तविक प्रयोजन बाह्य सूचना सङ्कलन मात्र नभई आत्मबोधतर्फको यात्रा भन्दै घच्घच्याउने, राधालाई कृष्णकी प्रेमिका / प्रियाका रुपमा मात्र नबुझी प्रेम, भक्ति, उपासना, समर्पण र आध्यात्मिक चेतनाको उच्चतम स्थितिका रूपमा बोध गर्नु पर्ने, भगवत्तत्त्व बाहिर होइन आफ्नै अन्तर्हृदयमा आविर्भाव गराउन अर्जुन जस्तै जिज्ञासु हुनु पर्नेजस्ता विविध भावधाराका कविता तथा प्रवचनले समारोहलाई बहु-आयामिक तथा ज्ञानमू‌लक बनाएको मूल्याङ्कन तथा भावकीय समीक्षण गर्न सकिन्छ ।

प्रकाशित: २० भाद्र २०८३ १६:०३ शनिबार