सनातन परम्पराका चाडपर्व केवल धार्मिक कर्मकाण्डमा मात्र सीमित छैनन्। तिनले सामाजिक एकता, पारिवारिक सम्बन्ध, सांस्कृतिक निरन्तरता, नैतिक अनुशासन र जीवनदर्शनलाई समेत जोडेर राखेका छन्। वर्षभरि मनाइने विभिन्न पर्वले समाजमा उत्साह र आत्मीयता थप्नुका साथै पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको ज्ञान, संस्कार र परम्परालाई निरन्तरता दिने काम गर्छन्। तसर्थ चाडपर्व र धार्मिक परम्पराहरू समुदायका सांस्कृतिक जीवनका आधारस्तम्भ हुन्। मानवता जागृत गराउनका लागि जीवन र जगत् बुझ्न जरुरी छ।
पूर्वीय र पश्चिमी दुवै सभ्यतामा दर्शनको समृद्ध परम्परा रहेको छ। वेदान्त दर्शन, बौद्ध दर्शन, जैन दर्शन तथा अन्य पूर्वीय चिन्तन परम्पराले जीवन, जगत्, आत्मा, चेतना र सत्यबारे आआफ्नै दृष्टिकोण प्रस्तुत गरेका छन्।
त्यस्तै पश्चिमी दर्शनले पनि मानव अस्तित्व, ज्ञान, नैतिकता र समाजबारे गम्भीर चिन्तन गरेको पाइन्छ। दर्शनले मानिसलाई केवल देखिएको संसार बुझ्न मात्र होइन, अदृश्य सत्य र अस्तित्वबारे चिन्तन गर्न प्रेरित गर्छ।
वैदिक वाङ्मयदेखि उपनिषद् र विभिन्न दर्शनशास्त्रसम्म फैलिएको चिन्तन परम्पराले मानव जीवनका अनेक आयामलाई समेटेको छ। दर्शन शब्दले तत्त्व ज्ञान, सत्यको खोज तथा त्यसको प्राप्तिसम्बन्धी विशिष्ट चिन्तन पद्धति र शास्त्रीय परम्परालाई बुझाउँछ।
दर्शन केवल धार्मिक विश्वास मात्र होइन, जीवन र जगत्बारे सत्यको खोज गर्ने बौद्धिक तथा आध्यात्मिक यात्रा पनि हो। हिन्दु दर्शनका आधारहरू वैदिक वाङ्मयमा निहित रहेको पाइन्छ। ऋग्वेदलगायत विभिन्न वैदिक ग्रन्थहरूमा दार्शनिक चिन्तनका बीज छरिएका छन्।
ब्राह्मण ग्रन्थ, आरण्यक र उपनिषद्हरूले ती दार्शनिक विचारलाई थप स्पष्ट र व्यवस्थित रूपमा प्रस्तुत गरेका छन्। उपनिषद्हरूमा आत्मा, ब्रह्म, जगत्, चेतना र मोक्षजस्ता विषयमा गहन चिन्तन गरिएको छ। यसरी वैदिक चिन्तन परम्पराबाट विकसित दर्शनले क्रमशः व्यवस्थित र स्वतन्त्र शास्त्रीय स्वरूप ग्रहण गरेको देखिन्छ।
वैदिक दर्शन परम्परामा न्याय, वैशेषिक, सांख्य, योग, मीमांसा र वेदान्तलाई प्रमुख आस्तिक दर्शनका रूपमा लिइन्छ। अक्षपाद गौतमको न्यायसूत्र, कणादको वैशेषिक दर्शन, कपिलसँग सम्बन्धित सांख्य परम्परा, पतञ्जलिको योगसूत्र, जैमिनिको पूर्वमीमांसा र बादरायणको ब्रह्मसूत्र वैदिक दार्शनिक परम्पराका महत्त्वपूर्ण आधार हुन्। न्याय र वैशेषिकले तर्क तथा तत्त्वमीमांसालाई, सांख्य र योगले प्रकृति, पुरुष र आत्मअनुशासनलाई तथा मीमांसा र वेदान्तले कर्म, ब्रह्म र आध्यात्मिक सत्यलाई केन्द्रमा राखेका छन्।
यससँगै बौद्ध र जैन दर्शनले पनि नैतिकता, करुणा, अहिंसा र आत्मसंयमका विषयमा विशिष्ट चिन्तन परम्परा विकास गरेका छन्। चार्वाक दर्शनले भौतिकवादी दृष्टिकोण प्रस्तुत गरेको पाइन्छ। कालक्रमसँगै यिनै दार्शनिक धाराहरू अनेक शाखा र प्रशाखामा विकसित भए। वैष्णव, शैव, शाक्त, स्मार्त, द्वैत, अद्वैत, विशिष्टाद्वैत, महायान, हीनयान तथा दिगम्बर–श्वेताम्बरजस्ता विविध मत र परम्पराहरूले भारतीय उपमहाद्वीपको धार्मिक तथा दार्शनिक चेतनालाई समृद्ध बनाएका छन्।
विज्ञान र प्रविधिको तीव्र विकाससँगै मानिसको जीवन सहज बन्दै गए पनि मानवीय संवेदना, नैतिकता र सामाजिक उत्तरदायित्व कमजोर हुँदै गएको अनुभूति गरिन्छ। प्रतिस्पर्धा, उपभोक्तावाद र व्यक्तिगत स्वार्थले समाजमा मानवीय सम्बन्धलाई चुनौती दिइरहेका छन्। यस्तो अवस्थामा विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा जीवन, जगत्, नैतिकता र मानवीय मूल्यसम्बन्धी विषयलाई प्रभावकारी रूपमा समावेश गर्न सकिए मानवता र सामाजिक उत्तरदायित्वको चेतना बलियो बन्न सक्छ। प्रार्थना गर्ने विधि फरक हुन सक्छन्, पूजा गर्ने शैली फरक हुन सक्छन्, धार्मिक ग्रन्थ र परम्परा फरक हुन सक्छन् तर मानिसले खोज्ने शान्ति, सत्य र जीवनको अर्थ भने साझा हुन्। धर्म मूलतः आस्था र विश्वाससँग जोडिएको विषय हो। आस्था अन्धविश्वासमा परिणत हुनु हुँदैन। आस्थासँग विवेक, नैतिकता र मानवीय संवेदना पनि जोडिनुपर्छ।
धर्मलाई बाह्य आडम्बरभन्दा बढी आन्तरिक चेतनाका रूपमा बुझ्नु आवश्यक छ। धर्म केवल मन्दिर, मस्जिद, चर्च वा गुम्बामा सीमित विषय होइन। धर्म मानिसको व्यवहारमा देखिनुपर्छ। सत्य बोल्नु, अन्यायको विरोध गर्नु, दुःखीको सेवा गर्नु, हिंसाबाट टाढा रहनु र सबै प्राणीप्रति करुणा राख्नु नै धर्मको वास्तविक अभ्यास हो।
धर्मलाई विवादको विषय बनाएर समाजमा भ्रम र विभाजन सिर्जना गर्नुहुँदैन। धर्मबारे गम्भीर अध्ययन र ज्ञान नभएका व्यक्तिले उत्तेजक अभिव्यक्ति दिँदा सामाजिक सद्भाव कमजोर हुन सक्छ। त्यसैले धार्मिक विषयमा बहस गर्दा पनि अध्ययन, तर्क र पारस्परिक सम्मान आवश्यक हुन्छ। हजारौं वर्षदेखि विकसित भएका सांस्कृतिक र आध्यात्मिक परम्परालाई बुझ्ने प्रयास गर्नुपर्छ, अज्ञानताका आधारमा अस्वीकार गर्ने वा अन्धसमर्थन गर्ने होइन। धर्म परभाव होइन, स्वभाव हो।
पानीको स्वभाव शीतलता दिनु हो। त्यसैगरी मानिसको स्वभाव करुणा, विवेक र मानव कल्याणसँग जोडिनुपर्छ। मानिसले मानिसको हित गर्नु, अन्यायको विरोध गर्नु र समाजमा सद्भाव कायम राख्नु नै मानव धर्मको मूल स्वरूप हो।
वैदिक तथा सनातन परम्परामा समस्त प्राणीको कल्याणको भावना पाइन्छ। ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग्भवेत्’ भन्ने प्रार्थनाले व्यक्तिगत मुक्ति मात्र होइन, सम्पूर्ण जगत्को सुख र कल्याणको कामना गर्छ।
‘सनातन’ शब्दले शाश्वत, निरन्तर र कालातीत अर्थ प्रदान गर्छ। सनातन परम्परालाई कुनै एक व्यक्तिले निश्चित समयमा स्थापना गरेको धर्मका रूपमा भन्दा लामो समयदेखि विकसित हुँदै आएको जीवनदर्शन, सांस्कृतिक अभ्यास र आध्यात्मिक परम्पराका रूपमा बुझ्न सकिन्छ। आस्था र विश्वासलाई निश्चित भौगोलिक सीमाभित्र बाँध्न सकिँदैन। ईश्वरप्रतिको विश्वास मानव चेतनाको विषय हो। मानिसले विभिन्न भाषा, संस्कृति र परम्परामार्फत परम सत्यको खोज गर्छ। त्यसैले धार्मिक आस्थालाई विभाजन र द्वन्द्वको माध्यम होइन, आत्मशुद्धि र मानव कल्याणको आधार बनाउनुपर्छ।
नेपालको पहिचान बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले बनेको छ। यही विविधताभित्र रहेका मौलिक परम्पराहरू नेपालको सांस्कृतिक सम्पत्ति हुन्। सनातन परम्परा नेपालको ऐतिहासिक र सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको छ भने बौद्ध, किरात, इस्लाम, इसाई तथा अन्य धार्मिक–सांस्कृतिक समुदायहरूले पनि नेपालको बहुलतावादी पहिचानलाई समृद्ध बनाएका छन्।
सांस्कृतिक संरक्षणको अर्थ अरूको अस्तित्व अस्वीकार गर्नु होइन। आफ्नो मौलिक परम्पराको सम्मान गर्दै अरूको आस्था र पहिचानलाई पनि सम्मान गर्नु नै सभ्य समाजको परिचय हो। राष्ट्रियता बलियो बनाउन विविधतालाई अस्वीकार गर्नु आवश्यक छैन, विविधताभित्र रहेको साझा राष्ट्रिय चेतनालाई बलियो बनाउनु आवश्यक छ।
प्रकाशित: १७ आश्विन २०८३ १०:५७ शनिबार