धर्म/संस्कृति

साउने संक्रान्ति: जुम्ला उपत्यकामा राँको बाल्दै फालियो लुतो

जुम्ला उपत्यकामा साउने संक्रान्तिको अवसरमा घरमा राँको बाल्दै लुतो फाल्ने परम्परा कायमै राख्दै स्थानीय। तस्बिर : गोल्डेन बुढा/नागरिक।

जुम्ला, साउन १। कर्णाली प्रदेशका विभिन्न जिल्लामा शुक्रबार परम्परागत रूपमा राँको बाल्दै साउने संक्रान्ति मनाइएको छ। विशेषगरी जुम्लाका गाउँघरमा साँझ पर्दासँगै प्रत्येक घरको छतमा राँको बालेर ‘लुतो फाल्ने’ परम्परा निर्वाह गरिएको हो।

साउने संक्रान्तिलाई कर्णालीमा ‘लुतो फाल्ने दिन’का रूपमा चिनिन्छ। यस दिन बिहानै नुहाइधुवाइ गरी शरीरमा तेल लगाउने, सरसफाइ गर्ने र साँझ घरको छतमा राँको बालेर गाउँभरि गाली गर्दै लुतो फाल्ने चलन रहेको छ। बाहिरबाट सुन्दा अस्वाभाविक लाग्ने यी गालीहरू कुनै व्यक्ति लक्षित नभई रोगव्याधि, दुःख र अशुभ शक्तिलाई गाउँबाट भगाउने सांस्कृतिक अभिव्यक्तिका रूपमा लिइन्छ।

धान रोपाइँ सम्पन्न भएपछि मनाइने यो पर्व किसानको जीवनसँग प्रत्यक्ष जोडिएको मानिन्छ। जेठ–असारभरि हिलोमा काम गर्दा लाग्ने लुतो, चिलाउने तथा अन्य छालासम्बन्धी रोगबाट मुक्ति मिलोस् भन्ने जनविश्वासका साथ यो परम्परा विकसित भएको संस्कृतिविद्हरू बताउँछन्।

यस अवसरमा सल्लाको झर्रो वा दियालो बाल्ने, अगेनामा कुरीलो र तितेपाती सल्काएर अगुल्टो चारैतिर घुमाई ‘लुतो लैजाउ’ भन्दै फाल्ने चलन छ। लुतो फालिसकेपछि घाउ–खटिरा भए कुकुरडाइनो जलाएर बनाइएको मलम लगाउने परम्परा पनि केही स्थानमा अझै कायम छ।

संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यका अनुसार साउन १ गतेदेखि सूर्य दक्षिणायन हुने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। यही दिन पोइली घरमा रहेका छोरीचेली माइती फर्किने, परिवारसँग बसेर परम्परागत परिकार खाने र रमाइलो गर्ने चलन रहेको उनले बताए।

कर्णालीका गाउँहरूमा घरको छत र ओटालो लिपपोत गरी राँको बाल्ने, छिमेकी गाउँलाई सांस्कृतिक शैलीमा गाली गर्ने, दोबाटो र चौबाटोमा राँको फाल्ने तथा महिलाहरू भेला भएर देउडा गीत गाउँदै पर्व मनाउने परम्परा अझै जीवित रहेको छ।

साउने संक्रान्तिसँग जोडिएका विभिन्न जनविश्वास पनि प्रचलित छन्। एकथरीले हनुमानले लंका जलाएको स्मरणमा राँको बाल्ने चलन सुरु भएको मान्छन् भने अर्काथरीले यसलाई खस संस्कृतिको मौलिक परम्परा ठान्छन्। जुम्ला राज्यका संस्थापक राजा बलिराज दिल्ली विजयपछि फर्किएको खुसीयालीमा दीपावलीस्वरूप राँको बालिएको भन्ने जनश्रुतिसमेत पाइन्छ।

साउन महिनालाई हिन्दु धर्मावलम्बी महिलाका लागि विशेष पवित्र मानिन्छ। पार्वतीले महादेवलाई पति प्राप्त गर्न व्रत बसेको धार्मिक विश्वासका आधारमा विवाहित महिलाहरूले परिवारको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै महादेवको पूजा–आराधना गर्ने, हरियो चुरा, पोते र रातो पहिरन धारण गर्ने चलन पनि रहेको छ।

यद्यपि पछिल्लो समय सहरीकरण र बजारीकरणसँगै घरका छतमा पर्याप्त स्थान नहुँदा कतिपय ठाउँमा राँको सडकमै बाल्न थालिएको छ। खानपान र जीवनशैलीमा परिवर्तन आए पनि कर्णालीको मौलिक पहिचान बोकेको साउने संक्रान्ति र लुतो फाल्ने परम्परा भने अझै निरन्तर रहेको स्थानीय बताउँछन्।

प्रकाशित: १ श्रावण २०८३ १९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App